अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, चैत्र । लुम्बिनी सांस्कृतिक नगरपालिका–५ स्थित तेनुहवा स्वास्थ्यचौकीमा बिरामीलाई म्याद गुज्रिएको औषधि वितरण गरिएको घटना सार्वजनिक भएको छ। उपचारका लागि पुगेका सेवाग्राहीलाई सन् २०२५ मे महिनामै म्याद सकिएको जुकाको औषधि दिइएको पाइएको हो।
वडा–११ महदेवाका ३० वर्षीय फैजुल्लाह फकिरका अनुसार, आफूले पाएको औषधिको म्याद जाँच गर्दा करिब एक वर्षअघि नै सकिएको भेटिएको थियो। उनले प्रश्न उठाउँदा स्वास्थ्यकर्मीले औषधि खोसेर डस्टबिनमा फालेको आरोप लगाएका छन्।
फकिरले भने, “हामी सरकारी स्वास्थ्य संस्थामा भरोसा गरेर जान्छौं, तर म्याद नाघेको औषधि दिनु र प्रमाण लुकाउन खोज्नुले कर्मचारीप्रति शंका बढाएको छ।”
घटनाबारे स्वास्थ्यचौकी इन्चार्ज कैलाशप्रसाद बस्यालले भने म्याद नाघेको औषधि वितरण गरिएको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार औषधि भुलवश पुरानो, म्याद सकिएको डब्बामा राखिएको कारण भ्रम सिर्जना भएको हो।
तर, स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार म्याद गुज्रिएको प्याकेट वा भाँडो प्रयोग गर्नु पनि गम्भीर लापरबाही मानिन्छ, जसले स्वास्थ्यचौकीको व्यवस्थापकीय कमजोरी उजागर गरेको छ।
घटना सार्वजनिक भएपछि स्थानीयमा आक्रोश बढेको छ। स्थानीय युवा विक्रमसिंह लोधले स्वास्थ्य संस्थाहरूमा नियमित अनुगमन नहुँदा यस्ता लापरबाही दोहोरिने गरेको बताएका छन्।
उनले भने, “बिरामीको ज्यान जोखिममा पार्ने यस्तो लापरबाही अक्षम्य छ। नियमित स्टक जाँच नहुनु र कर्मचारीको गैरजिम्मेवारीले जनताको स्वास्थ्यसँग खेलबाड भइरहेको छ।”
उता, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धुप घिमिरेले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै प्रारम्भिक रूपमा कर्मचारीको कमजोरी देखिएको स्वीकार गरेका छन्। उनले भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन आवश्यक निर्देशन दिइएको बताएका छन्।