रुबिना थापा। लुम्बिनीखबर
भैरहवा, २४ भदौ । सिद्धार्थ होटल संघ नेपाल (शान) ले ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा सेप्टेम्बर २७ र २८ मा भैरहवामा खाना महोत्सव तथा सांगितिक साँझ २०८१ गर्ने भएको छ ।
सोमबार भैरहवाको होटल निर्वाणामा पत्रकार सम्मेलन गरी शानले उक्त कुराको जानकारी दिएको हो ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साँगितिक प्रस्तुति दिने भएका छन् ।
पत्रकार सम्मेलनमा होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले शानको १८ औँ स्थापना दिवस समेत पर्ने भएकोले यो कार्यक्रम विशेष रुपमा मनाइने जानकारी दिनुभयो ।
महोत्सवमा प्रदेशभरीबाट ५ तारे, ४ तारे, ३ तारे तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्टहरुको आकर्षण स्टलहरु रहने महोत्सवका संयोजक विनोद खरेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।