रुबिना थापा । लुम्बिनीखबर
भैरहवा, ९ भदौ । प्रगति महिला समूहले बिहिबार तीज मिलन कार्यक्रम भैरहवामा भव्य र सभ्यताका साथ आयोजना गरेको छ ।
महिला समूहमा आवद्ध भएका दिदिबहिनीहरुले तीजको दर खाएर नाचगान गरि उक्त कार्यक्रम गरिएको कार्यवाहक अध्यक्ष पुनम बगाले भट्टराईले जानकारी दिनुभयो ।

महिला समूहमा आवद्ध भएका ८६ जना दिदीबहिनीको सदस्यता रहेको संस्था ५६ जनाको सहभागितामा तीजको दर खाने कार्यक्रम भएको संस्थाका सदस्यहरुले बताएका छन् ।
महिलाहरुको महत्वपूर्ण पर्वको रुपमा रहेको तीजमा संस्थाले कार्यक्रम आयोजना गरि दिदीबहिनीलाई भेटघाट तथा रमाईलो गर्ने अवसर दिएको समूहका कोषाध्यक्ष चन्दा ज्ञवालीले बताउनुभयो ।

महिला समूहले विगतका वर्षहरु देखि नै यस्ता तीज मिलन, होली मिलन लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।
वि.सं.२०६६ सालमा स्थापना भएको यस समुहले महिला दिदीबहिनीहरुका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको संस्थापक अध्यक्ष सरला ज्ञवालीले बताउनुभयो ।

गरिब तथा जेहेनदार विद्यार्थीहरुका लागि समेत शैक्षिक छात्रवृत्ती वितरण समेत गर्ने गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ देखि ओमसतिया स्थित कोटहीमाई आधारभुत विद्यालयका १ जना विद्यार्थीलाई छात्रवृत्ती वितरण गर्ने सम्झौता भएको संस्थाको कार्यालयले जनाएको छ ।