logo
  • १४ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    विवाद र प्रचारले प्रहरीको जिम्मेवारी प्रभावित हुँदैन : नेपाल प्रहरी


    १४ कार्तिक २०८३ , शुक्रबार

    विवाद र प्रचारले प्रहरीको जिम्मेवारी प्रभावित हुँदैन : नेपाल प्रहरी

    लुम्बिनीखबर
    भैरहवा,१३ कार्तिक । प्रहरी नेतृत्वलाई लिएर सार्वजनिक भइरहेका विभिन्न चर्चाबीच नेपाल प्रहरीले आफ्नो संवैधानिक जिम्मेवारीबाट कुनै पनि अवस्थामा विचलित नहुने स्पष्ट पारेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब दिइएको भन्ने समाचारको खण्डन गर्दै प्रहरीले सार्वजनिक सुरक्षा र नागरिकको संरक्षणलाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको हो। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आईजीपी कार्कीलाई सरकारले हटाउन खोजेको र राजीनामा दिन दबाब दिइरहेको भन्ने विवरण सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले यस विषयमा उच्चस्तरीय छलफल गरेको थियो।

    आईजीपी कार्कीले बिहीबार पुलिस पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को आकस्मिक बैठक बोलाएका थिए। बैठकमा सहभागी हुन प्रदेशमा कार्यरत डीआईजीहरूलाई समेत काठमाडौं उपस्थित हुन निर्देशन दिइएको थियो। दिउँसो २ बजेदेखि साँझ करिब ७ बजेसम्म चलेको बैठकमा पछिल्लो सुरक्षा अवस्था, संगठनको प्रतिष्ठा र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका सामग्रीबारे छलफल भएको थियो।

    बैठकमा कार्कीले संगठनबाहिरका केही व्यक्तिबाट प्रहरीलाई विवादमा तान्ने प्रयास भइरहेको भन्दै अधिकारीहरूलाई सचेत रहन आग्रह गरेका थिए। संगठनको आन्तरिक विषयलाई अनावश्यक रूपमा बाहिर लैजानुभन्दा संस्थागत एकता कायम राख्नुपर्ने उनको भनाइ थियो। बैठकमा राजीनामाबारे उठेको प्रश्नको जवाफ दिँदै कार्कीले आफूलाई अहिलेसम्म कसैले पनि राजीनामा दिन नभनेको बताएका थिए। प्रहरीले जारी गरेको विज्ञप्तिमा राजीनामाको दबाबसम्बन्धी समाचार भ्रामक भएको उल्लेख गर्दै अपुष्ट सूचनाले संगठनको प्रतिष्ठामा असर पुर्‍याउन सक्ने जनाएको छ।

    प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार संगठनको व्यावसायिकता र कार्यसम्पादन कमजोर बनाउने उद्देश्यले गलत सूचना फैलाइएको विषयमा बैठकमा छलफल भएको थियो। प्रहरीले शान्तिसुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने र नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी निरन्तर निर्वाह गर्ने जनाएको छ। साथै, संगठनलाई विवादमा तान्ने उद्देश्यले नियोजित रूपमा गलत सूचना फैलाउनेमाथि कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.