–केशव शर्मा बेलवासे
माओवादी द्वन्द्वकालमा शहीद भएका दशौँ हजार गरीब नागरिकहरुको मृत्युको औचित्यता पुष्टि गर्न नसकिरहेको वर्तमान अवस्थामा फेरी थारु–मधेश आन्दोलनले ५० लाखको नाममा नरसंहारलाई प्रोत्साहित गरिरहेको छ । भनिन्छ –“क्रान्तिबिना देश परिवर्तन हुन सक्तैन ।” तर नेपालमा भएका विभिन्न समयका आन्दोलन र क्रान्तिले अपेक्षाकृत परिवर्तन ल्याउन सकेको छैन । पटक–पटक विभिन्न नाममा भैरहेका आन्दोलन र नेपाल बन्दले देशको आर्थिक अवस्था धराशायी बनाउँदै लगेको छ । विदेशबाट आउने ऋण सहयोग र रेमिट्यान्सको भरमा अडिएको देशको अर्थतन्त्र अपाङ्ग जस्तो भई वैसाखीको भरमा हिँडिरहेको मानिसजस्तो भईरहेको छ ।
राजनीति सबै नीतिहरुको प्रमुख नीति हो । देशको राजनीतिले सही दिशा निर्दिष्ट गर्न नसक्दा अन्य योजना र नीतिहरुको कार्यान्वयनमा समस्या देखिन्छ । देश भ्रष्टाचार अनि अराजकताको खाडलमा भासिँदै जान्छ । नेपालको राजनीतिले दिशा नलिनुको प्रमुख कारण देशका राजनीतिज्ञहरु देशप्रति जिम्मेवार र उत्तरदायी नहुनु हो । देशका राजनीतिज्ञहरुलाई सही बाटोमा डो¥याउने प्रमुख जिम्मेवारी देशका सचेत वर्ग र बौद्धिक वर्गहरुको हो । देशको दुर्भाग्य नै मान्नुपर्छ, नेपालका तथाकथित बौद्धिक वर्ग राजनीतिज्ञहरुलाई सही बाटोमा डो¥याउनुको साटो उनीहरुबाटै निर्देशित छन् । अत्यधिक महत्वाकांक्षा र पदलोलुपताका कारण सहीलाई सही भन्न नसकिरहेका र राष्ट्रिय स्वार्थमा भन्दा पार्टीगत स्वार्थमा, व्यक्तिगत स्वार्थमा विभाजित बौद्धिक जमात राष्ट्रले आशा गरेअनुसार आफ्नो भूमिका निर्वाह गर्न नसकी चुकिरहेका छन् ।
केही दिन अघि मात्र टिकापुर, कैलाली आन्दोलनकारीको आक्रमणबाट एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरहरु बलराम विष्ट, केशव बोहरा र प्रहरी हवल्दार रामविहारी चौधरी लगायत थुप्रै प्रहरीहरुको आगो लगाई विभत्स हत्या गरिएको छ । त्यसैगरी पूर्वका जिल्लाहरुमा हत्याका श्रृङखलाहरु बढ्दै गैरहेका छन् भने माओवादी द्वन्द्वकालमा समेत हत्या हिंसाबाट आफूलाई टाढा राख्न सफल बुद्धभूमी भैरहवा दुई युवाहरुको रगतले लतपतिएको छ । किन यस्तो उग्र बन्दै गईरहेको छ समाज ? मानिस किन यस्तो हिंस्रक बन्दै गईरहेको छ ? किन अरुलाई मारेर आफूले जितेको ठान्ने स्वभावको विकास गर्न थालेको छ मानिसले ? यस्ता प्रश्नहरुको उत्तरमा राजनीतिज्ञहरुले कहीँ न कहीँ आफ्नो बाटो बिराउँदा यो परिस्थितिको जन्म भएको भन्ने सहजै अनुमान लगाउन सकिन्छ । आन्दोलनको नेतृत्व लिनेले आफ्ना गतिविधिहरुले सामाजिक एकता र सद्भावमा पारेको दुरगामी असरको पनि हेक्का राख्नुपर्दछ । राजनीति केका लागि र कसका लागि ? अहिले निकै अप्ठ्यारो प्रश्न बनेको छ । थारु जातिको हक र अधिकारको लागि गरिएको आन्दोलनले सशस्त्र प्रहरी हवल्दार रामविहारी चौधरीलाई जिउँदै जलाउँदा मानवताका प्रश्नहरु अझ पेचिला बन्दै गैरहेका छन् ।
थारु–मधेश आन्दोलनले देश आक्रान्त भैरहेको बेला जनजाती आन्दोलन,हिन्दूवादी आन्दोलन र डा. के.सी.को सुधारवादी आन्दोलनले थप जटिलताहरु थपेको छ । संसारकै दोस्रो गरिब राष्ट्रमा दरिएको नेपाल र जन्मदै २५ हजारको ऋण बोकेका जनतालाई हाँक्ने नेतृत्व वर्गको निरीहतापनले अन्धकार नेपालको मार्गचित्र कोरिरहेको छ । यता रौतहट, दाङ, महोत्तरी, सप्तरीमा नेपाल प्रहरीका कुल २४ र सशस्त्र प्रहरीका २२ प्रहरी चौकी असुरक्षाका कारण खाली भैसक्दा शान्ति सुरक्षाका लागि आर्मी परिचालन गर्ने सवालमा सुरक्षा परिषद् र राष्ट्रपति बीच असमझदारी बढ्दै गैरहेको छ । सेना परिचालन राष्ट्रपतिको सल्लाह बेगर भएको कुराले पत्रपत्रिकामा प्रमुखता पाईरहेका छन् । राष्ट्रिय सवालमा आफ्ना जिम्मेवारी प्रति चट्टान जस्तै उभिने राष्ट्रपति मधेशको सवालमा डगमगाएका देखिन्छन् । त्यस्तै आन्दोलनको सिकार भएका एसएसपीले ज्यान बचाउका निम्ति आन्दोलनकारीलाई गोली हान्न सशस्त्रका एसपीलाई आदेश दिँदा माथिको आदेश नभएको भन्दै मृत्युवरणलाई टुलुटुलु हेरिरहेको अवस्थालाई दृष्टिगत गर्ने हो भने उच्च पदस्थबीच असमझदारीको छनक दिन्छ । देशमा शान्ति–सुरक्षा, अमन–चयन कायम गराउनेहरुबीच देखिएको असमझदारीले थप जनधनको क्षति हुने सम्भावना बढाउँछ ।
राजनीतिज्ञहरुले बुझ्नै पर्ने यथार्थ के हो भने भिड कसैको हुँदैन । भिडलाई विभिन्न यो वा त्यो बहानामा उत्तेजित गराईरहँदा थारुले थारुलाई जिउँदै जलाएझैँको परिस्थिति पनि सृजना हुन सक्छ । नेपालमा सेन्टिमेन्टको खेतीले विगतमा ऋतिक रोशन काण्ड घटेर देशलाई ठूलो क्षति भएको कुरालाई बिर्सनु हुँदैन । संयमित, व्यवस्थित माग र आन्दोलनहरुले आफ्ना अधिकारहरु सुरक्षित गर्दछन् भने दिशाहीन र अरुबाट निर्देशित आन्दोलनले अन्र्तत्वगत्वा आफू राजनीति गर्ने धरातल र देशलाई आघात पार्न सक्छ । ‘घर बनाउन निकै समय लाग्छ तर त्यसलाई खरानी बनाउन निमेषभर कुुर्नुपर्दैन’ भन्ने उक्तिलाई आत्मसात गर्दै जिम्मेवार, उत्तरदायी राजनीतिज्ञ चिन्तन विकास गर्नु आजकोे प्रमुख आवश्यकता भएको छ । मानिस सृष्टिको सर्वोत्तम सिर्जना हो । प्रकृतिले अन्य जनावर भन्दा उत्तम बनाउनका लागि हामीमा विवेक प्रदान गरेको छ । मानव जातिकै अहित हुने जाति साम्प्रदायिकता रोप्ने गरी घटनालाई अतिरञ्जित बनाउने र अझै बढी हिंस्रक, आक्रामक बनाउने सोच, अभिव्यक्ति वा क्रियाकलापले हामीलाई धेरै टाढासम्म पु¥याउँदैन भन्ने सोचको विकास राजनीतिज्ञहरुमा आउन जरुरी छ । दीर्घकालीन राजनीति गर्न चाहनेले जनताको मनमा घर बनाउनु पर्दछ । काठमाण्डौबाट निर्वाचनमा हराइएका कृष्ण प्रसाद भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मधेशले माया गरेको छ र जिताएको छ । काठमाण्डौमा बसेकाहरुले पनि मधेशलाई पिडा हुँदा रुन जान्नुपर्छ ।
नेपालकै अन्नको भण्डार भनेर चिनिने मधेश र यहाँका जनता, २ प्रतिशत मात्र खेतीयोग्य भूभाग एवं चट्टानै–चट्टान युक्त हिमश्रृङखला भएको हिमालमा बस्ने जनता भन्दा ठगिएको बुझ्नु र बुझाईनु आफैमा गलत छ । सम्माननीय भारतीय प्रधानमन्त्री मोदीज्यूले भनेझैँ “देशको सम्मानित राष्ट्रपति र उपराष्ट्रपति मधेससँगै छ भने मधेसी जनता कसरी अपहेलित भएको भन्न मिल्छ ?” उच्च स्तरीय समझदारी र सहकार्यले समुन्नत नेपालको निर्माण गर्न सकिन्छ भन्ने सुझबुझपूर्ण चिन्तन उच्च पदस्थ व्यक्ति र राजनीतिज्ञहरुमा विकसित हुनु जरुरी देखिन्छ । अन्यथा मानवता विरोधी गतिविधिले स्थान पाईरहँदा समाज अनवरत भयभित र आतंकित भईरहनेछ ।
लेखक त्रि.वि भैरहवा बहुमुखी क्याम्पसमा जनसंख्या विषयमा प्राध्यापनरत छन् ।