
बबिता कुमारी यादव, (वडा सचिव) रोहिणी-७ रुपन्देही
वडा सचिव भएर जनताको सेवा गर्दा कस्तो महसुस गर्नुहुन्छ ?
एकदम गर्व लाग्छ । कर्मचारी भनेको राष्ट्रको सेवक हुन् । वडा सचिव भएपछि झन् जनताको नजिक भएर बस्न पाइरहेको छु । जनताहरुसँग प्रत्यक्ष सम्पर्क भएको छ । स्थानीय तह कस्तो हुन्छ भन्ने कुरा राम्ररी बुझ्न पाइरहेको छु । यसरी सेवा गरिरहँदा म एकदम खुशी छु र सन्तुष्ट पनि छु ।
समाज रुपान्तरणमा वडा सचिवको कस्तो भूमिका रहन्छ ?
भूमिका धेरै हुन्छ तर अहिलेको परिस्थतिमा संघीयता आएपछि स्थानीय तहमा निर्वाचित हुनुहुने जनप्रतिनिधिहरुले योजना बनाउनु हुन्छ र हामीले त्यसको कार्यान्वयन गर्नुपर्ने हुन्छ । उहाँहरुले बनाएको निति तथा कार्यक्रममा सहजीकरण गरी लागु गर्ने गर्छौ । उहाँहरुले बनाएको योजनाहरुको राम्ररी मूल्यांकन गरेर सहयोग गर्छौ । त्यही नै हाम्रो मूख्य भूमिका हो ।
शिक्षा, स्वास्थ्य र रोजगारलाई संस्थागत रुपमा कसरी अगाडी बढाउनु भएको छ ?
विकासका पूर्वाधारहरु मध्ये शिक्षा, स्वास्थ्य र रोजगारलाई मूख्य प्राथमिकतामा राखेका छौं । रोहिणी गाउँपालिका वडा नम्ब्रु ७ मा शिक्षा? स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर सोही अनुरुप विभिन्न योजनाहरु बनाएका छौं । वडामा व्यवसायिक शिक्षाको सुरुवात गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् वेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था गरिएको छ । अहिले पनि उक्त कार्यक्रम चलिरहेको छ । स्वास्थ्य संघसंस्थाहरुमा नियमित अनुगमन गरी उनीहरुले प्रवाह गर्ने सेवाहरुलाई प्रभावकारी बनाउन सक्दो प्रयास गरिरहेका छौं ।
जनतालाई दिने सेवा प्रवाहमा विभिन्न किसिमका ढिलासुस्ती र लापरवाही हुने गुनासाहरु सुन्ने गरिएका थिए, त्यसको न्युनिकरण कसरी गर्नुहुन्छ ?
गुनासा त अहिले पनि आइरहन्छन् । किन भने वडामा हुने अधिकांश कामहरु अहिले विद्युतीय माध्यमबाट हुने गरेका छन् । काम गर्दा गर्दै कहिले लाइन जान्छ, कहिले ईन्टरनेट बन्द हुन्छ त कहिले सर्भर डाउन हुन्छ । यसले गर्दा पनि काममा ढिलासुस्ती हुन्छ । यसका बाबजुद पनि हामीले आफ्नो तर्फबाट सेवाग्राहीहरुको कामलाई छिटो छरितो र सहज ढङ्गबाट गर्ने प्रयास गर्छौ ।
यहाँले वडा सचिव भएर काम गरिरहँदा विभिन्न समुदाय, विभिन्न राजनीतिक दलहरुसँग सहकार्य गरी काम गर्दा कस्ता कस्ता समस्याहरु आउने गर्दछन् ?
म यहाँ वडा सचिव भएर काम गरेको साढे ३ वर्ष पुग्यो । यो अवधिमा काम गरिरहँदा मैले विभिन्न चुनौतीहरुको सामना गरेको छु । कार्यवाहक वडा अध्यक्षसँग काम गर्दा हामीलाई केही असहज पनि भयो तैपनि हामी पछि परेनौं । ती अवधिमा चुनौतीहरु ध्ेरै आए तर हामी गाउँपालिकाबाट र विभिन्न संघसंस्थाहरुबाट सहकार्य गरी अगाडी बढिरह्यौ । हाम्रो मुख्य उद्देश्य भनेको जनतालाई सेवा दिने हो । राजनीतिक दलहरुबाट आउने विभिन्न दवावहरुलाई पनि हामीले झेल्दै जनताको सेवाको लागि अग्रपंक्तिमा काम गरिरह्यौ । र विभिन्न चुनौतीहरुलाई पनि अवसरका रुपमा लिने गर्यौ ।
अन्त्यमा लुम्बिनीखबर मार्फत् वडाबासीलाई के भन्न चाहनुहुन्छ ?
वडाबासीहरुलाई नियमित रुपमा सेवा प्रवाह गरिरहेका छौं । हामीले दिने सेवा प्रवाह सक्भर छिटो छरितो र पारदर्शी किसिमले दिने कोसिस गरेका छौं । कहिलेकाहीँ विद्युतीय अवरोधका कारण जनताले पाउने सेवा प्रवाहमा ढिलासुस्ती हुने गर्छ त्यसको लागि क्षमा चाहन्छु । अहिले हामी योजना संकलन तथा योजना बनाउने काम गरिरहेका छौं । यदि वडाबासीहरुसँग कुनै योजना भएमा उहाँहरुको रायसल्लाह अनुसार हामी अगाडी बढ्नेछौं ।