भक्तपुर— उपप्रधान, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार परिवर्तन गर्न छिमेकी लागेकाले सरकार बदलिए कुनै नौलो बिषय नहुने बताएका छन्।
रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा उनले भारतको नाम नलिई नेपालका हरेक सरकारको निर्माणमा छिमेकीको प्रभाब रहँदै आएको उल्लेख गरे। त्यसो भए तापनि वर्तमान सरकार उसको इच्छा बिपरित भएकाले सकेसम्म सरकार परिवर्तन लागेको उनको भनाई थियो।
छिमेकीकै इच्छा अनुसार नेपालमा सरकार निर्माण हुने परम्पराको अन्त्य भए तापनि कांग्रेसले आफ्नो महाधिबेशनमा नाकाबन्दीबारे कुनै उल्लेख नगर्नुले समेत सरकार परिवर्तनको सम्भावना रहेको उनले बताए।
छिमेकीकै इशारामा १७ दिनमै संबिधान संशोधन गर्नुले पनि नेपाल पूर्ण स्वतन्त्र नरहेको उनको भनाइ थियो। उनले भूगोल र जनसंख्याको आधारमा सिमाङ्कन गरिने संविधानमा उल्लेख गरिए तापनि जनसंख्याको आधारमा सिमाङ्कन गरेर देश टुक्राउने खेल सुरु गरिएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालले अन्य मूलकसँगको पारवहान सन्धिका लागि समेत बाटो खुल्ने उनको भनाई छ । यसले भारतसँगको परनिर्भरताको अन्त्य हुने उनले बताए ।