प्रहरी नेतृत्व परिवर्तनको खेलमा ‘आईटी विज्ञ’ विवेक मिस्त्रको सक्रियता ! मनोज केसीलाई आईजी बनाउने भन्दै आर्थिक चलखेल !
लुम्बिनीखबर
काठमाडौं,१३ कार्तिक । प्रधानमन्त्री बालेन्द्र साहको कोर टिमका विवेक मिस्त्र पछिल्लो समय नेपाल प्रहरीको नेतृत्व परिवर्तन गराउने खेलमा सक्रिय रहेको आरोप सार्वजनिक भएको छ। रुटिन अफ नेपाल बन्दमा काम गर्दादेखि नै विभिन्न राजनीतिक तथा सार्वजनिक व्यक्तित्वसँग सम्बन्ध विस्तार गरेका मिस्त्रले गोपी हमाल लगायतका मेयरहरूसँग प्रचारप्रसार गरिदिने भन्दै रकम लिएको आरोपसमेत विगतमा लाग्दै आएको बताइन्छ।
अहिले प्रधानमन्त्री बालेन्द्र साहको आईटी विज्ञका रूपमा सक्रिय रहेका मिस्त्र नेपाल प्रहरीको वर्तमान नेतृत्व परिवर्तन गराएर एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने प्रयासमा लागेको स्रोतको दाबी छ। स्रोतका अनुसार मिस्त्रले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नेतृत्वमा पुर्याउन प्रधानमन्त्रीको सचिवालयदेखि विभिन्न तहमा पहुँच र प्रभाव प्रयोग गरिरहेको आरोप छ।
त्यति मात्र होइन, मनोज केसीसँग आर्थिक लेनदेन भएको र उनलाई कम्तीमा एक दिन भए पनि आईजीपी बनाइछाड्ने प्रतिबद्धता मिस्त्रले व्यक्त गरेको स्रोतको दाबी छ। प्रहरी संगठनको सर्वोच्च नेतृत्व चयनजस्तो संवेदनशील विषयमा बाह्य व्यक्तिको प्रभाव, आर्थिक चलखेल र राजनीतिक पहुँचको प्रयोग भएको हो भने यसले प्रहरी संगठनको व्यावसायिक निष्पक्षता र संस्थागत विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउन सक्छ।