लुम्बिनीखबर
भैरहवा, १३ कात्तिक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले बिहीबारदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । बुटवलमा आयोजित कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनालले अभियानको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नेता खनालले विश्वव्यापी घटनाक्रमले समाजवादप्रति सकारात्मक धारणा विकास भइरहेको उल्लेख गर्दै वामपन्थी पार्टी निराश नभई उत्साहित हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिँदै युवालाई समेट्न नसके पार्टी सङ्गठन कमजोर हुने बताउनुभयो । कम्युनिष्ट एकता भत्काउन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिचौलियाको प्रयोग गरेको उहाँले आरोप लगाउनुभयो ।
पार्टीका केन्द्रीय संयोजन समिति सदस्य एवं पूर्वमन्त्री सुदर्शन बरालले सरकारका कामकारबाहीप्रति आलोचना गर्दै सरकार राज्य गलत मार्गतर्फ अग्रसर भएको आरोप लगाउनुभयो । उहाँले सुशासन र पारदर्शिताको कुरा गर्ने सरकारका मन्त्रीको सम्पत्ति तथा जग्गासम्बन्धी विषयमा छानबिन हुनुपर्ने बताउनुभयो । सुकुम्बासी व्यवस्थापन तथा लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिका विषयमा पनि उहाँले सरकारको आलोचना गर्नुभयो ।
नेकपा रुपन्देहीका इन्चार्ज निर्मल जिसीका अनुसार अभियानअन्तर्गत सदस्यता तथा सङ्गठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारी र सरकारका कामकारबाहीबारे जनतालाई जानकारी गराउने कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा नेकपा रुपन्देहीका संयोजक बाबुलाल यादव, पूर्वप्रदेशसभा सदस्य दीपा विश्वकर्मा तथा नेता पुष्पराज ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।