लुम्बिनीखबर
लुम्बिनी, बैशाख । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ ठूलो मौहारीका स्थानीय बासिन्दा सराजुदिन खानले सामान्य जग्गा आवतजावतको विवादलाई लिएर आफूमाथि निर्घात कुटपिट भएको आरोप लगाएका छन् । साथै, प्रहरी प्रशासनले घटनाको सत्यतथ्य अनुसन्धान नगरी उल्टै पीडित पक्षलाई नै लक्षित गरेको उनीहरूको दाबी छ।
उनका भतिजा हाविबुर रहमानले आज आयोजित पत्रकार सम्मेलनमा घटनाबारे जानकारी गराएका हुन्। पीडित सराजुदिन खानका अनुसार मिति २०८२ साल चैत ५ गते जग्गा आवतजावत सम्बन्धी सामान्य विवाद बढ्दै जाँदा रविन्द्र, नितेश, दीपक र राजेश तिवारी लगायतका व्यक्तिहरूले नशा सेवन गरी उनको घरमा पुगेर गालीगलौज गरेका थिए। त्यसपछि विवाद थप चर्किएको उनले बताए ।
“उनीहरूले पहिले नै धम्की दिएका कारण हामी इलाका प्रहरी कार्यालय जान डराएका थियौं,” खानले भने, “तर प्रहरी चौकी कालीदहबाट आएका दुई जना प्रहरीले ‘तपाईंहरूलाई केही हुँदैन, हामी साथमा छौं’ भन्दै इलाका प्रहरी कार्यालयसम्म लैजाने आश्वासन दिएपछि मात्र हामी तयार भयौं ।”
उनका अनुसार बाटोमा जाँदै गर्दा प्रहरीले बीचमै छोडेर फर्किएपछि विपक्षी समूहले १५र२० जना भारतीय नागरिक बोलाएर उनीमाथि सामूहिक आक्रमण गरेको थियो। आक्रमणमा उनी गम्भीर घाइते भई हात भाँचिएको, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको परिवारको दाबी छ ।
घटनापछि इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिइए पनि दर्ता नभएको, साथै हुलाकमार्फत पठाइएको निवेदनसमेत दर्ता नगरिएको पीडित पक्षको आरोप छ। उल्टै विपक्षीले झुटो मुद्दा दर्ता गराई पीडित परिवारका सदस्यहरूमाथि खोजतलास भइरहेको पनि उनीहरूको भनाइ छ ।
घाइते सराजुदिन खानलाई चैत ५ गतेदेखि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। हातको शल्यक्रिया, पेट र अन्य चोटका कारण १९ गतेसम्म उपचारपछि उनी डिस्चार्ज भएका छन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक होमनाथ रेग्मीले मिति २०८३।०१।०८ गते कुटपिट सम्बन्धी घटना दर्ता भई अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
पीडित पक्षले घटनाको निष्पक्ष अनुसन्धान, उजुरी दर्ता र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।