logo
  • २२ असोज २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    क्यासिनो पर्यटनले रुपन्देहीको होटल तथा पर्यटन व्यवसाय चलायमान


    २२ असोज २०८३ , बिहिबार

    क्यासिनो पर्यटनले रुपन्देहीको होटल तथा पर्यटन व्यवसाय चलायमान

    लुम्बिनीखबर
    भैरहवा, २२ असोज । रुपन्देहीमा सञ्चालनमा रहेका क्यासिनोका कारण होटल, पर्यटन तथा स्थानीय बजारमा आर्थिक गतिविधि बढेको व्यवसायीहरूले बताएका छन्। विशेषगरी भारतीय पर्यटक तथा ग्राहकलाई लक्षित गरी सञ्चालनमा रहेका क्यासिनोले होटल तथा पर्यटन व्यवसायमा थप चहलपहल बढाएको उनीहरूको भनाइ छ। रुपन्देहीका विभिन्न होटलमा क्यासिनो सञ्चालनमा छन्। होटल टाइगरमा क्यासिनो टाइगर, होटल एसियन बुद्ध, होटल पौवा, होटल मौर्य, होटल नान्स, होटल रेडसन, होटल लाकौल, बुटवलको होटल ड्रीमल्याण्ड र होटल सिद्धार्थ भिलासमा क्यासिनो सञ्चालनमा रहेको व्यवसायीहरूले बताएका छन्। निर्माणाधीन क्यासिनोसमेत सञ्चालनको तयारीमा छन् भने होटल रामडामा समेत नयाँ क्यासिनो सञ्चालनको तयारी भइरहेको छ।

    व्यवसायीहरूका अनुसार क्यासिनोमा आउने अधिकांश ग्राहक भारतीय नागरिक छन्। भारतीय ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएका क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको उनीहरूको भनाइ छ। विदेशी ग्राहकका कारण होटलमा बसाइ, खानपान, यातायात, मनोरञ्जन तथा अन्य पर्यटन सेवाको माग बढ्ने भएकाले यसको सकारात्मक प्रभाव समग्र पर्यटन व्यवसायमा परेको व्यवसायीहरू बताउँछन्।

    सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले क्यासिनोका कारण रुपन्देहीको होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढेको बताउनुभयो। क्यासिनोमा आउने ग्राहकका कारण होटल तथा रेस्टुरेन्टसँगै यातायात र अन्य सेवा व्यवसायको कारोबारसमेत बढ्ने उहाँको भनाइ छ।
    होटल संघ नेपालका महासचिव राजेश महतराले क्यासिनो व्यवसाय रुपन्देहीको पर्यटन क्षेत्रको महत्वपूर्ण आर्थिक गतिविधिमध्ये एक भएको बताउनुभयो। विदेशी तथा भारतीय ग्राहकलाई आकर्षित गर्न होटल, पर्यटन व्यवसाय तथा आवश्यक पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

    व्यवसायीहरूका अनुसार क्यासिनोमा आउने पर्यटकलाई लुम्बिनी भ्रमणसँग जोड्न सके रुपन्देहीमा उनीहरूको बसाइ अवधि बढाउन सकिन्छ। लुम्बिनी, भैरहवा र बुटवल क्षेत्रमा होटल, रेस्टुरेन्ट, यातायात तथा मनोरञ्जन व्यवसायमा क्यासिनोमा आउने ग्राहकको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव देखिएको उनीहरूको भनाइ छ। बुटवल र भैरहवा क्षेत्रमा पछिल्लो समय होटल तथा रेस्टुरेन्टसँगै विभिन्न पर्यटकीय पूर्वाधारको विकास भएको छ। केबलकारलगायतका पर्यटकीय पूर्वाधार विस्तार हुँदै जाँदा भारतीय तथा अन्य विदेशी पर्यटकको आगमनले स्थानीय व्यवसायमा थप गतिविधि बढाउन सहयोग पुगेको व्यवसायीहरू बताउँछन्। विदेशी पर्यटकबाट हुने खर्चले विदेशी मुद्रा आर्जनमा समेत योगदान पुग्ने उनीहरूको भनाइ छ।

    यद्यपि क्यासिनो व्यवसायको विस्तारसँगै यसको सञ्चालनमा प्रचलित कानुन, सुरक्षा, वित्तीय कारोबार तथा अन्य नियमनकारी प्रावधानको पूर्ण पालना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। क्यासिनोको सञ्चालन, सुरक्षा, ग्राहकको पहिचान तथा अन्य विषयमा सम्बन्धित निकायबाट नियमित अनुगमन हुनुपर्ने उनीहरूको भनाइ छ। क्यासिनोलाई पर्यटनसँग व्यवस्थित रूपमा जोड्न सके होटल, पर्यटन, यातायात, रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रको कारोबार थप विस्तार गर्न सकिने व्यवसायीहरूको विश्वास छ। लुम्बिनीको धार्मिक तथा सांस्कृतिक पर्यटनसँग भैरहवा–बुटवल क्षेत्रको होटल तथा मनोरञ्जन व्यवसायलाई जोड्न सके रुपन्देहीलाई पर्यटन तथा विदेशी मुद्रा आर्जनको थप महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने उनीहरू बताउँछन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.