logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    वर्षायाममा सजक बनौ


    २५ साउन २०७९ , बुधबार

    वर्षायाममा सजक बनौ

    सम्पादकीय
    वर्षासंगै बाढी, पहिरो, डुबान, कटानको जोखिम बढेको छ । पहाडी जिल्लामा पहिरो र तराईका जिल्लाहरुमा बाढी, डुबान र कटान उच्च जोखिम रहेको देखिन्छ । मनसुन सुरु भएसँगै हुने प्राकृतिक आपत् भारी वर्षा र चट्याङका कारण वर्षेनी धनजनको क्षती हुने गरेको छ । नेपालका पहाडी जिल्ला सिन्धुपाल्चोक, म्याग्दी, बाग्लुङ, लमजुङ, गोरखा, धादिङ लगायतका जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा देखिन्छ । नेपालको भुकम्प प्रभावित क्षेत्रहरु पहिरोको समेत उच्च जोखिममा छन् । रुपन्देही, नेपालगञ्ज, रौतहट, बाँके, बर्दिया, कैलाली, कञ्चरपुर लगायतका तराईका जिल्लाहरु वर्षैनी डुबानमा पर्ने जिल्लाहरु रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण शाखाको रेकर्डमा देखिन्छ । बाढी, पहिरो, डुबान क्षेत्रका मानिसहरुको ज्यान समेत मनसुनको समयमा जोखिममा पर्ने गरेको छ । यसको न्यूनीकरणका लागि सरकारले लामा र पट्याटलाग्दा भाषणहरु गर्ने गरेपनि देखिने गरी काम गरेको छैन । जनताका समस्या हिजो जे थियो, आज पनि त्यही रहेको छ । प्राकृतिक विपत्तिलाई रोक्ने सरकारको पहल कागजमा मात्र सीमित भएपछि नेपालमा वार्षिक रुपमा धनजनको क्षती बढ्दो रहेको छ । वर्षायाममा हुने विपद्लाई न्यूनीकरणका लागि सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन हुने गरेका छन् । समितिलाई विपद्को पूर्वतयारी गर्नका लागि सरकारले बजेट र निर्देशन समेत दिने गर्छ । तर दुर्भाग्य त्यस्ता समिति केवल नामको मात्र हुने गरेका छन् । प्राकृतिक विपद् न्यूनीकरण तथा समस्याग्रस्त क्षेत्रको उद्धारका लागि सरकारले प्रचार धेरै र कार्यान्वयन कम गर्ने गरेको छ । प्राकृतिक विपद्का बेला राज्यले जोखिमयुक्त क्षेत्रको पहिचान, न्यूनीकरणमा पहल, उद्धार र राहत व्यवस्थापनका योजना बनाउनु पर्ने देखिन्छ । यसका लागि सरकार, संघसस्था र स्थानीय जनताबीच समन्वय र सहजीकरण हुनुपर्दछ । मौसम पूर्वानुमान महाशाखालाई व्यवहारिक रुपमा सूचना संम्प्रेषण गर्ने बनाउनु पर्दछ । जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाका आधारमा बाढी तथा पहिरो क्षेत्रमा स्थानीय प्रशासनलाई उच्च सतर्कतामा राख्नु पर्दछ । जसका लागि उद्धार टोलीलाई तालिम तथा विपद्को जानकारी दिनु राज्यको कर्तव्य हो । मनसुनको पूर्व तयारीका साथ प्राकृतिक विपद्लाई रोक्न दक्ष जनशक्तिलाई तयारी अवस्थामा राखे जनधनको क्षतीलाई न्यूनीकरण गर्न सकिन्छ । प्रकोप क्षेत्रमा स्थानीय भाषामा पूर्व सूचना दिने प्रविधिको विकास गर्नुपर्दछ । पहिरो तथा डुवान क्षेत्रमा धनजनको क्षती भएको जानकारी पाउन साथ त्यसक्षेत्रको पहिचान गरी राहत तथा उद्धार र खोजका कार्यलाई तिब्रता दिनु राज्यको कर्तव्य हो । जसका लागि उद्धारका लागि आवश्यक सामग्रीहरुलाई पूर्व तयारी अवस्थामा राख्नु हो । नेपालमा सामान्यतया जुन १३ देखि अक्टोबर २ सम्मलाई मनसुन हुने गरेको मौसमविद्हरु बताउँछन् । नेपालमा कहिले औषतभन्दा धेरै वर्षा हुने र कहिले कम हुने गर्दछ । त्यसका आधारमा प्राकृतिक विपद् न्यूनीकरणमा राज्यको पहल आवरश्यक छ । जुन दीर्घकालीन हुनु पर्दछ । नेपालमा वार्षिक रुपमा हुने प्राकृतिक विपद्लाई राज्यले रोक्ने पहल गर्नु आजको आवश्यकता हो । त्यसका लागि उच्च प्रविधिको प्रयोग गर्दै सक्षम उद्धार टिमको विकास हुनुपर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.