logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    गरिबको सरकार, रोहिणी सरकार


    १३ असार २०७९ , सोमबार

    गरिबको सरकार, रोहिणी सरकार

    स्थानीय तह निर्वाचन सकिए लगतै नवनिर्वाचित जनप्रतिनीधिहरुले पदभार ग्रहण गरी काम गर्न सुरु गरेका छन् । यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव पनि आफ्नो जिम्मेवारी पूरा गर्ने तर्फ निरन्तर लाग्नु भएको छ । विगत लामो समय देखि निरन्तर राजनीतिक क्षेत्रमा सक्रिय रहनुभएका यादव स्थानीय तहको निर्वाचनमा होम्मिएको पहिलो प्रयासमै सफल हुनुभयो । उहाँले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिँदा, निर्वाचित हुँदाको अनुभव कस्ता छन् ? अगामी दिनमा कस्ता कस्ता योजनाहरु उहाँको प्राथमिकतामा पर्दछन् ? चुनावका बेला घोषणापत्रमा उल्लेख गरिएका विषयहरु व्यवहारमा कत्तिको समावेश हुनेछन् ? लगायतका विषयमा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवसँग लुम्बिनीखबरका लागि जितेन्द्र थारुले गर्नुभएको कुराकानी :

    यहाँले लोकप्रिय जनमतका साथ निर्वाचित हुँदै गर्दा कस्तो महसुस गर्नुभएको छ ?

    रोहिणी गाउँपालिकाका जनताहरु जुन विश्वासका साथ मलाई रोहिणी गाउँपालिकामा जिताउनु भएको छ । मेरो जित भनेको रोहिणी बासीहरुको जित हो । उहाँहरुले जुन विश्वास र आशा भरोसाका साथ मलाई गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित गराउनुभएको छ, त्यो म कहिले पनि बिर्सिन सक्दैन ।

    यहाँ पालिकाको प्रमुख भएर जिम्मेवारी सम्हाल्दै गर्दा विकास निर्माणमा पाँच वर्षे योजनाहरु केके बनाउनु भएको छ ?

    बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा उम्मेदवारी दिँदा नै मैले यहाँका जनताहरुबीच विभिन्न योजनाहरु सहितका घोषणापत्र लिएर पुगेको थिए, सोही घोषणापत्र बमोजिम मैले योजनाहरु बनाएको छु । अहिलेको बजेटमा हामीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण र कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौं । गुणस्तरीय शिक्षामा अहिले पनि रोहिणी गाउँपालिका पछि परेको कारण शिक्षा क्षेत्रको विकासलाई विशेष जोड दिएका छौं । त्यस्तै स्वास्थ्यको विषयमा भन्नुपर्दा रोहिणीबाट सामान्य औषधी उपचारका लागि भैरहवा जानुपर्ने हुन्छ । उक्त समस्याको सामाधानका लागि म निर्वाचित भएपछि रोहिणी गाउँपालिका भित्र १५ सैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने निणर्य गरेको छु । भौतिक पूर्वाधारको कुरा गर्ने हो भने गत पाँच वर्षमा केही विकास नभएको भन्दा पनि फरक पर्दैन । किनभने म चुनावका बेला जनताका घरदैलोमा पुग्दा बाटोघाटोको अवस्था दयनीय छ । तर म आफ्नो कार्यकालको पाँच वर्षमा रोहिणी गाउँपालिकाका हरेक गाउँटोलमा आवश्यकता अनुसार कालोपत्रे र पिसिसी ढलान गरी बाटो निर्माण गर्नेछु । रोहिणी गाउँपालिका ग्रामिण भेगमा पर्ने हुँदा यहाँका अधिकांश जनताहरुको मुख्य पेशा भनेको कृषि हो । तर अझैं पनि कृषिका लागि आवश्यक पर्ने मलखाद्य, विउविजन र कृषि उपकरणका लागि भारतमाथि भर पर्नुपर्ने हुन्छ, यसको न्युनिकरणको लागि समयमा मलखाद्य, सिचाई र कृषि उपकरणको व्यवस्थापन गर्न गाउँपालिकामा योजना बनाइरहेका छौं ।

    यहाँले पालिकामा पाँच वर्षे योजना तयार गरी अगाडि बढ्दै गर्दा जनताले गौरव गर्न लायक कुनकुन योजनाहरु छन् ?

    रोहिणी गाउँपालिकामा अघिल्लो स्थानीय तहको चुनावमा निर्वाचित हुनुभएका जनप्रतिनिधिहरुको पाँच वर्षको कार्यकाल भाडाको कार्यलयमै बित्यो । गाउँपालिकाको बजेटको ठुलो हिस्सा सोही भाडाको कार्यालयमा खर्चियो । जनताहरु पहिला पनि गाउँपालिको आफ्नै प्राशासनिक भवन हुनु पर्ने माग गरिरहेका थिए, आज पनि माग गरिरहेका छन् । म निर्वाचित भएपछि गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने निणर्य समेत गरेको छु । त्यस्तै मैले अघि पनि भनिसके रोहिणी गाउँपालिकाबासीहरुलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य उपचार गराउन सकुन भन्ने उद्देश्यले पालिकाभित्र १५ सैयाको अस्पताल निर्माण गरिने निणर्य गरेको छु । यहाँका जनताहरुको चाहना अनुरुप नै योजना बनाई भौतिक निर्माणका कार्यहरु गर्ने सदैव मेरो प्रयास रहन्छ । अहिले पनि स्नातक तहको अध्ययनका लागि विद्यार्थीहरु सदरमुकाम भैरहवा पुग्नुपर्ने अवस्था छ । त्यसको लागि स्नातक तहमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि पहल गरिरहेको छु ।

    विगतको भन्दा यहाँले निर्वाचित भएर आएपछि जनतालाई दिन सक्ने नयाँ आयमहरु के छन् ?

    म निर्वाचित भएर आएपछि रोहिणी गाउँपालिकामा बनाइएका योजनाहरु विगतका योजनाहरु भन्दा फरक किसिमका हुनेछन् । योजना बनाउनका लागि हामी आफै पनि गाउँटोलमा प्रत्यक्ष पुगेर योजनाहरु संकलन गरिरहेका छौं । यसकारण पनि सबै पालिकाबासीहरु हामीले बनाएको योजनाप्रति सन्तुष्ट र सहमत हुनुहुन्छ । नयाँ आयमका विषयमा म अघि पनि भनिसके हामीले बनाएका योजनाहरु विगतका योजनाहरु भन्दा भिन्न किसिमका हुने छन् ।

    यस पालिकामा शिक्षा, स्वास्थ्य र रोजगारका विषयलाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?

    देशमा संघीयता आएपछि आफ्नै स्थानीय भाषामा समेत पुस्तक तयार गरी पठनपाठन गर्न पाउने स्थानीय तहलाई अधिकार प्राप्त भएको छ । हामी सो विषयमा शिक्षा शाखा र यहाँका बुद्धजीविहरु संग बैठक बसेर छलफल गरिरहेका छौं । साथै बढीभन्दा बढी विद्यार्थीहरुलाई कसरी विद्यालयमा जोड्न सकिन्छ सो विषयमा पनि हामी निरन्तर बैठक बसेर काम अगाडी बढाउने प्रयासमा छौं ।

    विगतमा यस पालिकाले दिने सेवा प्रवाहमा ढिलासुस्ती र लापरवाहीका गुनासाहरु सुन्ने गरिएको छ, जनतालाई दिने ती सेवाहरुलाई चुस्त दुरुस्त बनाउन यहाँको भूमिका कस्तो रहन्छ ?

    म निर्वाचित हुनुभन्दा पहिला जे भयो भयो तर म निर्वाचित भएपछि पालिकाबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन हामीबाट कुनै कसुर बाँकी रहदैनन् । गाउगाउँँमा सिंहदरबार आएको जनताले सुनेका मात्र थिए अनुभव गर्न पाएका थिएनन् तर अहिले यहाँका जनता तथा सेवाग्राहीहरुलाई सहज रुपमा सेवा प्रवाह गरिरहेका छौं । जुन अपेक्षाका साथ जनताले आफ्नो अमूल्य मत दिएर हामीलाई निर्वाचित गराउनुभयो त्यो अपेक्षालाई पूरा गर्न हामी सदैव प्रयासरत हुनेछौं । साथै जनताले शासक नभई सेवकलाई निर्वाचित गराएका छन् भन्ने उहाँहरुलाई हामी महसुस हुने किसिमले काम गर्ने छौं ।

    स्थानीय निकायलाई व्यवस्थित र सुन्दरीकरण बनाउनका लागि यहाँसँग कुनै योजनाहरु छन् कि ?

    सुन्दरीकरणको विषयमा योजनाहरु भन्नुपर्दा रोहिणी गाउँपालिकाभित्र रहेका सार्वजनिक पोखरीहरुको सुन्दरीकरण गरी व्यवस्थित छठघाट निर्माण गर्ने योजना बनाएका छौं । त्यस्तै गाउँपालिकाभित्र विभिन्न पर्यटकीय स्थलहरु रहेका छन् तिनीहरुलाई पनि व्यवस्थित गर्नका लागि योजना बनाइरहेका छौं । रोहिणीको मुख्य बजार धकधईलाई व्यवस्थित र सुन्दर बनाउन वृक्षारोपण गरी संरक्षण गर्ने सोंचमा छौं ।

    निर्वाचित भएर आउँदै गर्दा यहाँसँग पराजित भएका प्रतिपक्षी दलहरुसँग कसरी सहकार्य गर्नुहुन्छ ?

    म रोहिणी गाउँपालिकाको अध्यक्ष भएपछि मसँग पराजित हुनुभएका प्रतिपक्षी दलका साथीहरु मेरो सम्पर्कमा कहिले पनि आउनु भएन । तर म निर्वाचित भएपछि गाउँपालिका अध्यक्षको हैसियतले सबै प्रतिपक्षी दलहरुसंग सहकार्य गरी अगाडी बढ्ने उहाँहरुसंग बाचा गरेको छु । किनभने निर्वाचनका सबै उम्मेदवारको एउटै सोच थियो, थियो कसरी रोहिणी गाउँपालिको समग्र विकास गर्ने । हुन सक्छ, उहाँहरुको तयारी पुगेन चुनाव हार्नु भयो तर मलाई चुनाव जितेर म गाउँपालिकाको सबथोक हुँ भन्ने अहम छैन । म मेरा प्रतिपक्षी दलहरुसंग हरेक क्षेत्रमा सधैं सहकार्य गरी रोहिणीको समग्र विकासतर्फ लाग्ने छु । सबै मिलेर रोहणी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने जुन मेरो सोच छ त्यो सोचलाई व्यवहारमा लागु गर्न सोही किसिमले काम गर्नेछु । म कुनै दलबाट गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको हुँ तर निर्वाचित भएपछि म कुनै दलको नभएर सबैको साझा हो । विकास निर्माणका कार्य गर्दा पनि कुनै दल विशेषलाई नहेरी सबैसंग सहकार्य गर्दै गाउँपालिकाको समग्र विकासका लागि होम्मिने सोचमा छु ।

    चुनावी घोषणापत्रमा जनतालाई देखाएका सपनाहरुले सार्थकता पाउँछ कि पाउँदैन ?

    चुनावका बेला रोहिणीका जनताहरुबीच जुन घोषणापत्र लिएर गएको थिए । ती घोषणापत्रमा गरेको सबै बाचाहरु आफ्नो कार्यकालको पाँच वर्षमा पुरा गरेर देखाउँछु । किन भने सबै कामहरु एकै वर्षमा पूरा गर्न सम्भव छैन र हुँदैन पनि ।

    नयाँ बजेट र कार्यक्रमहरु ल्याउँदै हुनुहुन्छ, मुख्य प्राथमिकताहरु केके छन् ?

    नयाँ बजेटमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार विकास र कृषिलाई मुख्य प्राथमिकतामा राखेका छौं ।

    अन्तिममा लुम्बिनीखबर मार्फत् के भन्न चाहनुहुन्छ ?

    रोहिणी गाउँपालिकाका जनताहरुसँग मेरो आग्रह छ । ‘गरिबको सरकार’ जुन नारा लिएर म चुनावमा होमिएको थिए । यहाँका जनताहरुले मलाई बुझेर, जुन आशा र भरोसाका साथ रोहिणीको अध्यक्ष पदमा निर्वाचित गराउनुभएको छ, उहाँहरु मेरा लागि भगवान हुनुहुन्छ । म मेरा भगवानरुपी जनताहरुलाई कहिले पनि निरास पार्ने छैन । चुनावका बेला जेजे प्रतिवद्धताहरु यहाँहरु समक्ष गरेको थिए, ती प्रतिवद्धताहरु पूरा गर्नेछु । साथै बिना हिजकिचाहट आफ्ना प्रतिक्रिया र सुझावहरु गाउँपालिकामा अथवा मसँग आएर राख्नहुन समेत लुम्बिनीखबर मार्फत् अनुरोध गर्न चाहन्छु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.