लुम्बिनीखबर
भैरहवा, ११ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गणेश) को तस्बिर जलाएको आरोपमा पक्राउ परेका लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानसहित दुई जनालाई प्रहरीले मङ्गलबार रिहा गरेको छ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध प्रदर्शनका क्रममा मन्त्रीको तस्बिर जलाएको आरोपमा पक्राउ परेका खान र वाजिउद्दिन मुसलमानलाई पूर्व लुम्बिनी प्रदेशसभा सदस्य फक्रुद्दिन खानको जिम्मामा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।
रिहा भएपछि महाअभियानका अध्यक्ष खानले आगामी दिनमा साम्प्रदायिक सद्भावमा खलल पुग्ने कार्यक्रम नगर्ने, सडक अवरुद्ध गरेर आन्दोलन नगर्ने तथा आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड नगर्ने सर्तमा आफूहरूलाई रिहा गरिएको बताउनुभयो ।
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डोल्माको नियुक्ति बदर गर्न माग गर्दै खानको नेतृत्वमा गत कात्तिक ९ गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्सा चोकमा विरोध प्रदर्शन गरिएको थियो । सोही क्रममा मन्त्री पौडेलको तस्बिर जलाइएको भन्दै प्रहरीले खान र मुसलमानलाई नियन्त्रणमा लिएको थियो ।