लुम्बिनीखबर
भैरहवा,१३ कार्तिक । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले राजीनामा दिन दबाब दिएको भन्ने चर्चालाई नेपाल प्रहरीले अस्वीकार गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता समाचार तथा टिप्पणी तथ्यमा आधारित नभएको जनाएको छ। यसअघि कार्कीले उच्च प्रहरी अधिकारीहरूसँग आकस्मिक छलफल गर्दै संगठनलाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका थिए।
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारले आईजीपी कार्कीलाई हटाउने तयारी गरेको भन्ने आशयका सामग्री सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयमा यस विषयले चर्चा पाएको थियो। त्यसपछि कार्कीले पुलिस पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को आकस्मिक बैठक बोलाएका थिए।
बिहीबार दिउँसो २ बजेदेखि साँझ करिब ७ बजेसम्म चलेको बैठकमा सहभागी हुन प्रदेशमा कार्यरत डीआईजीहरूलाई समेत काठमाडौं बोलाइएको थियो। बैठकमा संगठनको अवस्था, पछिल्लो सुरक्षा परिस्थिति र सामाजिक सञ्जालमा फैलिएका विभिन्न सूचनाबारे छलफल भएको थियो।
बैठकमा सहभागी एक अधिकारीका अनुसार कार्कीले प्रहरी संगठनको प्रतिष्ठा र व्यावसायिकतामाथि आँच पुग्ने गतिविधि भइरहेको भन्दै सबै अधिकारीलाई सचेत रहन आग्रह गरेका थिए। संगठनबाहिरका केही व्यक्तिबाट प्रहरीलाई विवादमा तान्ने तथा आन्तरिक विषयलाई अतिरञ्जित रूपमा बाहिर ल्याउने प्रयास भइरहेको उनको भनाइ थियो। बैठकमा केही अधिकृतले सरकारका तर्फबाट राजीनामा मागिएको हो कि होइन भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा कार्कीले अहिलेसम्म आफूलाई कसैले पनि राजीनामा दिन नभनेको स्पष्ट पारेका थिए।
प्रहरीले बैठकपछि जारी गरेको विज्ञप्तिमा अपुष्ट विषयलाई अनुमानका आधारमा समाचारका रूपमा प्रस्तुत गर्दा नागरिकमा भ्रम सिर्जना हुन सक्ने उल्लेख गरेको छ। यसले प्रहरी संगठनप्रतिको विश्वास र संस्थागत छविमा असर पार्न सक्ने भन्दै प्रहरीले आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्न आग्रह गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बैठकमा संगठनको प्रतिष्ठा, व्यावसायिकता र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले फैलाइएका सूचनाबारे छलफल भएको बताए।
प्रहरीले भ्रामक सूचना फैलाएर संगठनलाई कमजोर बनाउने नियोजित गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाही गर्ने चेतावनी दिएको छ। साथै, संगठनका कर्मचारीलाई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न निर्देशन दिएको छ।
नेपाल प्रहरीले सार्वजनिक सुरक्षा, शान्तिसुव्यवस्था, अपराध नियन्त्रण र नागरिकको जीउधनको संरक्षण आफ्नो प्रमुख जिम्मेवारी रहेको दोहोर्याउँदै कुनै पनि प्रचार वा दबाबका कारण उक्त जिम्मेवारी प्रभावित नहुने स्पष्ट पारेको छ।