भैरहवा, २ भदौ ।
नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीले भैरहवालाई “ग्रीन सिटी क्लिन सिटी” बनाउनको लागि पुष्परोपण कार्यक्रम गरेको छ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेश नगरी सिद्धार्थनगरको लुम्बिनी गेटमा पुष्परोपण कार्यक्रम गरेको हो ।
भैरहवा लुम्बिनी पर्यटक मार्गलाई हराभरा र सुन्दर बनाउनको लागि पुष्परोपण कार्यक्रम गरिएको नेपाल कर्मशियल आर्टिष्ट संघ रुपन्देहीले जनाएको छ । संसारको आस्थाको केन्द्र रहेको लुम्बिनी प्रवेश गर्ने मार्ग तथा प्रवेशद्वारको वरिपरी पुष्परोपण अभियानले सिद्धार्थथगर नगरपालिकाको अभियानलाई सहयोग पुग्नुको साथै आगन्तुक पर्यटकहरुका लागि आकर्षण बनाउने आर्टिष्ट संघको सूचना शाखाले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका उप–प्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा भएको पुष्प रोपण कार्यक्रममा विभिन्न समाजिक व्यक्तित्वहरुको सहभागि रहेको थियो ।
उप–प्रमुख अधिकारीले लुम्बिनीको सामिप्यमा रहेका कला प्रेमीहरुले शुरु गरेको पुष्परोपनले सिद्धार्थनगरलाई सकारात्मक सन्देश प्रदान गरेको बताइन् । पुष्प रोपण कार्यक्रमले शान्तिक्षेत्रमा सुन्दरता थपेको छ । उपप्रमुख अधिकारीले भनिन्, “मेरो बाल्यकालदेखि नै मनपर्ने क्षेत्र आर्ट (कला) हो ।” उनले सिद्धार्थनगरका सबै वडा कार्यालय, स्कूल तथा सार्वजनिक स्थलमा हाते पेन्टिङलाई प्राथमिकतामा राखिने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । नेपाल कर्मशियल आर्टिष्ट संघ र सिद्धार्थनगर नगरपालिकाले कला क्षेत्रको विकासका लागि सहकार्य गरेर अगाडि बढ्न सकिने बताइन् ।

कार्यक्रममा समाजसेवी ओमकार गौचनले लुम्बिनी प्रवेशद्वारमा पुष्प रोपण गरी हराभरा बनाउने आर्टिष्ट संघको अभियान महत्वपूर्ण भएको भन्दै सधै सहयोगको लागि आफू तयार रहेको बताए । उनले पर्यटकीय नगर भैरहवालाई सुन्दर बनाउनको लागि आर्टिष्ट संघले सुरुवात गरेकोमा खुशी व्यक्त गरे । लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झाना शर्माले पुष्प रोपणको साथ साथै संरक्षणमा पनि ध्यान दिनु पर्ने बताइन् ।
नेपाल आर्टिष्ट संघ रुपन्देहीका कोषाध्यक्ष विशन गुरुङ्गको संयोजकत्वमा भएको कार्यक्रममा सञ्चारकर्मी, स्थानीय, जनप्रतिनिधि, सुरक्षाकर्मी र आर्टिष्ट संघका सदस्यहरुको उपस्थित रहेको थियो । आर्टिष्ट संघका अध्यक्ष उज्जवल कुमार कायस्थको अध्यक्षता तथा राजन चौधरीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले आर्टिष्ट संघले गरेको पुष्परोपण कार्यक्रमको प्रसंशा गरेका थिए ।
