logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    भैरहवामा जगद्गुरुपीठ स्थापना हुँदै


    ८ माघ २०७९ , आइतबार

    भैरहवामा जगद्गुरुपीठ स्थापना हुँदै

    दक्षिण पीठका लागि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ
    कमल रायमाझी
    भैरहवा,  माघ । धार्मिक कार्यबाट नेपाललाई विश्वमाझ पु¥याउने नेपालका प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्य महाराजले भैरहवामा जगद्गुरुपीठ निर्माण गर्नुहुने भएको छ ।
    सुनसरीको चतराधाममा वि.सं. २०५९ सालमा महाकुम्भ मेला प्रारम्भ गरि धार्मिक, सांस्कृति र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले भैरहवामा जगद्गुरु दक्षिणपीठको स्थापना गर्न लागेको जगद्गुरुको सचिवालयले जनाएको छ ।
    पुर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भैसकेको र चौथो भैरहवा पीठ स्थापना हुने चरणमा रहेको बताईएको छ । यो पीठ जगद्गुरुको अन्तिम पीठ पनि भएको जगद्गुरुको सुचना केन्द्रले जानकारी दिएको छ ।
    भैरहवा पीठ स्थापनाका लागि यही माघ ४ देखि १२ गते सम्म पीठको निर्माणस्थल रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुर डण्डा नदीको तटमा (बन कार्यालय अगाडि ) श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भैरहेको छ ।
    महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्धान आचार्य पुुरुषोत्तम सापकोटा र कथा प्र्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादव शरण गौड्तौलाका मुखाविन्दबाट पाठ—पारायण भैरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । नेपालका प्रथम जगद्गुरु महाराजको सान्निध्यमा भैरहेको महायज्ञबाट संकलन हुने रकमबाट भैरहवा पीठ स्थापना गरिने भैरहवाबासीले बताएका छन् ।
    नेपालमा सडकमार्ग हुदै सवैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाका भएकाले पनि यो पीठ निर्माणले पनि महत्वपुर्ण भुमिका खेल्ने जानकारहरु बताउँछन् ।
    पशुपतीनाथ, मुक्तीनाथ, स्वर्गद्धारी, लुम्बिनी लगायत नेपालका धार्मिक स्थल दर्शन गर्न आउने लाखौ भारतीय भक्तजनलाई निःशुल्क आवास र खानाको सुबिधा सहित भैरहवा पीठ सञ्चालन हुने जनाइएको छ ।
    जगद्गुरु दक्षिण पीठ निर्माणका लागि नेपालभरबाट भक्तजन भैरहवामा आउनुका साथै भारतको बानारण तथा अयोध्या लगायतका स्थानबाट समेत धर्मप्रेमी दर्शनार्थीहरु महायज्ञमा भागवत कथाको रसास्वादनका लागि भैरहवा आउनुभएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष विष्णु रायमाझीले जानकारी दिनुभयो ।
    जगद्गुरुका चारपीठ मध्य अन्तिम पीठको रुपमा स्थापना हुनलागेको भैरहवा पीठ निर्माण लागि भैरहेको महायज्ञमा सम्पुर्ण धार्मिक तथा सामाजिक व्यक्तित्वहरुलाई भागवत कथाको रसास्वादनका लागि निमन्त्रण समेत गरिएको आयोजकले जनाएका छन् ।
    महायज्ञ सफल पार्नका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरि परिचालन समेत गरिएको महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष तथा नवदुर्गा मन्दिरका अध्यक्ष लक्ष्मण पन्थीले जानकारी दिनुभयो । उहाँले जगद्गुरु संगको प्रत्यक्ष साक्षात्कार गर्न पाउनु भैरहवाबासीका लागि सुखद पक्ष भएको बताउदै सवै नेपालीहरुलाई जगद्गुरु दक्षिण पीठ निर्माणका लागि सहयोगको आग्रह समेत गर्नुभएको छ ।
    राष्ट्रिय भावनाबाट प्रेरित जगद्गुरुका अभियानहरुले आध्यात्मिक, धार्मिक, सांस्कृतिक, शैक्षिक एवं खोजमुलक कार्यक्रमहरु भैरहेको देखिन्छ । जस अनुसार नेपालका चार क्षेत्रमा जगद्गुरुका चार पीठ मध्य तिन पीठ स्थापना भैसकेको र चौथौ भैरहवा पीठ स्थापनाको अन्तिम चरणमा रहेको जगद्गुरुको सचिवालयले जनाएको छ । जसका लागि विभिन्न धार्मिक व्यक्तित्व तथा भक्तजनलाई महाराजले आर्दिवचन दिइरहनुभएको छ ।
    चार पीठको स्थापना संगै जगद्गुरुका विभिन्न स्थानहरु, चतराधाम, जगद्गुरु आश्रम शंखमूल र शारदा पीठमा जगद्गुरुकुलम् संचालनमा रहेका छन् । जहा नेपाली धर्म, संस्कृति र परम्पराको ज्ञान दिनुका साथै नेपाली मन मस्तिष्कमा धार्मिक भावना, सांस्कृतिक चेतना, कर्तव्यबोध, नैतिकता, सौन्दर्यबोध, शीलस्वभाव र सदाचारको शिक्षाज्ञान जगद्गुरुकुलममा प्रदान गरिने गरेको छ ।
    “ जननी जन्म भुमिश्च स्वर्गादपि गरीयसी” लाई ह्रदयंगम गदै राष्ट्रिय भावनाको जागरणका निम्ति महाकाली नदी किनारामा अष्टधातु जडित नेपाल आमाको ७५ फिट अग्लो मूर्ति जगद्गुरु महाराजश्रीको चाहाना अनुसार निर्माण भैरहेको छ । नेपालीहरुको दुःख, सुख बुझ्न तथा धार्मिक विषयहरुको अध्ययन अनुसन्धान गर्न महाकाली—मेची— महाकाली पैदल यात्रा गर्नुभएका जगद्गुरु महाराज श्रीले स्थापना गर्न शुरुगरेको भैरहवा पीठले नेपाल र भारतका भक्तजनका लागि एक महत्वपुर्ण गन्तव्य हुने भएको छ । धार्मिक, पर्यटकिय र औद्योगिक शहर भैरहवालाई संसार माझ पुराउन र धामको रुपमा विकास गर्न निर्माणार्थ जगद्गुरु पीठले उल्लेखनिय भुमिका खेल्ने देखिन्छ । यसका लागि जगद्गुरुको चाहाना र भावना अनुसार स्थानीयबासीहरुले पनि जागरुपता देखाउनुपर्ने छ । नेपालको धार्मिक सांस्कृतिक र आध्यात्मिक केन्द्रको रुपमा भैरहवालाई स्थापित गराउन सके यहाँको विकास समृद्धिको यात्रा अगाडि बढ्ने थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.