
पशुपति यादव
भैरहवा । कलकल बगिरहने रोहिणी नदी । नदीको छेउमा रहेको करिब १५ बिगाहाको ठूलो बगैचा । सोही बगैचा भित्र रहेको छ साढे ३ सय वर्ष पुरानो एतिहासिक सतियामाई राम जानकी मन्दिर । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सामिप्यतामा रहेको रोहिणी नदीको छेउमै पुर्वतिर रहेको सतियामाई राम जानकी मन्दिरले बाटो हिड्ने जो कोहीको पनि ध्यान केन्द्रित गर्ने गर्छ ।
भैरहवाबाट करिब १० किलोमिटरको दुरीमा रहेको एतिहासिक सतियामाई मन्दिर र मन्दिर परिसरमा रहेका अन्य महत्वपुणर् धार्मिक मन्दिरहरुले त्यहाँको वातावरण नै सुन्दर, शान्त र अलौकिक बनाएको पाइन्छ । कलकल बगिरहने रोहिणी, चारैतिरबाट सरसर बह्ने सित्तल हावा, शान्त वातावरण र त्यहाँको मनोरम दृष्यले झनै त्यहाँ पुग्ने दर्शनार्थीहरुलाई लोभ्याउने गर्दछन् ।
साविकको पटखौली गा. वि. स वडा नम्बर ८ हालको ओमसतिया गाउँपालिका वडा नम्बर ५ गौरीमा रहेको सतियामाई राम जानकी मन्दिर परिसरमा सतियामाई, हनुमान मन्दिर, राम जानकी मन्दिर र शिव मन्दिरको दर्शन गर्न पाइन्छ । मन्दिरमा भाकल लिएर आउने भक्तजनहरुको भाकल सधैं पूरा हुने गरेको मन्दिरका महन्थ श्री श्री १०८ जोगिन्दर दासले बताए । मन्दिरमा खासगरी सन्तान प्राप्तिको कामना लिएर आउने दम्पतिहरुको कामना पूरा हुने गरेको उनको भनाई छ । एतिहासिक महत्व बोकेको सतियामाई मन्दिरको आफ्नो छुट्टै कहानी छ ।
तत्कालिन ओमसतिया गाउँपालिका वडा नं. ५ तरैनी गाउँकी बितनीको विवाह मटियरिया गाउँमा भएको थियो र उनको मृत्यु हैजा महामारीकाका बेला भएको जगदीशधर दुवेले लेखेको ओमसतिया माई महात्ममा उल्लेख छ । महामारीका कारण मृत्यु भएकोले उनलाई जलाउनुका सट्टा जमिनमा गाडिएको थियो । उनी मरे पनि आफ्ना घरपरिवारलाई आफु नमरेको पटक पटक सपनामा भन्ने गरेको तर परिवारलाई उक्त कुरा विश्वास नलागेको दुवेद्धारा लिखित उक्त महात्ममा लेखिएको छ । दिन बित्दै जाँदा उनी गाडिएको ठाउँबाट धुँवा निस्किएको र पछि त्यहाँ खनेर हेर्दा निज बितनी जिवितै रहेको किंवदन्ती छ । उनलाई जिवितै देखेपछि उनको घरपरिवारले घर जान आग्रह गरे तर उनी घर जान मानिनन् । उनले आफ्नो घरपरिवारसँग भनिन्, ‘म मरिसकेको छु त्यसैले म अब घर जान्न यही रोहिणी नदीको किनार सिलौटियामा जिवन बिताउँछु ।’ पछि सोही स्थान सतियामाईको नामले चिनिएको ईतिहास छ ।
नेपालको संविधान २०७२ ले सतियामाई मन्दिरको नामबाट ओमसतिया गाउँपालिका नामाकरण गर्यो । स्थानीय तह संरचना हुनुभन्दा पहिला सतिया माई मन्दिरको नाममा केही स्थानीयले अगुवाहरुले कमाई खाने भाँडोका रुपमा लिएका थिए तर पछि गाउँपालिकाले उक्त मन्दिरलाई आफ्नो व्यवस्थापनमा लिई संरक्षण गरेको छ । हरेक वर्ष मन्दिरमा कात्तिक एकादशी देखि पुर्णिमा सम्म मेला लाग्ने गरेको छ । मन्दिरको देखभाल तथा मन्दिरमा रहेर पूजापाठ गर्ने साधुसन्तका लागि आवश्यक भौतिक पूर्वाधारहरुको व्यवस्था गरिएको छ । मन्दिरमा रंगरोगन गरी सिंगारिएको छ । मन्दिर संरक्षणका लागि पर्खाल बनाइएको छ । कमी छ त केवल प्रचार प्रसारको । पछिल्लो समय गाउँपालिकाले सतियामाईको व्यापक प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेको देखिन्छ ।
गाउँपालिकाले एतिहासिक महत्व बोकेको उक्त मन्दिरको वृहत् प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । उक्त मन्दिरले पर्यटनको ठूलो सम्भावना बोकेको छ । गाउँपालिकाको नाम समेत सोही मन्दिरको नामबाट नामाकरण भएको कारण पनि सतियामाई मन्दिरको बारेमा व्यापक प्रसारप्रसार गर्नुपर्ने स्थानीयहररु बताउँछन् । यदि उक्त मन्दिरको व्यापक प्रचारप्रसार गर्न सकियो भने आन्तरिक पर्यटकका साथै बाह्य पर्यटकहरुको आगमन बढाउन सकिन्छ ।