
दिपक कलवार
सुर्यपुरा । गैडहवा गाउँपालिकाले अभिभावक विहीन बालबालिकालाई निःशुल्क पढाउने भएको छ । पालिकाले आफ्नै बजेटमा उनीहरुको संरक्षण र योग्य नागरिक बनाउने भुमिका खेल्नेछ । बेटी पढाऊ, बेटी बचाऊ अभियानलाई समेत आगामी बजेटमा निरन्तरता दिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
पालिकालाई वातावरणमैत्री तथा सुन्दर बनाउनका लागि फोहोर व्यवस्थापन र सरसफाईका लागि समेत आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटिएको गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । फोहोर व्यवस्थापनका लागि ट्याक्टर समेत खरिद गर्न बजेट विनियोजन गरिएको अध्यक्ष पौडेलले बताए ।
गाउँपालिकाको गौरवको योजना अन्र्तगत गैडहवा ताल र सूर्यपूरा पार्कलाई विकास गरिनेछ । अध्यक्ष पौडेलले भने, लुम्बिनीमा आउने पर्यटकको गन्तव्य स्थलको रुपमा सूर्यपूरा पार्कर गैडहवा ताललाई आकर्षणको केन्द्र बनाइने छ ।
शिक्षा, स्वास्थ्य र पर्यटनका लागि दीर्घकालीन सोचका साथ योजना गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जनताले अनुभुति गर्ने किसिमले बजेट विनियोेजित गरिएको बताए । गैडहवा गाउँपालिका महामानव गौत्तमबुद्धसँग जोडिएको गाउँपालिका हो । जहाँ पर्यटन र कृषिको प्रचुर सम्भावना देखिन्छ ।