असलम खान। लुम्बिनीखबर
लुम्बिनी, वैशाख। रुपन्देही जिल्लाको मर्चवारीमाई गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणका लागि शिलान्यास गरेको छ। गाउँपालिकाको सेवा प्रवाहलाई व्यवस्थित, प्रभावकारी र सहज बनाउने उद्देश्यले वैशाख १० गते आज एक औपचारिक कार्यक्रमका बीच भवनको शिलान्यास गरिएको हो।
गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने खैरा क्षेत्रमा आयोजना गरिएको हो । शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
लामो समयदेखि भाडाको तथा अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको गाउँपालिकाले अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको हो।

उक्त भवन दुई तले हुने र आधुनिक संरचनासहित निर्माण गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ। नयाँ भवन निर्माणसँगै सेवा प्रवाहमा गुणात्मक सुधार आउने, सेवाग्राहीलाई सहजता हुने तथा प्रशासनिक काम कारबाही थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले भवन निर्माण गाउँपालिकाको दीर्घकालीन आवश्यकता भएको उल्लेख गर्दै यसले समग्र विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “गाउँपालिकाको आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा विभिन्न समस्या देखिँदै आएका थिए। कहिले ठाउँको अभाव, कहिले व्यवस्थापनको कठिनाइका कारण सेवाग्राहीले असहजता भोग्नुपरेको अवस्था थियो। अब नयाँ भवन निर्माणसँगै यी समस्याहरू समाधान हुनेछन्। हामीले दुई तले आधुनिक भवन निर्माण गर्ने योजना अघि सारेका छौं, जसले दीर्घकालसम्म गाउँपालिकालाई सेवा दिन सक्नेछ। यस भवनमा आवश्यक कार्यालय कक्ष, बैठक हल, सेवाग्राही प्रतीक्षालय लगायतका संरचना रहनेछन्। स्थानीयवासीलाई छिटो, छरितो र गुणस्तरीय सेवा दिनु हाम्रो प्राथमिकता हो, र यो भवन त्यस दिशामा महत्वपूर्ण कदम हुनेछ। साथै, निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गर्न हामी प्रतिबद्ध छौं र गुणस्तरमा कुनै सम्झौता गरिने छैन।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीले पनि योजनाको विस्तृत जानकारी दिँदै निर्माण प्रक्रियाबारे स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो भवन निर्माण योजना गाउँपालिकाको महत्वपूर्ण पूर्वाधार विकाससँग सम्बन्धित छ। यद्यपि आर्थिक वर्षको अन्त्यतिर शिलान्यास गरिएको हो, तर हामीले आवश्यक प्रक्रिया पूरा गरेर निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउने योजना बनाएका छौं। निर्माण कार्य समयमै सम्पन्न होस् भन्ने हाम्रो मुख्य लक्ष्य हो। यसका लागि प्राविधिक अनुगमनलाई प्रभावकारी बनाइनेछ र गुणस्तर कायम गर्न विशेष ध्यान दिइनेछ। भवन निर्माण सम्पन्न भएपछि सेवाग्राहीले एकै स्थानबाट सबै सेवा प्राप्त गर्न सक्नेछन्, जसले समय र स्रोत दुवैको बचत गर्नेछ। साथै, कर्मचारीहरूका लागि पनि व्यवस्थित कार्य वातावरण सिर्जना हुनेछ, जसले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेछ। हामी सबैको सहकार्यबाट यो योजना सफलतापूर्वक सम्पन्न हुनेमा विश्वस्त छौं।”
शिलान्यास कार्यक्रममा वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्षहरू, अन्य जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।