लुम्बिनीखबर
भैरहवा, कार्तिक १० । नेपालका पर्यटकीय गन्तव्य प्राकृतिक विपद्बाट सुरक्षित रहेको सन्देश प्रवाह गर्दै भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६’ सुरु गरिएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहलमा लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा नेपाल र भारतका पर्यटन व्यवसायीबीच सहकार्य विस्तार गर्न कार्यक्रम आयोजना गरिएको हो ।
भारतका विभिन्न सहरबाट आएका पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालालाई रुपन्देहीको बेलहिया नाकामा स्वागत गरिएको हो । गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष रविन शेरचन, प्रवक्ता सोमप्रसाद सापकोटा, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशकी कार्यकारी निर्देशक शारदा बस्याल बेल्बासेसहित पर्यटन क्षेत्रका प्रतिनिधिले भारतीय पाहुनालाई फूलमालासहित स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हाले नेपालका पर्यटन गन्तव्य, होटल तथा रिसोर्टलाई भारतीय बजारसँग प्रत्यक्ष जोड्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो । प्रवक्ता सापकोटाले नेपाल–भारतबीचको भौगोलिक निकटता, सांस्कृतिक समानता र ऐतिहासिक सम्बन्धलाई पर्यटन तथा व्यावसायिक सहकार्यसँग जोड्न सके दुवै देशले आर्थिक तथा सामाजिक लाभ लिन सक्ने बताउनुभयो । कार्यक्रमअन्तर्गत नवलपुर र चितवनका होटल, रिसोर्ट तथा पर्यटकीय गन्तव्यको अवलोकन गरिनेछ । साथै दुवै देशका पर्यटन व्यवसायीबीच व्यावसायिक अन्तरक्रिया गरी दीर्घकालीन साझेदारी, पर्यटक आवागमन वृद्धि, लगानी विस्तार र रोजगारी सिर्जनामा सहयोग पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।