कमल रायमाझी
नेपाल कृषि प्रधान देश हो । देशको धेरै जसो (करिब दुई तिहाई ) जनसंख्या कृषिक्षेत्रमा आश्रित छ । नेपालका सबै क्षेत्रमा कृषि उत्पादन हुने गरेका छन् । परम्परागत कृषि प्रणालीको निरन्तरताले यहाँको उत्पादन क्षमता कमजोर देखिन्छ । आधुनिक प्रविधि तथा उन्नत बिउ विजनको प्रयोगमा सरकारको उदासिनताले कृषकहरु मारमा परेका छन् । राज्यले गर्ने विभिन्न सहयोग र सहुलियतहरु दलालको फन्दामा पर्दा कृषकले चाहे जस्तो सरकारी सहयोग प्राप्त गर्न सकेका छैनन् । नेपालमा धेरै प्रकारका कृषि उत्पादन हुने गरेका छन् । खाद्यान्न, तरकारी तथा फलफुल, माछा र पशुपालन देशको सबैक्षेत्रमा मौसम अनुसार गरिने गरेको छ । त्यसको आधुनिकीकरण र बजारीकरणको अभावले गर्दा कृषकहरुले मिहिनेत अनुसारको फल प्राप्त गर्न सकेका छैनन् । कृषि औद्यागीेकरण र कृषि पर्यटनको अवधारणा नेपाल सरकारले बेलाबेलामा ल्याउने गरेको छ । तर त्यसको संस्थागत विकास गर्ने संयन्त्र कमजोर देखिएको छ । नेपाल कृषि प्रधान देश भएपनि कृषिजन्य धेरै उत्पादनहरु विदेशबाट ल्याउने गरेको छ । त्यसको न्युनीकरण र कृषि उत्पादनलाई आधुनिकीकरण गर्नका लागि राज्यले पहल गर्नुपर्ने देखिन्छ । कृषिलाई आधुनिकीकरण गर्दै देशमा कृषि उपजको आवश्यकता पूरा गर्न सक्नु पर्दछ । यहाँको प्रचुर पर्यटनलाई कृषिसँग जोडेर ग्रामीण कृषि पर्यटनको अवधारणाको विकास गर्नु अहिलेको आवश्यकता देखिन्छ । नेपालका हिमाल, पहाड र तराई सबैक्षेत्रमा कृषि खेती हुने गरेका छन् । ती क्षेत्रमा आउने पर्यटकहरुलाई कृषि पर्यटनसँग सहकार्य गराउनु पर्दछ । गाउँगाउँमा कृषि पर्यटनको विकास गर्न सके धेरै नेपालीहरु विदेश जानुपर्ने बाध्यता हट्ने थियो । स्वरोजगार बन्ने अवसर प्राप्त गर्ने थिए । नेपाल सरकारले त्यसप्रति विशेष ध्यान दिनु पर्दछ । यसका लागि आवश्यक पूर्वाधार मोटर गुड्ने सडक, पैदल मार्ग, सामाजिक भवनहरुको निर्माण तथा सार्वजनिक स्थलहरुको विकास गर्न जरुरी छ । कृषि फर्महरुको निर्माण, होमस्टे सञ्चालन, सिचाई तथा कुलोको व्यवस्था गर्नु पर्दछ । कृषिमा आधुनिक उपकरणको प्रयोग, उन्नत बिउ विजनको व्यवस्था, कृषि क्षेत्रमा बिमाको व्यवस्था हुनु पर्ने देखिन्छ । कृषि पर्यटनलाई जोड्नका लागि राज्यको तहबाट ग्रामीण क्षेत्रमा पर्यटकहरुलाई पुर्याउन भूमिका खेल्नु पर्दछ । ग्रामीण कृषि पर्यटनलाई विकास गर्न सके देशले आर्थिक रुपमा ठूलो फाइदा लिने देखिन्छ । यहाँको युवा शक्ति स्वरोजगार बन्ने र कृषिक्षेत्रमा नेपालले अरुको भरपर्ने अहिलेको व्यवस्थालाई परिवर्तन गर्न सहयोग पुर्याउन सक्दछ । नेपालका सबैक्षेत्रको वैज्ञानिक अनुसन्धान गरी स्थान अनुसारको कृषि उत्पादनलाई व्यवस्थापन गर्नु पर्दछ । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले सहकार्य गर्न जरुरी देखिन्छ । शिक्षा, स्वास्थ्य, रोजगारलाई जस्तै कृषि क्षेत्रलाई पनि सरकारले व्यवहारमा सहयोग गरे देशमा नयाँ कृषि क्रान्तिको विकास हुनेछ । यसका लागि कृषक र सरकारले हातेमाले गर्दै अगाडि बढ्ने वातावरण बन्नु पर्दछ । कृषि उत्पादन र बजारीकरणमा राज्यले भूमिका निर्वाह गर्न आवश्यकता छ । यसले यहाँको कृषि पर्यटनलाई संस्थागत गर्दछ । यसका लागि राज्यको भूमिका महत्वपूर्ण हुन्छ ।