
उदयराम पौडेल
विपरीत दिशातर्फ जाँदैछ सरकार, न त प्रजातन्त्रको बाटो हो, न त लोकतन्त्रको न त एकात्मक हो न त निरंकुश नै भन्न मिल्छ । न त कुनै देश र जनहितको लक्ष्य नै छ, न त कुनै उद्देश्य, न त आफ्नो संस्कार र संस्कृतिको पक्ष नै छ न त विकासको गति नै अगाडि बढेको छ । देशको ढुकुटी जनताको पसिना आफ्ना मानिस र चम्चाहरुलाई एउटा बहाना बनाएर जथाभाबी बाँडिएको छ ।
जिम्मेवारी र कर्तव्य परायणता र नैतिक आचरण न त नेतामा छ, न त कर्मचारी तन्त्रमा । सबै देश र जनतालाई लुट्नमा नै व्यस्त देखिन्छन् । कस्तो बिडम्बना हो, जुन देशको हावा पानीले रक्तसञ्चार गरेको छ, जसको अन्न खाएर जीवन संचार भएको छ ।
आज त्यसैमाथि कुठाराघात गर्न अग्रसर हुने प्रवृत्तिलाई के भन्ने हो, मानवीय गुण धर्म की, विकृतिको पराकाष्ठा । देश र जनजीवन भन्दा राजनेता ठूलाबडा र विज्ञ भएको परिप्रेक्ष्यको दृष्टिले हेर्दा, दलीय घमण्ड र अहंकार उम्लेर जताततै छिरलिएको छ । जसले गर्दा सम्हाल्नै नसकिने परिस्थितिको सिर्जना भएको छ ।
वास्तवमा साँचो सत्य बोल्ने र लेख्ने हो भने दलीय मान मर्यादा, कर्तव्य र जिम्मेवारी तथा चारित्रिक गुण, धर्म विपरीत बग्दै छन् । किनभने कोही उत्तरमुखी, कोही दक्षिणमुखी, कोही भाँडभैलो मुखी, कोही यही नाजुक अवस्था देखि लुटपाट मच्चाए र देशमा आगो सल्काउने, कोही जात जातिको विषरुपी जहर छर्दै आफुलाई बौद्धिक स्तरको बुज्रुक सम्झने प्रवृत्ति हावी भएको छ ।
वास्तवमा आफ्नोपन र आफ्नो सोच तथा बुद्धि विवेक देश र जनहित भन्दा, फट्याईँ, छुल्याई तर्फ अग्रसर हुन पुग्यो । जसले गर्दा गैर जिम्मेवारीपनले देशमा राजनीतिक स्थिरता कायम हुन सकेन र परिणाम दुखद हुन पुग्यो । राजनीति स्वच्छ र शुद्ध तथा विश्वसनीयता हुन सकेन, दिन प्रतिदिन झन्–झन् दुषित र विकृत हुँदै गयो ।
राजनीति दर्शन लगाम बिनाको घोडा सिद्धान्त विहीन, लक्ष्य र उद्देश्यहीन भ्रष्ट बन्दैै गयो, जसले गर्दा देशमा भ्रष्ट, तस्कार, अपराधी तत्वहरुको बोलवाला स्थापित भयो । सबै क्षेत्रमा राजनीतिक कारणले गर्दा शान्ति सुरक्षा पनि प्रभावित हुन पुग्यो ।
जनभावना एकतर्फ बग्दैछ, राजनीति सोच र दलीय प्रवृत्ति देशको भूराजनीति अवस्था र परिस्थिति तथा जनभावना विपरीत तर्फ उन्मुख भएको छ । कारण देशको स्वार्थ, राष्ट्रिय भावना भन्दा दलीय स्वार्थ हावी भएको छ । परिणाम अस्थिरतातर्फ बग्दैछ, यसैलाई जलमल गर्ने तत्व सक्रिय भएको छ । देशको भूगोल, भू–बनोट र नेपालीत्वलाई हाम्रो राजनीति दर्शन र राजनेताहरुले ग्रहण गर्न सकेन, जथाभाबी बग्न थाले ।
वास्तवमा नेपालवादी नै भएन, कोही माओवादी, कोही एमालेवादी, कोही कांग्रेसवादी आदि–आदि विभिन्न वादीहरुको जन्म भयो तर नेपालवादीको जन्म भएन । खुट्टा नभएको लङ्गडो, हात नभएको डुँडो, सोच नभएको मस्तिष्कले के नै गर्न सक्छ र मुख भने छुराजस्तो लाग्नेछ तर खान सक्छ काम गर्न सक्दैन ।
यसप्रकारको मानसिकताले देशको जल्दोबल्दो समस्याको समाधान गर्न के सम्भव छ, प्रश्न खडा भएको छ तर सम्भव छैन । किनभने विभिन्नताले भाँजो हाल्छ, एकताको आवश्यकता छ, तर वर्तमान दलीय अवस्था एकताको पक्षमा देखिँदैन ।
जबसम्म देशमा दलहरु द्येश र जनताप्रति ईमान्दार भएर सिस्टम र विधि विधान प्रति विश्वस्त हुँदैन, तबसम्म देशमा शान्ति सुव्यवस्था हुँदैन । कारण देशमा एकताको आवश्यकता छ, तर हुँदैन ।
किनभने अपनत्व छैन, उचालेको कुकुरले मृगको स्वीकार गर्न सक्दैन, सत्य साँचो यही हो । सबैले बुझेका छन् बुझेर पनि बुझ पचाईरहेका छन् । कारण देशको विकास भन्दा भाँजो हाल्ने धेरै छन् । यति सानो देशमा यति धेरै राजनीतिक दलहरु दर्ता हुनु भनेको देश विकास गर्ने उद्देश्य भन्दा बिगार्ने मानसिक बढी देखिन्छ ।
बहुमत माथि अल्पमत हावी भएको छ, राजनीति भन्दा, अराजनीति बढी भएको छ । देशको मानु खाने र देशमाथि नै अप्ठ्यारो गर्ने प्रवृत्ति माथि रोक लगाउनुपर्दछ, किनभने देशभन्दा ठूलो कोही छैन । सबै वर्ग विशेषको साझा फूलबारी हो र यसको उन्नति प्रगति गर्ने हामी सबैको कर्तव्य हो । त्यसैले नमिलेका विषयवस्तुहरु आपसमा बसेरै समाधानको बाटो निकाल्नुपर्दछ, देशलाई कमजोर गराउनुहुँदैन ।
जहाँसम्म सीमाको सम्बन्ध छ, सरकारले हचुवा र राजनीति प्रभावको रुपमा गर्न गराउनु हुँदैन । विशेषज्ञहरुको आयोग गठन गरेर सातै प्रदेशको सीमा भौगोलिक अवस्था, सुगम र दुर्गम, हिमाल, पहाड र तराईलाई मिल्ने गरी राजनीति भरिसक्के सहमतिको आधारमा निर्धारित गर्नुपर्दछ । किनभने देशले थाम्न सक्ने आर्थिक भारको पनि मूल्याङ्कन गर्न अति आवश्यक छ । कारण आर्थिक स्रोतको आधार कसरी जुट्दछ ।
शान्ति सुरक्षाको सम्बन्ध, सातै प्रदेशको राजधानी बनाउने स्रोतको प्रबन्ध जनसंख्याको आधार एकैपटकमा पुरा हुन सम्भव नै छैन । क्रमिक रुपमा पुरा गर्दै जानुपर्दछ, त्यसैले धैर्य र संयमको बाटोबाट राजनीतिक दलहरु परिपक्व भएर सोच्न र बुद्धि विवेक चाहिन्छ । उत्तेजनाले मात्र काम पूरा हुँदैन । सबैले बुझेको कुरा के हो भने आखिर मेलमिलाप नभई काम बन्दैन । यसप्रकारको परिस्थितिमा मेरा गोरुको बाह्रै टक्का भन्नु निश्चय नै मूर्खता हुनेछ । सबैले बुझौँ र माृतभूमिको सेवा गरौँ ।
निष्कर्ष, झगडाले कसैलाई फाईदा पुग्दैन, न त शान्ति सुव्यवस्था नै हुन्छ । फाईदा त्यसैलाई पुग्दछ जसले दुवैथरीलाई जुधाएर देश र जनतालाई लुट्दै आएको छ । दुवै पक्षले आफ्नो वास्तविक धरातलमा टेकेजस्तो लाग्दैन । अहंकार र घमण्डको पारो शायद कसैको ईशारा र बहकाउमा दौडिरहेको त छैन ।
्आफ्नो स्वरुप आफ्नै ऐना (सिसा)मा हेर्ना छाडेर अरुको ऐना ठूलो छ भन्दै पछि लाग्नु निश्चय नै देश र जनजीवनलाई धोका दिनु हो । तसर्थ बेलैमा सबैले सोचेर सीमा विवादलाई सुल्झाउन शक्तिशाली आयोग गठन गरेर विशेषज्ञहरुको आयोगबाट निर्धारित गरेको सीमा र अन्य नमिलेका विषयहरु मिलाएर संविधान संशोधन गर्ने सहमति गर्दै चुनावतर्फ लाग्नु सबैका लागि बुद्धिमानी काम हुनेछ । दुवैथरीले जित्ने यो भन्दा शायद अर्को विकल्प छैन । त्यसकारण सबैमा सद्बुद्धि आवस् यही कामना गर्दछु ।