logo
  • १४ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    आईजीपी कार्कीको राजीनामाबारे फैलिएको चर्चाप्रति प्रहरीको आपत्ति, भ्रामक प्रचार नगर्न चेतावनी


    १४ कार्तिक २०८३ , शुक्रबार

    आईजीपी कार्कीको राजीनामाबारे फैलिएको चर्चाप्रति प्रहरीको आपत्ति, भ्रामक प्रचार नगर्न चेतावनी

    लुम्बिनीखबर
    भैरहवा,१३ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले राजीनामा दिन दबाब दिएको भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले आपत्ति जनाउँदै त्यस्ता प्रचार भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको छ । संगठनको नेतृत्वमाथि अनावश्यक विवाद सिर्जना गर्ने तथा प्रहरीको व्यावसायिक छविमा आँच पुर्याउने प्रयास भइरहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले आफ्नो धारणा सार्वजनिक गरेको हो । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आईजीपी कार्कीमाथि राजीनामाको दबाब बढेको र सरकारले उनलाई हटाउने तयारी गरेको आशयका समाचार तथा टिप्पणी सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयमा यस विषयले बिशेष ध्यानाकर्षण गराएको थियो । घटनाक्रमलाई गम्भीरतापूर्वक लिँदै आईजीपी कार्कीले उच्च प्रहरी अधिकृतहरू सम्मिलित पुलिस पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को आकस्मिक बैठक बोलाएका थिए । हेडक्वार्टरले प्रदेशमा कार्यरत डीआईजीहरूलाई समेत तत्काल काठमाडौं उपस्थित हुन निर्देशन दिएको थियो ।

    बिहिबार दिउसो २ बजेदेखि साँझ करिब ७ बजेसम्म चलेको बैठकमा संगठनको वर्तमान अवस्था, पछिल्लो सुरक्षा परिस्थिति, समसामयिक विषयवस्तु तथा सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाबारे विस्तृत छलफल भएको थियो । बैठकमा सहभागी उच्च प्रहरी अधिकृतहरुले प्रहरी संगठनको व्यावसायिकता, प्रतिष्ठा र संस्थागत गरिमामाथि आँच पुर्यााउने गतिविधिप्रति सचेत रहन आग्रह गरेका थिए । बैठकमा सहभागी एक प्रहरी अधिकारीका अनुसार आईजीपी कार्कीले संगठनबाहिरका केही व्यक्तिहरुबाट प्रहरीलाई विवादमा तान्ने र आन्तरिक विषयलाई अतिरञ्जित रूपमा सार्वजनिक गर्ने प्रयास भइरहेको भन्दै सबैलाई एकजुट भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए ।

    बैठकमा सहभागी केही अधिकृतले आईजीपी कार्कीलाई सरकारका तर्फबाट राजीनामा मागिएको हो वा होइन भन्ने जिज्ञासा समेत राखेका थिए । त्यसको जवाफमा कार्कीले आफूलाई अहिलेसम्म कसैले पनि राजीनामा दिन नभनेको र बाहिर सार्वजनिक भइरहेका समाचार तथा चर्चाहरू वास्तविकतामा आधारित नभएको स्पष्ट पारेका थिए । बैठकपछि नेपाल प्रहरीले प्रेसविज्ञप्ति जारी गर्दै आईजीपीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणी भ्रामक भएको जनाएको छ । पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आमनागरिकमा भ्रम सिर्जना हुनुका साथै प्रहरी संगठनप्रतिको विश्वास, छवि र संस्थागत निष्ठामा नकारात्मक असर पर्न सक्ने प्रहरीको भनाइ छ ।

    प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई अपुष्ट, भ्रामक, तथ्यहीन र स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न आग्रह गरेको छ । समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न पनि अनुरोध गरेको छ । विज्ञप्तिमा नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख छ । संगठनका सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न निर्देशन दिँदै प्रहरीले नागरिकलाई आधिकारिक र तथ्यमा आधारित सूचनामा विश्वास गर्न आग्रह गरेको छ ।

    त्यसैगरी, सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोचका साथ नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्ने सीमित व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत प्रहरीले दिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले पीसीसी बैठकमा पछिल्लो शान्तिसुरक्षाको अवस्था, समसामयिक विषयवस्तु र सामाजिक सञ्जालमा आएका विषयमाथि छलफल भएको जानकारी दिए । उनका अनुसार संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी प्रहरीलाई कमजोर बनाउने प्रयासबारे बैठकमा गम्भीर छलफल भएको थियो ।

    बैठकमा सहभागी प्रहरी अधिकृतहरू संगठनको गरिमा र प्रतिष्ठामा आँच आउन नदिन एकजुट भएर अघि बढ्नुपर्ने तथा बाहिर आएका अनावश्यक विवादले शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारीमा कुनै असर पर्न नदिने विषयमा एकमत भएको बताइएको छ । प्रहरी नेतृत्वमाथि उठेका प्रश्न र सामाजिक सञ्जालमा भइरहेका चर्चाबीच आईजीपी कार्कीले संगठनलाई एकताबद्ध राख्दै नियमित सुरक्षा जिम्मेवारीमा केन्द्रित हुन दिएको निर्देशनलाई प्रहरीको संस्थागत एकता र व्यावसायिक प्रतिबद्धताका रूपमा हेरिएको छ । नेपाल प्रहरीले सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्ने आफ्नो मूल दायित्वबाट कुनै पनि परिस्थितिमा विचलित नहुने स्पष्ट पारेको छ । संगठनको नेतृत्व र संस्थागत प्रतिष्ठालाई अनावश्यक विवादमा तान्ने प्रयासभन्दा तथ्य, प्रमाण र आधिकारिक सूचनाका आधारमा विषयवस्तुको मूल्यांकन गर्न पनि प्रहरीले सबै पक्षलाई आग्रह गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.