logo
  • १४ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    आईजीपी कार्कीबारे फैलिएको राजीनामाको प्रचार भ्रामक : नेपाल प्रहरी


    १४ कार्तिक २०८३ , शुक्रबार

    आईजीपी कार्कीबारे फैलिएको राजीनामाको प्रचार भ्रामक : नेपाल प्रहरी

    लुम्बिनीखबर
    भैरहवा,१३ कार्तिक । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब दिइएको भन्ने समाचार तथा सामाजिक सञ्जालमा भइरहेका चर्चाको खण्डन गरेको छ। प्रहरीले यस्ता सामग्रीलाई अपुष्ट र भ्रामक भन्दै आधिकारिक पुष्टि नभएका विषय सार्वजनिक नगर्न सबै पक्षलाई आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको प्रेसविज्ञप्तिमा अनुमानका आधारमा समाचार तथा टिप्पणी सम्प्रेषण गर्दा सर्वसाधारणमा अन्योल सिर्जना हुने र प्रहरी संगठनको छवि तथा संस्थागत विश्वसनीयतामा असर पुग्ने उल्लेख गरेको छ।

    आईजीपी कार्कीलाई सरकारले हटाउने तयारी गरेको र राजीनामा दिन दबाब दिइरहेको भन्ने समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयमा उच्चस्तरीय छलफल भएको थियो। कार्कीले पुलिस पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को आकस्मिक बैठक बोलाएर उच्च प्रहरी अधिकारीहरूसँग समसामयिक विषयमा छलफल गरेका थिए। बिहीबार दिउँसो २ बजे सुरु भएको बैठक साँझ करिब ७ बजेसम्म चलेको थियो। बैठकमा सहभागी हुन प्रदेशमा कार्यरत डीआईजीहरूलाई समेत तत्काल काठमाडौं उपस्थित हुन निर्देशन दिइएको थियो।

    बैठकमा संगठनको अवस्था, शान्तिसुरक्षा र सामाजिक सञ्जालमा फैलिएका सूचनाबारे छलफल भएको थियो। सहभागी अधिकारीहरूले प्रहरीको व्यावसायिकता र प्रतिष्ठामा आँच पुग्ने गतिविधिप्रति सचेत रहनुपर्ने धारणा राखेका थिए। बैठकमा केही अधिकृतले कार्कीलाई सरकारले राजीनामा मागेको हो कि होइन भनेर सोधेका थिए। उनले आफूलाई कसैले पनि राजीनामा दिन नभनेको र बाहिर आएका समाचार सत्य नभएको जवाफ दिएका थिए। प्रहरीले विज्ञप्तिमार्फत सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट पुष्टि गर्न आग्रह गरेको छ। पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न र तथ्यहीन सामग्रीको अनावश्यक प्रसार नगर्न पनि अनुरोध गरेको छ।

    प्रहरीका अनुसार संगठनलाई विवादमा तानेर सरकारविरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोचका साथ नियोजित रूपमा गलत सूचना फैलाउने सीमित व्यक्तिहरूमाथि कानुनअनुसार अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइनेछ। प्रहरीले आफ्नो संवैधानिक तथा कानुनी दायित्वप्रति प्रतिबद्ध रहेको जनाउँदै सार्वजनिक सुरक्षा, अपराध नियन्त्रण र नागरिकको जीउधनको सुरक्षामा कुनै कमी हुन नदिने स्पष्ट पारेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.