लुम्बिनीखबर
भैरहवा, १९ साउन । भन्सार विभागले देशभरका भन्सार कार्यालयमा अनधिकृत व्यक्तिको पहुँच रोक्न कडा निर्देशन जारी गरेको छ। विभागले इजाजतपत्र प्राप्त भन्सार जाँचपास प्रतिनिधिबाहेक अन्य कुनै पनि व्यक्तिलाई भन्सार जाँचपास प्रक्रियामा संलग्न नगराउन सबै भन्सार कार्यालयलाई निर्देशन दिएको हो।
भन्सार विभागले मिति २०८३ साउन १९ गते आज पुन भन्सार जाचंपासमा अनधिकृत व्यक्तिको पहुँच नियन्त्रण गर्न सवै भन्सार कार्यालयलाई निर्देशन जारि गरेको छ । यो निर्देशन तत्काल कार्यान्वयन गर्न पनि भन्सार कार्यालयलाई आदेश गरेको हो । भन्सार विभागका शाखा अधिकृत मातृका भट्टराईद्धारा हस्ताक्षरित पत्रमा नेपालभरका सवै भन्सार कार्यालयलाई अनधिकृत व्यक्तिलाई नियन्त्रण गर्न भनिएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभाग, सेवाग्राही सहजीकरण शाखाले जारी गरेको परिपत्रमा भन्सार ऐन, २०८२ र भन्सार नियमावली, २०८३ को व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको छ। विभागले निकासीकर्ता तथा पैठारीकर्ताले नियुक्त गरेका आधिकारिक भन्सार जाँचपास प्रतिनिधिलाई मात्रै जाँचपास प्रक्रियामा सहभागी गराउन निर्देशन दिएको हो।
परिपत्रअनुसार कुनै पनि निकासीकर्ता वा पैठारीकर्ताले भन्सार जाँचपास प्रतिनिधिमार्फत काम गराउन चाहेमा भन्सार नियमावली, २०८३ को अनुसूची–२७ बमोजिमको नियुक्तिपत्र अनिवार्य रूपमा पेश गरेको हुनुपर्नेछ। साथै अनुसूची–२८ बमोजिम इजाजतपत्र प्राप्त प्रतिनिधिलाई मात्रै जाँचपास कार्यमा संलग्न गराउनुपर्ने व्यवस्था गरिएको छ।
विभागले यसअघि पनि २०८२ असार ३ र २०८३ साउन ७ गते सोही विषयमा निर्देशन जारी गरेको स्मरण गराउँदै अझै पनि अनधिकृत व्यक्तिको पहुँच कायम रहेको गुनासो आइरहेकाले पुनः कडाइ गर्नुपरेको जनाएको छ।
विभागले सबै भन्सार कार्यालयलाई कानुनबमोजिम नियुक्ति प्राप्त प्रतिनिधिबाहेक अन्य कुनै पनि व्यक्ति वा बिचौलियालाई जाँचपास कार्यमा संलग्न नगराउन, नगराउन तथा त्यसको कार्यान्वयन र प्रगति विवरण विभागमा नियमित रूपमा पठाउन निर्देशन दिएको छ।
भन्सार प्रशासनले यो निर्णयसँगै जाँचपास प्रक्रियामा देखिएको अनधिकृत पहुँच, बिचौलियाको प्रभाव र अनियमितता नियन्त्रण हुने विश्वास व्यक्त गरेको छ। विभागले कानुनविपरीत भन्सार जाँचपास कार्यमा संलग्न हुने व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीसमेत अघि बढाइने जनाएको छ।
उक्त निर्देशनलाई भन्सार प्रशासनलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यद्यपि विभागले पटक–पटक निर्देशन जारी गरे पनि भैरहवा भन्सार कार्यालयमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्सार एजेन्टहरूको गुनासो छ। उनीहरूका अनुसार जाँचपास प्रक्रियामा अझै पनि भारतीय नागरिकसहितका अनधिकृत बिचौलियाको प्रभाव कायम छ।
नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगरका पदाधिकारीहरूले इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिको सट्टा अनधिकृत व्यक्तिहरूले जाँचपास प्रक्रियामा पहुँच पाइरहेको दाबी गरेका छन्। उनीहरूका अनुसार यसले वैधानिक रूपमा काम गर्ने नेपाली भन्सार एजेन्टहरू प्रत्यक्ष प्रभावित भएका छन्।
एजेन्टहरूको भनाइमा केही अनधिकृत बिचौलियाले आर्थिक प्रभाव र अदृश्य पहुँचका आधारमा भन्सारभित्र आफ्नो सक्रियता कायम राखेका छन्। विभागको निर्देशन पूर्ण रूपमा कार्यान्वयन नभएसम्म यस्ता गतिविधि नियन्त्रण हुन नसक्ने उनीहरूको तर्क छ।
भन्सार विभागले भने इजाजतप्राप्त जाँचपास प्रतिनिधिबाहेक अन्य कुनै व्यक्तिलाई जाँचपास कार्यमा संलग्न नगराउन सबै भन्सार कार्यालयलाई निर्देशन दिएको छ र त्यसको कार्यान्वयनबारे प्रगति विवरणसमेत माग गरेको छ।नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरले भन्सार विभागको पछिल्लो निर्देशनको स्वागत गर्दै भन्सार जाँचपास प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश तत्काल रोक्न माग गरेको छ। संघले विशेषगरी विदेशी, विशेषतः भारतीय बिचौलियाको भन्सार कार्यालयभित्रको पहुँच पूर्ण रूपमा निषेध गर्न सरकारसँग आग्रह गरेको छ।
संघका अनुसार नेपालको राजस्व सुरक्षा, भन्सार प्रशासनको विश्वसनीयता तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयनका लागि सरकारी प्रशासनिक भवनभित्र विदेशी नागरिकको अनधिकृत प्रवेश रोक्नु अपरिहार्य छ। विभागले जारी गरेको निर्देशनको अक्षरशः कार्यान्वयन भए मात्र वैधानिक भन्सार जाँचपास प्रणाली प्रभावकारी बन्ने संघको भनाइ छ।
नेपाल भन्सार एजेन्ट महासंघका पूर्वअध्यक्ष डा. शान्तकुमार शर्माले नेपाल कानुनी शासनमा आधारित मुलुक भएकाले भन्सार प्रशासनले प्रचलित ऐन, नियम र विभागीय निर्देशनको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो। उहाँले कानूनको समान कार्यान्वयनले मात्रै भन्सार प्रणालीमा पारदर्शिता, सुशासन र राजस्व सुरक्षालाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो।
नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचीन थैबले भन्सार कार्यालयहरूले नेपालको कानून र नियमावलीअनुसार काम गरे वैधानिक रूपमा इजाजतप्राप्त नेपाली भन्सार एजेन्टहरूको व्यवसायिक वातावरण थप व्यवस्थित हुने बताउनुभयो। उहाँले अनधिकृत व्यक्तिको संलग्नताले वैधानिक व्यवसाय प्रभावित भएको उल्लेख गर्दै विभागको निर्देशन तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो।
यसैबीच, भैरहवा भन्सार कार्यालयले नेपाल–भारतबीचको व्यापार सहजीकरणलाई असर नपर्ने गरी जाँचपास प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने तयारी भइरहेको जनाएको छ। कार्यालयका अनुसार व्यापार सहजीकरण, प्रक्रियागत सरलीकरण तथा दुवै देशका व्यवसायीको सहजताका लागि विगतमा भएका केही व्यवस्थालाई समेत कानुनी दायराभित्र ल्याउँदै अनधिकृत व्यक्तिको संलग्नता क्रमशः न्यूनीकरण गरिनेछ।