
कमल रायमाझी
महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सामिप्यतामा रहेको रोहिणी नदीको ऐतिहासिक खोज गर्न आवश्यक देखिएको छ । बुद्धकालिन समयमा चर्चाको विषय बन्ने गरेको रोहिणी नदि अहिले सुस्ताएको देखिन्छ । जिल्लाको उत्तरी क्षेत्रबाट दक्षिण तर्फ बग्ने यो नदिलाई दर्जनौ बस्ती र जनावरहरुले प्रयोग गर्ने गर्दछन् । परापुर्वकाल देखि हजारौ हेक्टर जमिनलाई सिञ्चित गर्दै उर्वरता थपेको रोहिणी अहिले गुमगाम जस्तै बनेको छ ।
बुद्ध संग प्रत्यक्ष सम्बन्ध भएको ऐतिहासिक यो नदिको स्थानीयस्तरमा सोधखोज नहुँदा ओझेलमा परेको अनुमान लगाउन सकिन्छ । पर्यटकिय तथा धार्मिक दृष्टिकोणबाट बुद्ध दर्शनका मानिसहरुले श्रद्धा गर्ने रोहिणीको विकास र विस्तार नहँुदा लुप्त अवस्थामा रहेको हो । बुद्ध दर्शनमा ऐतिहासिक महत्व बोकेको यो नदिकै नामबाट नेपालको संविधान २०७२ ले नदिको सामिप्यतामा रहेको स्थानीय तहलाई रोहिणी गाउँपालिका नामाकरण गरेपनि नदिको पहिचानको खोजी गरेको छैन । बुद्धकालिन अवस्थामा शाक्य वंश र कोलिया वंश राज्य बीच रोहिणी नदिको पानीको अधिकारका विषयमा भीषण रक्तपातपुणर् युद्धलाई बुद्ध आफै आई रोकेको इतिहास भएपनि यसको विकास र विस्तारमा सरकार मौन रहेको छ ।
बुद्धले युद्धलाई रोक्दै सामानताका आधारमा पानीको विभाजन गरेर दुई राज्य बीच आपसी मेलमिलाप र सम्बन्ध स्थापित गराएको स्थल रोहिणी नदि भएको बुद्ध दर्शनमा भेटिए पनि नेपालका सरकारी निकाय भने बेखबर देखिन्छन् । यहि रोहिणीको नाम संसारभर पुगेको छ । त्यहाँ यहि नदिको विषयमा डकुमेन्ट्रीहरु निर्माण गरिएका छन् । भारतको राजधानी दिल्लामा त एउटा जिल्लाको नाम नै रोहिणी जिल्ला राखिएको छ । तर नेपालमा यसको यर्थातता भएपनि खोजि गरिएको छैन । रुपन्देहीका तिलोत्तमा, ओमसतिया र रोहिणी गाउँपालिकाको बिचबाट बग्ने यो नदिलाई स्थानीय सरकारले समेत वेवास्ता गरेका छन् । लुम्बिनी विकास कोषले समेत यसको ऐतिहासिक महत्वलाई बुझेपनि इतिहास खोज्न आनाकानी गरेको देखिन्छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रिय क्याम्पस समेत यहि जिल्लामा रहेको छ । तर आर्कोलोजिकल रुपमा रोहिणीको खोजमा ध्यान दिएको पाईदैन । वार्षिक रुपमा लाखौ धार्मिक पर्यटकहरु भित्राउन सकिने समग्र रोहिणी क्षेत्रको विकासमा सरकारले ध्यान दिए यसको विकास हुने देखिन्छ । धार्मिक, सामाजिक र आर्थिक दृष्टिकोणले रोहिणी नदि यस क्षेत्रको महत्वपुणर् नदि भएपनि सरकारी यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरु, सरोकारवाला निकायहरुको उदासिनताले सधै पछाडी परेको छ ।
पछिल्लो पटक यसको गरिमालाई बचाई राख्न र इतिहास खोज्नका लागि रोहिणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विद्या प्रसाद यादव र गाउँपालिकाका प्रवक्ता बिर बहादुर क्षेत्रीले चासो राखेका छन् । उनीहरुले आफ्नो गाउँपालिकाको सामिप्यतामा रहेको रोहिणी नदिको इतिहास खोज गर्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०७९⁄०८० को बजेटमा समेत केही रकम विनियोजित गरिएको जानकारी दिएका छन् । तर अन्य स्थानीय निकाय, प्रदेश सरकार र संघिय सरकार भने रोहिणीको महत्वका विषयमा चुपचाप छन् । नेपालको मात्र नभएर संसारभर बुद्ध र रोहिणीको विशेष महत्व भएकाले यसको विकास र विस्तार गर्न हामी सबैमा आग्रह गर्दछौ ।