
नरेश के.सी
आज जेठ ३ गते नेपालको ईतिहासमा एकै साथ लाखौँ जनतालाई रुवाएको दिन । जनताको बहुदलीय जनवादका प्रवर्तक नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा परी निधन भएको थियो । दुर्घटना किन, कसले गरायो भन्ने अहिलेसम्म यकीन हुन सकेको छैन । तत्कालीन समयमा एमालेले देशैभर मदन आश्रितको मृत्यु दुघर्टना नभएर हत्या भएको भन्दै आन्दोलन पनि ग¥यो । यो विषय पछिसम्म सरकार, सदन र सडकमा उठिरह्यो तर अझैसम्म उक्त घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन ।
संयोगले भन्नुपर्दछ, घटनामा ज्यान गुमाउने भण्डारीको पत्नी विद्यादेवी भण्डारी अहिले मुलुकको राष्ट्रपति छिन् । आश्रित पत्नी माया ज्ञवाली सांसद छिन् । मदन आश्रितले रगत र पसिना बगाएकोे पार्टी एमालेका अध्यक्ष प्रधानमन्त्री छन् । एमाले नेतृत्वको बामपन्थी सरकार छ । मुलुक मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादकै मार्गदर्शनमा अगाडि बढिरहेको छ ।
तर हरेक वर्ष मदन आश्रित स्मृति दिवस मनाइन्छ । आज पनि मनाइँदैछ । नेताहरुले उनको शालिकमा माल्यार्पण गर्दैछन् । उनीहरुको योगदान र बहुदलीय जनवादको चर्चा गर्दैछन् तर उनको हत्याको चूरो तथ्य बाहिर ल्याउन सकेका छैनन् । अहिले बहुदलीय जनवादका समर्थकहरु मात्रै होइन शान्ति र विकासप्रेमी आम नेपाली जनता दास ढुंगा घटनाको यथार्थता बाहिर ल्याउन सकेमात्र उनीहरुप्रतिको सच्चा सम्मान हुने विश्वास व्यक्त गरिरहेका छन् ।
दुई नेताको मृत्यु हुनेगरी भएको जीप दुर्घटनालाई एमालेले रहस्यमय भन्दै आएको छ । रहस्यमय भन्ने तर घटनाको जरासम्म पुग्न नखोज्ने प्रवृतिले गर्दा आम सर्वसाधारण पनि अन्यौलमा छन् । श्रीमति राष्ट्रपति भएको समयमा पनि श्रीमान्को दुर्घटनाको कारण पत्ता लगाउन सकिएन भने अबको ५ वर्षपछि यसको चर्चा गर्नु बेतुक हुनेछ ।
एमालेको २०४९ सालमा सम्पन्न पाँचाँै अधिवेशनमा भण्डारीले जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रमका रूपमा अघि सारेका थिए । सो पार्टीले उक्त कार्यक्रम मार्फत नै पार्टी गतिविधि अगाडि बढाउँदै जाने क्रममा अहिले मुलुकको सबै भन्दा ठूलो दल बन्न सफल भएको छ ।
संविधानको सर्वोच्चता र बहुदलीय प्रतिस्पर्धा, बहुलवादी खुला समाज, कानुन सम्मत शासन प्रशासन, बहुमतको सरकार र अल्पमतको विपक्ष, मानव अधिकार, प्रजातान्त्रिक मौलिक अधिकार, शान्तिको संवैधानिक प्रत्याभूति र रक्षा जस्ता राजनीतिक विषयहरु दूरगामी प्रभाव पार्ने र निर्णायक महत्व पार्ने विषयहरु समावेश गरी कार्यक्रम अगाडि बढाइएकोले बहुदलीय जनवादी भनेर परिभाषित गरिएको उक्त कार्यक्रम अहिले पनि जिवन्त छ । अन्त्यमाः मदन आश्रित प्रति हार्दिक श्रदासुमन ।