लुम्बिनीखबर
भैरहवा, १३ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई सरकारले राजीनामा दिन नभनेको स्पष्ट पारेका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित उच्च प्रहरी अधिकारीहरूको बैठकमा उठेको जिज्ञासाको जवाफ दिँदै उनले बाहिर सार्वजनिक भएका राजीनामासम्बन्धी समाचारमा सत्यता नरहेको बताएका हुन्। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सरकारले आईजीपी कार्कीलाई पदबाट हटाउने तयारी गरेको र राजीनामा दिन दबाब दिइरहेको भन्ने आशयका समाचार सार्वजनिक भएका थिए। त्यसपछि प्रहरी प्रधान कार्यालयले उच्च अधिकारीहरूको आकस्मिक बैठक आयोजना गरेको थियो।
बिहीबार दिउँसो २ बजेदेखि साँझ करिब ७ बजेसम्म चलेको पुलिस पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकमा सहभागी हुन प्रदेशमा कार्यरत डीआईजीहरूलाई समेत काठमाडौं बोलाइएको थियो। बैठकमा संगठनको अवस्था, पछिल्लो सुरक्षा परिस्थिति र सामाजिक सञ्जालमा फैलिएका सूचनाबारे छलफल भएको थियो। बैठकमा केही प्रहरी अधिकृतले आईजीपी कार्कीलाई सरकारले राजीनामा मागेको हो कि होइन भनेर प्रश्न गरेका थिए। जवाफमा कार्कीले आफूलाई अहिलेसम्म कसैले पनि राजीनामा दिन नभनेको बताएका थिए। बाहिर आएका विषय वास्तविकतामा आधारित नभएको उनको भनाइ थियो।
बैठकमा कार्कीले प्रहरी संगठनको प्रतिष्ठा, व्यावसायिकता र संस्थागत गरिमालाई जोगाउन सबै अधिकारी एकजुट हुनुपर्ने धारणा राखेका थिए। संगठनबाहिरका केही व्यक्तिबाट आन्तरिक विषयलाई विवादित बनाउने र अतिरञ्जित रूपमा सार्वजनिक गर्ने प्रयास भइरहेको भन्दै उनले सचेत रहन आग्रह गरेका थिए। बैठकपछि नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै आईजीपीमाथि राजीनामाको दबाब रहेको भन्ने प्रचार भ्रामक भएको जनाएको छ। पुष्टि नभएका विषयलाई समाचारका रूपमा प्रस्तुत गर्दा नागरिकमा भ्रम फैलिने र प्रहरीप्रतिको विश्वासमा असर पर्न सक्ने प्रहरीले उल्लेख गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार बैठकमा संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनलाई कमजोर बनाउने उद्देश्यले फैलाइएका भ्रामक सूचनाबारे छलफल भएको थियो। प्रहरीले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्य पुष्टि गरेर मात्रै सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ। साथै, नियोजित रूपमा प्रहरी संगठनलाई विवादमा तान्ने र कमजोर बनाउने उद्देश्यले गलत सूचना फैलाउनेहरूमाथि कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिने चेतावनी दिएको छ। प्रहरीले आफ्नो संवैधानिक जिम्मेवारीबाट विचलित नभई शान्तिसुरक्षा कायम गर्ने र नागरिकको जीउधनको सुरक्षा गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।