लुम्बिनीखबर
भैरहवा, २० कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । पाँच दिनसम्म मनाइने तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइँदैछ । धनतेरसका अवसरमा नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याएर पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ । धनतेरसलाई धन, समृद्धि र सौभाग्यको प्रतीकका रूपमा लिने गरिन्छ । यस दिन सुन, चाँदी, तामा, पित्तललगायत धातुका सामग्री खरिद गर्दा घरमा सुख, शान्ति र समृद्धि भित्रिने धार्मिक विश्वास छ । त्यसैले धनतेरसका दिन बजारमा सुनचाँदीका गरगहना तथा विभिन्न धातुका सामग्री खरिद गर्ने उपभोक्ताको चहलपहल बढ्ने गर्दछ ।
तिहारलाई उज्यालो, फूल, रङ र आपसी सद्भावको पर्वका रूपमा पनि लिइन्छ । यस पर्वमा घरआँगन सफा गरी दीप प्रज्वलन गर्ने, फूलमाला लगाउने, देउसीभैलो खेल्ने तथा दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने परम्परा रहेको छ । यस वर्ष तिहारअन्तर्गत कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ । आइतबार बिहान कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ घरघरमा धनकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइने कार्यक्रम छ ।
त्यसैगरी, कात्तिक २५ गते मंगलबार भाइटीका परेको छ । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका तथा माला लगाइदिने परम्परा छ । तिहारका पाँच दिनलाई यमपञ्चकका रूपमा मनाइन्छ । काग, कुकुर, गाई, गोरु तथा भाइटीकाका दिन दाजुभाइको पूजा गर्ने यस पर्वले प्रकृति, पशुपक्षी र पारिवारिक सम्बन्धप्रतिको सम्मान तथा प्रेमको सन्देश दिने गर्दछ । तिहारको अवसरमा बजार तथा घरआँगनमा उत्साह र उमङ्ग छाउने गर्दछ । विशेषगरी दीपावली, फूलमाला र देउसीभैलोले तिहारलाई थप उल्लासमय बनाउने गर्छन् ।