- भन्सार एजेन्ट संघको अहिलेको अवस्था कस्तो छ ?
भन्सार एजेन्टहरु पनि अहिले आर्थिक मन्दीको मारमा परेको छन् । नेपाल सरकारले गतवर्ष ६६० नयाँ भन्सार एजेन्ट इजाजत दिइएको थियो । तर काम दिन सकेको छैन । व्यापारमा आयात निर्यात नहँुदा भन्सार सहजिकरण गर्नेहरुलाई पनि समस्या परेको छ । बजारमा आर्थिक मन्दी भएको कारण समस्याहरु निम्तिएको हो । व्यापार, व्यवसाय घटेको अवस्थाले बजार त्यती अनुकुल छैन । बजार अनुकुल नहँुदा सम्म हाम्रो पेशा पनि सहज बन्दैन ।
- अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक मन्दीले भन्सार एजेन्ट संघलाई कतिको प्रभाव पारेको छ ?
अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक मन्दीले निकै प्रभाव पारेको छ । समग्रमा बजार घटदा यसले स्वभाविक रुपमा असर पारेको छ । भारतको ढुवानी व्यवसायीहरुले सिधै ढुवानी गर्दा समस्या परेको छ । यसको मुख्य समस्या गैरभन्सार एजेन्ट वा नागरिक हुन् । उनीहरुले एजेन्टले गर्ने कामहरु सेटिङ मिलाएर गर्ने गर्दछन् । जसले गर्दा नेपाली भन्सार एजेन्टहरु संकटमा परेको देखिन्छ ।
- भन्सार एजेन्ट संघले आफ्नो सदस्यहरुलाई कसरी संरक्षण गर्दछ ?
भन्सार एजेन्ट संघले सदस्यहरुको हक हितको लागि समस्याको सन्दर्भ लिखिति र मौखिक रुपमा सम्बन्धित सरोकारवाला भन्सार र विभाग, अर्थमन्त्रालयमा जानकारी गराउने गर्दछ । उनीहरुको पेशालाई सुरक्षित बनाउनका लागि विभिन्न तालिम तथा सेमिनारहरु सञ्चालन गर्ने गरेको छ । इमानदार भएर काम गर्न र पेशा प्रति उत्तरदायित्व हुन आग्रह गरिन्छ । निजि उद्योग व्यवसायी, संगठनलाई पनि आधिकारिक भन्सार एजेन्टबाट सेवा लिनको लागि आग्रह गरिरहेका छौँ ।
- भैरहवा भन्सारमा बन्दै गरेको आईसीपी निर्माण प्रक्रियाले व्यापार सहजिकरणमा कतिको सहयोग पुग्दछ ?
आईसीपी निर्माणधिन अवस्था रहेको छ । यो ३० प्रतिशत निर्माण सकिएको मौखिक रुपमा जानकारी भएको छ । सम्मपन्न पश्चात ट्राफिक जाम, पार्किङ्ग समस्याहरु समाधान हुने अपेक्षा लिएको छु । आईसीपी निर्माण भइराख्दा रेलको कनेक्सनको लागि राज्यको ध्यान जान जरुरी छ । आईसीपीको रेल कनेक्सन भएको खण्डमा व्यवसायी लागत र समयको समेत बचत भइ यस क्षेत्रका समग्र उद्योग व्यवसायीहरुको गुल्जार हुनेछ ।
- भन्सारमा एजेन्टलाई आफ्नो व्यवसायी गर्ने क्रममा के कस्ता समस्याहरु छन् ?
भन्सार एजेन्टलाई व्यवसायी गर्ने सदर्भमा ढुवानी गैरभन्सार एजेन्ट मार्फत सिधै काम गर्दा समस्या परेको छ । व्यवसायीहरुले पनि भन्सारको नियम नबुझ्दा उल्टै मर्का भन्सार एजेन्ट संघलाई परेको छ । भन्सार एजेन्ट संघको परिभाषा हुन जरुरी छ । बिधि र विधान अनुसार काम गर्ने जरुरी देखिन्छ । बिधि र विधान अनुसार काम नहुँदा समस्या परेको छ ।
- भन्सारमा सहजिकरण गर्नको लागि सरकार तथा भन्सार कार्यालयलाई के सुझाब दिन चाहानु हुन्छ ?
भन्सार सहजिकरण गर्नको लागि सबै भन्दा पहिला नेपाल सरकार अर्थमन्त्रालयले आशिकुडा सिस्टमलाई सुधार गर्न जरुरी छ । भन्सारमा दक्ष जनशक्ति हुन जरुरी छ । भन्सारसँग सरोकारवाला र कार्यालयबीच समन्वय गरी एकिकृतरुपमा चेकजाँच हुन जरुरी छ । भन्सारको लागि आवश्क पर्ने नयाँ सामग्रीहरु जडान हुन जरुरी छ । बिशेष गरेर आधुनिक भन्सार प्रणालीमा भन्सार र भन्सार एजेन्टहरु जानु पर्दछ ।
- भन्सारमा एजेन्ट संघ र सिद्धार्थ उद्योग वाणिज्य संघको कस्तो सम्बन्ध छ ?
भन्सार एजेन्ट र उद्योग वाणिज्य संघ लगायत अन्य व्यवसायी, संघसंस्थासंग राम्रो सम्बन्ध छ । तथापि उहाँहरुबाट आफ्नो सदस्यहरुलाई आधिकारिक भन्सार एजेन्टबाट सेवा लिनको लागि पहल गर्न जरुरी छ । सिद्धार्थ उद्योग वाणिज्य संघले बिचौलीहरुको विगविगि हटाउनका लागि भन्सार कार्यालयलाई दवाव दिनु जरुरी छ ।
- अन्त्यमा लुम्बिनीखबर मार्फत के भन्न चाहानुहुन्छ ?
अन्त्यमा म के भन्न चाहान्छु भने, आर्थिक मन्दीले सबैतिर समस्यामा पार्नु स्वभाविक हो । यी समस्या बाबजुत पनि देशको राजश्व वृद्धि होस्, उद्योग व्यवसायीहरुको समस्या समाधान बनाऔँ । चोरी, पैठारी पूर्ण नियन्त्रण भइ सबै पक्षबाट सकरात्मकरुपमा कार्य गर्न जरुरी छ । हामी बुद्धको भुमिका व्यापार व्यवसायी गर्ने भएकाले देखिएको केही समस्या संग भाग्नु हुँदैन । शान्त र इमान्दार भएर काम गर्नु पर्दछ । सकारात्मक सोचले सबै विषय समाधान गर्दछ ।