लुम्बिनीखबर
भैरहवा , २२ असोज । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी पैठारी गरिएका रु. पाँच लाख १३ हजार ६ सय मूल्य बराबरका सामान बुधबार बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका विभिन्न क्षेत्रबाट चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनबहादुर शाहीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार बरामद सामानमा कपडा, खाद्यान्न तथा विभिन्न किराना सामान रहेका छन्। यसैगरी विभिन्न प्रकारका फ्लावर पोट, टर्च तथा पटाका लगायतका सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले भन्सार छली तथा अवैध चोरी पैठारी नियन्त्रणका लागि जिल्लाका सीमा क्षेत्र तथा विभिन्न स्थानमा नियमित चेकजाँच र निगरानीलाई तीव्रता दिएको जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो।
उहाँका अनुसार चाडपर्वको समयमा अवैध रूपमा सामान भित्र्याउने तथा चोरी पैठारी गर्ने गतिविधि बढ्न सक्ने भएकाले सीमा क्षेत्र तथा जिल्लाका विभिन्न स्थानमा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ।