विश्वभर सन् २०१६ देखि जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णयसँगै नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय योग दिवसका साथै वि.सं २०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । सधैं झै यस वर्ष २०८० माघ १ गते “गरौँ योग रहौ निरोग” भन्ने मूल नाराका साथ नेपालका ७५३ वटै स्थानीय तहहरुमा नवौं राष्ट्रिय योग दिवस मनाउँदै छ । यसै सन्दर्भमा योग दिवस विशेषसँग सम्बन्धित गरी आम सर्वसाधारणको जानकारीका लागि यो लेख तयार गरिएको छ । यस लेखबाट सरोकारवाला निकाय, अनुसन्धानकर्ता र आम सर्वसाधारणहरूमा मानव जीवनमा योगको महत्व, नेपालमा यसको स्थिति र शिक्षाक्षेत्रमा योग शिक्षाबारे जानकारी प्राप्त हुने विश्वास लिइएको छ ।
योग परिचय
योगलाई नेपाल भारत जस्ता पूर्वीय समुदायको सांस्कृतिक धरोहरको रुपमा लिइन्छ । योगको प्रारम्भको इतिहासमा पौराणिक कथन बाहेक विद्वानहरूको मतमा एकरूपता पाईदैन । अर्थात योगलाई पौराणिक मान्यताका आधारमा हेर्दा यसको सुरुवातबारे यथार्थ इतिहासको अभाव छ । सामान्यतया दर्शनशास्त्रको व्यवहारिक एवम् प्रयोगात्मक पक्षको रुपमा योगशास्त्रलाई लिने गरिन्छ । योग शब्द संस्कृतको ‘युज’ धातुबाट बनेको छ, जसको अर्थ जोड्नु, मिलाउनु, ध्यानलाई केन्द्रित गराउनु तथा उपयोगमा ल्याउनु भन्ने हुन्छ ।
स्वास्थ्यमा सुधारदेखि जन्मदेखि मृत्यू सम्मको सांसारिक दुःख कष्ट सम्मको मुक्ति वा मोक्ष प्राप्ति नै योगको लक्ष्य हो । ऋगवेदमा विद्धानको कुनै पनि काम योग बिना सपmल हुन सक्दैन भनिएको छ । गीतामा योगलाई मानव कल्याण सँग जोड्दै मानिसहरु विरक्त नभै सामाजिक कर्ममा लाग्नु र लक्ष्य प्राप्त गर्नु भनेको छ । बुद्ध दर्शनमा योगलाई दुःखबाट मुक्त हुने उपाय भनेको छ । समग्रमा शरीर र आत्माको एकीकरण (ध्यान) हो । हाम्रो मनलाई शब्दहरुवाट मुक्त गराई आफुलाई शान्ति र सुन्यतासँग जोडने तरिका योग हो । यदि अभीष्ट फलको प्राप्तिको लागि योग, उपासना वा आराधना नियमपुर्वक गरिन्छ भने त्यो साधना हो । यीनै योग साधना, योगाभ्यास गर्ने वा जोडीएको व्यक्ति योगी हो । योग बुझ्ने भन्दा पनि अभ्यास गर्ने कुरा हो । योग दर्शनलाई व्याख्या गरेर भाषामा उद्धृत गर्ने प्रथम स्रष्टा प्राचीन मुनि व्यासलाई मानिन्छ । यसका अतिरिक्त केही विद्घानहरू योगको आदि आचार्य ‘हिरण्यगर्भ’ लाई मान्दछन् र यसैको आधारमा नै पतञ्जलिले योगलाई सरल रुपमा व्याख्या गर्नुको साथै योग सूत्रको रचना समेत गरी योगका सम्पूर्ण पक्षलाई क्रमबद्ध तथा सरल रूपमा सूत्रबद्ध व्याख्या गरिदिएपछि यसको प्रचार प्रचार भएको विश्वास गरिन्छ (झा २०६३) ।
अधिकांश व्यक्तिहरू योगलाई योगीसँग तुलना गरी अर्थ लगाउँछन । योगको अर्थ सवै व्यवहार त्यागेर कुनै एकान्त ठाउँ , हिमालयका गुफाहरु, कुटी छाप्रोमा एक्लै रहनु होइन । योग जीवन पद्धति हो । यसले मानवजीवनलाई सकारात्मक दिशातर्फ अगाडि बढाउँदछ । “योगको अर्थ शून्यमा मात्र हर समय लिउन भई आफूलाई बिल्कुलै निश्क्रिय बनाउनु होइन बरु योग शक्तिबाट प्राप्त बल, विवेक तथा समझदारीको आधारमा आफ्नो व्यवहारमा सक्रियता र निरन्तरता ल्याई मनलाई पवित्रता, शरीरमा स्वस्थता र स्वतन्त्रताजस्ता महान गुणहरुबाट अभिप्रेरित भई सकारात्मक कार्य गर्न तर्फ अग्रसर रहनु हो । शास्त्रमा कर्मयोग, ज्ञानयोग र भक्तियोगको रूपमा मार्गदर्शन गरिएको छ । यी तिनै योगहरु उन्नतिशिल शान्त र आनन्दित जीवन जिउन (प्राप्त गर्न) को लागि प्रयोगमा ल्याउने सिद्धान्त हुन् । कार्य बिना ज्ञान असम्भव नै छ र ज्ञान बिना कुनै पनि बस्तुलाई प्राप्त गर्नुपर्ने इच्छा अधुरो नै रहन्छ । त्यसैले यी तिनै शक्तिहरु एकअर्काका पूरक भएका नाताले एकसाथ नै कार्यरत रहन्छन । यिनैको माध्यमले एकसाथ काम गर्नु पनि योग’ भनिन्छ ( विशुद्ध देव ,२०५८ः१६३) । योग शिक्षा योग दर्शनका आठ सुत्रीय कार्यक्रमसँग सम्बन्धित हुनुपर्छ भन्ने मान्यता पाइन्छ । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी यी योगका आठ अंङ्गसूत्र हुन । यिनीहरूबाट मानव जीवन परिचालन हुने हुनाले विद्यालय शिक्षामा योग शिक्षाको विशेष महत्व रहन्छ ।
योग इतिहास र महत्वः
योगलाई पूर्र्वी जगतको सबभन्दा महत्वपूर्ण प्राचीन साझा सम्पत्ति मानिन्छ । पूर्र्र्वीय साहित्यका प्राचीन ग्रन्थहरूलाई अध्ययन गरेर हेर्ने हो भने प्रत्येक ग्रन्थमा योगको महत्व तथा प्रक्रियाबारे व्याख्या गरेको पाइन्छ । श्रीमद्भगवतगीताले “वेदेषु यज्ञेषु तपःसु चैव दानेषु यत्पुण्यफल प्रदिष्ट अत्येति तत्सर्वमिदं विदित्वा योगी परं स्थानमुपैतिचाद्यम” अर्थात वेदाध्ययन गरेर यज्ञ, तपस्या तथा दान गरेर जति पुण्यफल प्राप्त हुन्छ त्यो भन्दा धेरै बढी अर्थात् सर्वोत्तम फल र स्थान योग गर्नेले पाउँदछ भनी उल्लेख गरेको छ । त्यसैगरी रामचरित्रमानस, महाभारत, गीता, शिवपुराण, गरुडपुराण, स्कन्दपुराण, पालि त्रिपिटक तथा जैन धर्ममा योग प्रक्रियाको विशिष्ट वर्णन र विवेचना गरिएको छ । यस तथ्यले पनि योग शिक्षाको महत्वलाई दर्शाउँदछ । योग शिक्षाको महत्वलाई शिक्षाविद् अशोक कुमार झाले निम्नअनुसार उल्लेख गरेका छन् ।
(क) योगको नियमित र सुव्यवस्थित अभ्यासले व्यक्तिलाई तनावबाट मुक्त पारी शारीरिक र मानसिक रूपले फुर्तिलो र उद्यमी बनाउँदछ ।
(ख) मानसिक चिन्ता, ईष्र्या एवम् द्वेषबाट तनाव रहित पारी अनुहार कान्तिमय अर्थात चहकिलो बनाउँदछ ।
(ग) प्राणायाम जस्ता यौगिक आसन तथा क्रियाको नियमित अभ्यासले संवेगात्मक स्थिरताका साथै मानसिक शान्ति प्रदान गर्दछ ।
(घ) योगको नियमित अभ्यासले ऐच्छिक तथा अनैच्छिक मांसपेशीहरू क्रियाशील हुने हुनाले शरीरका आन्तरिक अंगहरु नियन्त्रित तथा सुसंगठित हुनजान्छ ।
(ङ) यौगिक क्रियाको व्यवस्थित अभ्यासले मांसपेशी तथा अ¨िक समूहमा क्रियात्मक प्रशोधन तीब्र भएर जान्छ । फलत उत्सर्जन क्रिया स्वच्छ तथा नियमित भएर जान्छ ।
(च) यसले मानिसमा देखा पर्ने कफ, बात र पित्तलाई समन गरी स्वस्थता प्रदान गर्दछ ।
(छ) मांसपेशीय क्रियाशीलताका साथै उत्सर्जन प्रक्रियाको नियमितताले रोग प्रतिशोध भएर जान्छ ।
(ज) योगले व्यक्तिको हृदयगति, रक्तचाप तथा स्नायुको गतिलाई नियन्त्रित र व्यवस्थित गरी विभिन्न किसिमका शारिरिक रोगबाट सुरक्षा प्रदान गर्दछ ।
(झ) योगले व्यक्तिका शरीर, मन तथा आत्मालाई एकीकृत गरी उसको एकाग्रता तथा सहनशीलतालाई परिमार्जित परिस्कृत तथा विकसित गर्न सहयोग गर्दछ ।
(ञ) व्यक्तिका सहनशीलता, सद्भावना तथा सह–अस्तित्वको भावना विकास गरी असल, उत्तरदायीत्वपूर्ण र कर्तव्यशील नागरिक तयार पार्न सहयोग गर्दछ ।
विद्यालय पाठ्यक्रममा योगशिक्षाः
बालबालिकाहरूको चौतर्फी विकासका लागि उनीहरुको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक पक्षको विकास हुनुपर्दछ । यही मान्यतालाई आधार मानेर विद्यालय तहको विशेषतः आधारभूत तहमा स्वास्थ्य र शारीरिक शिक्षाको व्यवस्था गरिएको छ भने वि.सं.२०५५ साल देखिनै माध्यमिक शिक्षा पाठ्यक्रम कक्षा ९ र १० ऐच्छिक द्वितीय पत्रमा १०० पुर्णाङ्कको योगशिक्षा पठनपाठनका लागि पाठ्यक्रम र पाठ्यवस्तुको व्यवस्था छ । यद्यपि योग शिक्षाप्रति आमजनता दिन प्रतिदिन सचेत बन्ने गरेको तर विद्यालय शिक्षामा योग शिक्षा पाठ्यक्रमको व्यवस्था भए नभएको भन्ने कुराप्रति नेतृत्व वर्ग, शिक्षाविदहरू, आमजनता, अनभिज्ञ रहेको अवस्था छ । नेपालमा शिक्षा संरचनाले विद्यालय शिक्षालाई शिशु वा बालविकास कक्षा, आधारभूत तह र माध्यामिक तहका रुपमा विभाजन गरेको पाइन्छ । भने विद्यालय शिक्षाको आधारभूत तह (कक्षा १–८) मा स्वास्थ्य र शारीरिक शिक्षाको व्यवस्था गरिएको छ ।
यस विषय पाठ्यक्रममा योगशिक्षाका विषय वस्तुलाई महत्वपुर्ण स्थान दिएको पाइन्छ । यस स्वास्थ्य र शारीरिक शिक्षा वाहेक कक्षा ६ देखि ८ मा नैतिक शिक्षाको पाठ्यक्रमको व्यवस्था गरिएको छ । त्यस विषयमा पनि मौन बसाइ, प्रार्थना, ध्यान गर्ने जस्ता योग सम्बद्ध क्रियाकलाप गराउने शिक्षण विधि अपनाउने भनि पाठ्यक्रमले निर्देश गरेको छ । वर्तमान समयमा साविकको प्राथमिक तह कक्षा १–५ मा जिम्नाष्टिकका साधारण पल्टने, झुण्डिने र सन्तुलन कार्यहरूका साथै सामुहिक पि.टि. तथा कवाजका कार्यहरू प्रदर्शन जस्ता सक्षमताहरूलाई विषयवस्तु भित्र समावेस गरिएका छन् । यसमा मुख्य गरी शारीरिक व्यायाम भित्र नृत्य, पि.टि सम्बद्ध कसरतहरु सरल देखि जटिल क्रममा र कवाज अन्र्तगत ता“तीमा हिड्ने, सर्तक, गोडा फाट, बिश्राम, पङ्क्तिमा उभिने, फर्कने कार्यहरु, हिड्ने कार्यहरु राखिएका छन भने त्यस्तै जिम्नाष्टिक कार्य अन्र्तगत पल्टन बाजी, सन्तुलन कार्य र स्थिर अवस्थाका विभिन्न प्रारम्भिक सीपहरु राख्रिएका छन् ।
यसका विषयवस्तुमा मुख्य गरी झुल्ने र तन्कने कार्य, तान्ने र लच्किने कार्य झुन्डिने चढ्ने र झर्ने कार्यलाई प्राथमिकता दिएको छ । तर कक्षा १–५ सम्मको तहमा योग शब्दको प्रयोग गरिएको छैन । विद्यालय तहको कक्षा ६–८ मा शारीरिक शिक्षा विषयको व्यवस्था गरिएको छ । यस विषयको पठन पाठनको मुख्य लक्ष्य विद्यार्थीहरूलाई शारीरिक क्रियाकलापको माध्यमबाट शारीरिक रुपले तन्दुरुस्त, मानसिक रुपमा सचेत, संवेगात्मक रुपले सन्तुलित र सामाजिक तवरले सक्रिय तथा चेतनशील नागरिक तयार गर्नु रहेको छ । कक्षा ६–८ को स्वास्थ्य र शारीरीक शिक्षाको शारीरिक तर्फको तहगत सक्षमता “ स्वास्थ्य र फुर्तिलो शरीरका लागि कसरत, कवाज, व्यायाम तथा योग अभ्यास” भनि उल्लेख गरिएको छ (पा.वि.के, २०६९) साथै कक्षा ६ देखि ८ सम्मका स्वास्थ्य र शारीरीक शिक्षाका विषयबस्तुमा योग सम्बद्ध विषयवस्तु समावेश गरिएको छ ।
कक्षा ६ मा योगको परिचय, महत्व र अभ्यास अन्र्तगत पद्मासन, बज्रासन, धनुषासन, मण्डुकासन, सवासन र कक्षा ७ मा अर्धमच्छेन्द्रासन, गोमुखासन, भुजङ्गासन, मत्स्यासन, सुप्त वज्रासन, योग मुद्रासन, पवन मुक्तासन, मर्कटासन जस्ता आसनको महत्व र अभ्यासलाई समावेश गरेको पाइन्छ भने कक्षा ८ मा योगासनको परिचय र महत्व तथा अभ्यास अन्र्तगत प्राणायाम (सूर्यनमस्कार), सेतुबन्दासन, मकरासन, हलासन, भस्त्रिका, कपालभाति, अनुलोम विलोम जस्ता पक्षलाई समावेश गरिएको छ ।
विद्यालय तहको आधारभूत तह भन्दा माथि मा.वि तहमा २०५५ साल देखि माध्यामिक तह पाठ्यक्रम कक्षा ९ र १० मा ऐच्छिक द्वितीय पत्रमा १०० पूर्णाङ्कको योगशिक्षा पठनपाठनका लागि पाठ्यक्रम र पाठ्यवस्तुको व्यवस्था गरिएको छ । त्यसै गरी संस्कृत र बेद्विद्याश्रममा पनि १०० पूर्णाङ्कको योगशिक्षा पठनपाठनको व्यवस्था गरिएको छ । कक्षा ११ र १२ का कक्षाहरूमा क्रमिक रुपमा योग शिक्षाको विषयलाई ऐच्छिक रुपमा अगाडि बढाउँदै लैजाने नीति शिक्षा मन्त्रालयको देखिन्छ ।
निस्कर्षः
विद्यार्थीहरूको चौतर्फी विकासका लागि उनीहरुको शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक पक्षको सन्तुलित विकास गर्नु जरुरी देखिन्छ । यी पक्षको सन्तुलित विकास योग शिक्षाको ज्ञान र अभ्यासबाट मात्र सम्भव छ । योगलाई अगालिएको जीवनले भौतिक तथा आध्यात्मिक सुख सुविधालाई सन्तुलनमा ल्याउछ । मन नै मानिसको बन्धन र मोक्षको कारण भएकोले योगले समन्वयात्मक जीवन थापन गर्न सहयोग गर्दछ । योग समाजका हरेक व्यक्तिका लागि आवश्यक छ ।
अतः विद्यालय तहको शिक्षाका पाठ्यक्रमको एउटा विषय योग हुनु पर्दछ । विद्यालय तहको शिक्षामा विशेष गरी आधारभुत तहमा योगशिक्षाको छुट्टै पाठ्यक्रम छैन यद्यपि स्वस्थ्य तथा शारीरिक शिक्षा पाठ्यक्रम भित्र योगको विषयबस्तु समावेस गरिनु राम्रो पक्ष हो । विषय वस्तु समावेश भए तापनि शिक्षण विधि र तरिकाको स्पस्ट किटान र तालिम प्रशिक्षणको व्यवस्था नभएका कारण योग अभ्यासमा समस्या पर्ने गरेको शिक्षकको गुनासो छ । योग अभ्यासको प्रक्रिया व्यक्तिको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने तर यस सम्बन्धी प्रशिक्षित जनशक्ति विद्यालयमा नहुनाले विषयवस्तु सफल कार्यन्वायन हुन नसक्ने देखिन्छ । योग शिक्षालाई प्रभावकारी बनाउन तल्ला कक्षाहरु देखि नै विषय क्षेत्र नै ‘योग’ भनी किटान गर्नुपर्ने र त्यस भित्र समावेस गरिएका विषयवस्तुको पाठ्य घण्टी ज्यादै न्यून रहेकोले थप समयको व्यवस्था गरी विभिन्न योगासनको विधि र प्रक्रिया सम्बद्व विषयवस्तु थप गर्नुपर्ने देखिन्छ ।
कक्षा ६–८ का सम्बद्व विषयवस्तुमा योगको प्रकार अन्र्तगत हठयोग, कर्मयोग, मन्त्रयोग, ज्ञानयोग, भक्तियोग र राज योग जस्ता विषयवस्तु थप गरी कक्षागत रुपमा क्रमश महत्व र अभ्यास गराउनु पर्ने देखिन्छ । त्यस्तै माध्यमिक तहमा योगशिक्षालाई ऐच्छिक विषयको रूपमा मात्र व्यवस्था नगरी विभिन्न विषयको पाठ्यबस्तु भित्र वा अनिवार्य विषयको रुपमा योगशिक्षालाई समावेस गर्न सकेमा विद्यार्थीको शारीरिक मानसिक, संवेगात्मक, नैतिक पक्षको सन्तुलित विकास भई सक्षम जनशक्तिको विकासमा टेवा पुग्ने देखिन्छ समग्रमा योग शिक्षाको महत्वलाई हेर्दा प्रत्येक व्यक्तिका साथै विशेषगरी विद्यार्थीहरूमा मानसिक तनाव न्यून गर्न, संवेगात्मक स्थिरता ल्याउन, शरीरका आन्तरिक तथा बाह्य अङ्ग प्रत्यङ्गहरुमा क्रियाशीलता ल्याउन, विभिन्न रोगबाट बच्न, शरीरमा रोग प्रतिरोध क्षमता बृद्धि गर्नुका साथै विद्यार्थीहरूमा सहनशीलता, सदभावपूर्ण, उत्तरदायी महत्वपूर्ण कर्तव्यशील र सकारात्मक सोचयुक्त असल नागरिकको गुण विकसित गर्ने आधार योगशिक्षा हुन सक्दछ ।
सुझावः
राष्ट्रिय योग दिवसलाई वर्षको एकपटक धुमधामसँग मनाएर मात्रै पुग्दैन । योग जनताले बुझ्ने कुरा होइन । अभ्यास गर्ने र जीवनशैलीको रुपमा ग्रहण गर्ने कुरा हो । त्यसका लागि प्रत्येक स्थानीय सरकारले प्रत्येक वडाबासीका लागि कम्तिमा एउटा सुविधासम्म सम्पन्न योगाहल र कम्तिमा एक जना योग प्रशिक्षकको अनिवार्य व्यवस्था गर्न सक्नुपर्दछ साथै विद्यालय शिक्षादेखि अनिवार्य प्रयोगात्मक विषयका रुपमा योग शिक्षालाई प्रत्येक कक्षामा समावेश गर्न सक्नुपर्दछ तब मात्र राष्ट्रिय योग दिवस सार्थक हुने देखिन्छ ।
सन्दर्भ ग्रन्थः
झा, अशोक कुमार (२०६३). शारीरीक शिक्षाका आधार. काठमाडाैंः एम.के पब्लिशर्स एण्ड डिष्ट्रिब्यूटर्स । पा.वि.के. (२०६३). प्राथमिक शिक्षा पाठ्यक्रम कक्षा १–३. भक्तपुरः नेपाल सरकार शिक्षामन्त्रालय पाठ्यक्रम विकास केन्द्र । पा.वि.के. (२०६५). प्राथमिक शिक्षा पाठ्यक्रम कक्षा ४–५. भक्तपुरः नेपाल सरकार शिक्षामन्त्रालय पाठ्यक्रम विकास केन्द्र । पा.वि.के. (२०६९). प्राथमिक शिक्षा पाठ्यक्रम कक्षा ६–८. भक्तपुरः नेपाल सरकार शिक्षामन्त्रालय पाठ्यक्रम विकास केन्द्र । पा.वि.के. (२०७१). प्राथमिक शिक्षा पाठ्यक्रम कक्षा ९–१०. भक्तपुरः नेपाल सरकार शिक्षामन्त्रालय पाठ्यक्रम विकास केन्द्र । विशुद्धदेव, स्वामी सच्चिदानन्द (२०५५). चरित्र बिज्ञान. बनेपाः ऋषिकुमार पञ्चशिल इंसदा योग आश्रम । भण्डारी ,बाबुराम (२०७४),नेपालको विद्यालय तह पाठ्यक्रममा योग शिक्षाको अवस्था विश्लेषण “शिक्षा द जनरल अफ एजुकेसन” शिक्षा विभाग भैरहवा बहुमुखी क्याम्पस, अंक ३/पृ–६४ । स्वामि, रामदेव (२०६२). योग साधना तथा योग चिकित्सा रहस्य. काठमाडाैंः सहयोगी प्रकाशन