रवि सेन्चुरी
बीरबहादुर कमरेड न अध्यक्ष हुन् न त सचिवालय सदस्य हुन् । जिम्मेवारी र पदको आधारमा भन्नु पर्दा केन्द्रदेखि स्थानीय तह सम्म पार्टी को मातृ तथा भात्रृ सङ्गठनको कुनै पनि जिम्मेवारी पदमा उनी छैनन् । यिनले कहिल्यै पार्टीको तर्फबाट कुनै लाभदायी पदमा नियुक्ति पनि लिएका छैनन् ।
बीरबहादुरको हुलियाले आम नेपालीको प्रतिनिधित्व गर्छ । उनको दुब्लोपातलो शरीर, पुरानो खुम्चिएको कपडा, मध्यम खालको उचाई, फुलेको झुस्स परेको दारी छ । हसिला र मिजासिला व्यावहारका बीरबहादुर युवा अवस्थामा शोषण दमन र अन्याय–अत्याचारको विरुद्ध लडे । जीवनको लामो समय उनी उत्पीडित, दलित, महिला, गरिवको मुक्तिका निम्ति भनेर कमिनिष्ट पार्टीको झन्डा बोकी हिँडे । भूमिगत भए । तर, अहिले उनी गाउँ घरमा सानो चिया पसल राखेर जीविका चलाई रहेका छन् । दुनियासँग खुसी साट्ने सहृदयी यी बीरबहादुर जब राजनीतिको कुरा आउँछ, यिनलाई तनाब बढ्न थाल्छ ।
उनको तनाब नबढोस् पनि कसरी । दुई तिहाइ भन्दा बढी मतसहित वाम सरकार सत्तामा आसिन छ । उनकै गाउँ ठाउँमा वाम नेत्रृत्वमा छ, तर जनअपेक्षा कुल्चिइएको छ । भुइँ तहका जनले महसुस गर्ने गरी कुनै काम हुन सकेको छैन । यी कमरेड नेकपाका सच्चा कार्यकर्ता हुन् । उनले पार्टीलाई दुई चार भोट मागेर हिँडे । त्यसैले उनले यस्तो अपेक्षा गर्नु स्वाभाविक छ । जनताले बलिदान दिएर प्राप्त गरेको सङ्घीय गणतान्त्रिक सरकार हुँदा पनि भुइँतहका जनताले पञ्चायती शासन व्यवस्थाभन्दा फरक नपाउनु र उनीहरुको दैनिक जीवनमा देखिनेगरी जनहितमुखी कुनै काम हुन नसक्नु सोचनीय छ ।
आज धनी व्यक्ति झन् धनी र गरिब झन् गरिब हुँदैछन् । उनलाई यस्तो लाग्छ, हिजैको पञ्चायती, राजावादीहरुनै रुप र रङ्ग फेरेर सच्चा गणतन्त्रवादी भैरहेछन् । साथै, उनीहरु राज्यको सेवा सुविधा, प्राकृतिक सम्पदा लगायत अन्य अवसरहरु कब्जा गरिरहेका छन् । उत्पीडित जाति र समुदाय वर्गीय, क्षेत्रीय तथा लिङ्गीय समस्याबाट ग्रसित हुँदै गएको देख्दा उनी विगतलाई सम्झिन्छन्, जतिवेला उनी भूमिगत हँुदा उनका नेताले सुनाएका थिए– मुक्ति र आदर्शका कुरा । हिजो क्रान्तिकारी र परिवर्तनका कुरा सुनाउने नेताको परिवार सरल थियो, उनीहरुको आर्थिक अवस्था सामन्य थियो, अरु आम जन जस्तै । तर, आज दिनानुदिन उनीहरुमा आएको परिवर्तन देख्दा त्यतिबेला उनीहरुबाटै किटान गरिएका वर्ग सत्रु भन्दा केहि फरक पाउँदैनन् बीरबहादुरले ।
गाउँको दोबाटोमा रहेको उनको चिया पसलमा उनले बनाएको चियाको पाराखी धेरै छन् । त्यसैले गाउँका सवैजसो यहाँ चिया पिउन आउँछन् । विशेषगरी उनको चिया पसलमा राजनीतिक कार्यकर्ताको भिड लाग्छ । त्यसैले स्वभाविक छ, त्यहाँ पारिवारिक भन्दा समसामयिक राजनीतिकै विषयमा कुराकानी र वहस हुने गर्छ । देशमा के हुँदैछ सब भन्दा पहिले यहीँ चिया पसलमा चियो÷चर्चा हुने गर्छ । जब काठमाडौंमा एमाले–माओवादीको एकताको पहिलो उद्घोष भएको दिन र नेकपाको दुई तिहाई ल्याएर सरकार बनेको दिन उनको हर्षको सीमै रहेन । त्यो दिन उनले आफ्ना पसलमा आउने सबैलाई दिनभरी निःशुल्क चिया खुवाएका थिए ।यी तिनै बीरबहादुर हुन्, जसले कमिनिष्ट आन्दोलनमा लाग्दा आफ्नो पुख्र्याैली सम्पत्ति सिध्याएर थिए । बचे खुचेको केही धन पनि श्रीमतीको उपचारको क्रममा सकिएको थियो । उनले दुःख पर्दा हार गुहार नगरेका पनि होइनन् तर तर असवासन बाहेक उनले केहि पाएनन् ।
त्यो समय यस्तो थियो कि जग्गा व्यापारले ६ महिना अघि साइकलमा हिड्ने मानिस कारमा हिँड्ने भैसकेका थिए । ती मान्छेहरु पार्टीलाई लाखौलाख चन्दा सहयोग गर्थे र पार्टीमा बलियो पहुँच राख्थे । पार्टीमा चन्दा दाताकै बिग बिग थियो । उनीहरुकै बोलीमा सबैको लोली मिल्थ्यो । पार्टीका सच्चा कार्यकर्ताका कुनै भाउ थिएन । बीरबहादुर त्यो सभ्झदा पनि दिगमिग हुन्छन् । तैपनि ठूलो पार्टी बन्नु र बहुमत आउने कुराले उनमा आशा पलाएको थियो ।
यतिवेला बीरबहादुर अरुको घरमा चिया पसल राखेर जीविका चलाइरहेका छन् । आफू भन्दा पछिका साथीहरु केन्द्र, जिल्ला र स्थानीय तहको जिम्मेवारी पदमा पुगे पनि यिनी दःखी छैनन् । आफूले पद र अवसर नपाएकोमा कसैसँग कुनै गुनासो पनि छैन । यिनलाई राम्रोसँग थाहा छ, राजनीति गर्न धेरै कुराले महत्व राख्छ । त्यसमा ठूलो कुरा आर्थिक होला, अरु नेताको आर्शीवाद र खुरापात होला । साँच्ची भन्दा उनीसँग अहिले न आर्थिक स्तर भो, नत कुनै एक नेताको आर्शीवाद । त्यस्तै उनले विद्रोह गर्न पनि सकेनन् । जम्मामा अहिले उनी एक कार्यकर्ता अनि मतदातामा सिमित भए । किन हो कुन्नी यतिवेला उनलाई आफ्नो पार्टीको माया झनै लागेको छ । चुनावताका अरुले टिकट र अन्य कुराको मोलतोल गर्दै गर्दा उनी भने चुपचाप चुनाव प्रचारमा हिँडे । अरुहरु भोजभतेर, उमेदवारसँग हिमचिम हुने, सामाजिक सञ्जालमा फोटो राख्न मरिहत्ते गरिरहदा उनी भने आफूले चिनेका घर–घरमा गएर प्रदेश र केन्द्रको उमेदवारको प्रचार–प्रचारमा जुटेका थिए । यिनी घरबाटै खाना खाएरै चुनावी सभा तथा ¥यालीमा भाग लिन्थे । साइकलमा झण्डा बाँधेर चुनावी अभियानमा सरिक हुन्थे । उनले सहयोग गरेका उमेदवार जितेर आज जिम्मेवारी पदमा पुगेका छन् ।
२००६ सालमा कमिनिष्ट पार्टीको स्थापना भएपश्च्यात अहिले सम्म आइपुग्दा कमिनिष्ट पार्टीमा टुटफुट, विद्रोहले गर्दा नेपालमा कमिनिष्टहरुले पूर्ण बहुमतको सरकार बनाउन पाएका थिएनन् । नेताहरु भन्ने गर्थे कि वामको सरकार आए गरिब दःुखीको पनि दिन आउने छ । समाजमा जातीय विभेद हुने छैन । गरिबका छोरा–छोरीले पनि धनीका छोरा–छोरी जस्तै पढ्न–लेख्न पाउने छन् । समान रुपमा अवसर पाउने छन् । त्यहि भएर बीरबहादुर पनि आफ्नो भन्दा नि अब आउने पुस्ताका लागि राम्रो होला भनेर राजनीतिमा होमिए । यसैक्रममा उनी पञ्चायत विरुद्ध लडे, माओवादी द्वन्द्व देखे । ०६२–०६३ सालको जनआन्दोलनमा सहभागी भए । यसैबीच पटक–पटक सरकार परिवर्तन हुदा अस्थिर सरकारले देश विकास गर्न सकदैन भनेर चित्त बुझाए । र, उनी पनि स्थिर सरकारको आशामा पार्टीमा निरन्तर लागि रहे ।
आज नेपाली राजनीतिको संरचना फेरिएको छ । केन्द्रित शासन व्यवस्थाबाट राष्ट्र संघीय संरचना प्रवेश गरेको छ । आज स्थानी तह, प्रदेश र केन्द्रमा निर्वाचित प्रतिनिधि रहेका छन् । आज कुनै राजसस्था छैन, जनताकै सन्तान जनताबाट चुनिएर शासन व्यवस्था सञ्चालन गर्ने स्थानमा पुगेका छन् । आज २१ आंै शताब्दी विज्ञान र प्रविधिले गर्दा विश्व एउटा सानो समुदाय भनेको छ । विभिन्न सामाजिक सञ्जालले गर्दा विश्वको कुनै एक ठाउँमा घटेको घटानालाई तुरुन्तै अर्को कुनै फरक देशको ब्यक्तिले प्रतिक्रिया दिन सक्छ । त्यस्तै दिन प्रतिदिन नेपालीको इच्छा–आकांक्षा बढ्दो छ । नयाँ युग आरम्भ गर्ने वेला आएको छ । आज बीरबहादुरको पार्टी पार्टी प्रदेश र केन्द्र दुवैमा बहुमतमा छ । सरकारबाट बीरबहादुर जस्ता जनताले आशा गर्नु स्वाभाविक नै हो । बीरबहादुरको चिया पसलमा सबै पार्टीका कार्यकर्ता आउँछन् । ‘खै तेरो पार्टीले के ग¥यो?’ ‘संमृद्धी भनेको थाहा छ ?’ ‘नेताहरु त केन्द्रमा लडेका छन नि’, कमिनिष्ट आएर झन् देश बिगारे’ । यी खिसी टिउरीले बीरबहादुर आजीत भैसके । तै उनी मौन बस्न बाध्य छन् ।आज संमृद्ध नेपाल र सुखी नेपालीको नाराले बहस उठेको छ । तर त्यो वहस गाउँघर सम्म पुग्न सकिराखेको स्थिति छैन । कुन पार्टी र त्यसका जिम्मेवार नेताले के, कस्तो कार्य गर्छन्, त्यसको भागीदार उनीहरुमात्र हँुदैनन् । वास्तवमा त्यसको प्रत्यक्ष असर त बीरबहादुर जस्ता आस्थावान कार्यकर्ता र आम जनतामाथि परिरहेको हुन्छ ।
खाटी राजनीति त गाउँघर र टोलमा हुने गर्छ । बीरबहादुर जस्ता कार्यकर्ताले नेताहरुको गतिविधिको जवाफ दिनु पर्छ । नेताहरुले राम्रो कार्य गरे उनीहरुमा एक किसिमको खुसी, सम्मान बढ्न जान्छ । नराम्रो कार्य गरे भने साथीभाइबाट लुकेर हिँड्नु पर्ने अवस्था आउनसक्छ ।
बीरबहादुरको त्यति ठूलो अपेक्षा पनि होइन । उनले चाहेको भनेको साना–साना विकास, निर्माण जसले जनताको दिनचर्यासँग प्रत्यक्ष जोडिएको होस् । तर बीरबहादुरले नेता मानेकाले गाउँघरका गरिब जनतालाई भन्दा चिल्लो गाडीमा हिँड्ने उद्योगपति, सुकिला मुकिला मन पराएको देख्दा उनको चित्त दुख्छ । केहि दिन अघिको कुरा हो, बीरबहादुरले आफ्नो टोलको कुरा लिएर नगरपालिका जाँदा मेयरलाई भेट्न उनले निकै बेर कुर्नु प¥यो । तर चुनावताका उनकै विरोध गर्नेहरु सजिलै भेट्दै थिए । बल्ल–बल्ल समय पाएर मेयरलाई भेट्दा मेयरले आफ्नो विषयलाई राम्रोसँग नसुनेको देख्दा बीरबहादुरको स्वाभाविक रुपमा बढ्न पुग्यो । उनलाई आजकल लाग्न थालेको छ, गाउँ–गाउँमा सिंहदरवार नभएर राजदरबार आएको छ । हिजो एउटा मात्र राजा थिए भने आज वडा–वडामा भुरेटाकुरे राजाहरुको पुनः जन्म भएको छ ।
जब पार्टीको आफ्नो हैसिएत हुन्छ, त्यतिबेला अपवादबाहेक हनुमान र गणेश केन्द्रमा र कुमारहरु किनारमा पुग्ने सम्भावना हुन्छ । अवसरवादीहरु सल्बलाउने हुन्छ । उनीहरुनै असली नेता र कार्यकर्ता भएको नाटक मञ्चन गरेको दृश्यलाई पार्टी निर्माणमा आफ्नो जिन्दगी अर्पण गरेका नेता कार्यकर्ताले टुलुटुलु हेर्न बाध्य हुनु पर्छ । यसरी अवसरवादीले पार्टीलाई बदनाम गरिरहदा असली कार्यकर्ताहरुको मनोवल घट्ने निश्चित छ । आज वाम सरकारले आफ्नो सार्थकता प्रस्तुत गर्ने सक्नुपर्छ । आज समृद्धिको बहस चलिरहेको छ, त्यसभित्र उत्पीडित वर्ग, दलित, महिला, अल्पसङ्ख्यक लगायत समुदायको भूमिका कस्तो हुन्छ ? उनीहरुले कस्तो अवसर पाउँछन् र वर्षोदेखिको उत्पीडित सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक संरचना कत्तिको चिरिन्छ र समतामूलक समाज बन्छ भन्ने विषय प्रमुख हो । यो वाम सरकार पहिलेको सरकार भन्दा के कुरामा फरक छ आज सामान्य जनाताले पनि थाहा अधिकार छ । आज बीरबहादुर जस्ता कार्यकर्ताको माध्यमले पार्टी स्थापित भएको हो । आज उनीहरुको मनोविज्ञान नबुझी नेतृत्वले आफु खुसी व्यक्ति केन्द्रित निर्णय र कार्य गर्दैजाँदा व्यक्तिलाई त फाइदा होला तर सिङ्गो पार्टीलाई भने घाटा हुने पक्कै छ । आज नेतृत्वले आम जनताले सजिलै बुझ्ने ,देख्ने नीति ल्याउनु पर्छ ताकि उनीहरुको दैनिकी सहज र सुखद हुन सकोस् । कुनै पनि इतिहासलाई हेर्दा ढिलो चाँडो शासन व्यवस्था फेरिएको छ । फेरिनुको मुख्य कारणमध्ये पार्टीले बीरबहादुर जस्ता जनताको मनोभावना नबुझ्नु पनि एक हो । आशा छ, दुई तिहाइ सरकारले गफ भन्दा नि जनहित हुने कार्यहरु गर्नेछ, जसले गर्दा बीरबहादुर जस्ताको तनाब कम हुनेछ ।