परासी, फागुन २९ । होली–एक पर्व जसले रङ्ग मात्र होइन, लोकसंस्कृति, संगीत र आपसी सम्बन्धलाई पनि जीवन्त बनाउँछ । नवलपरासी पश्चिमस्थित सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले यही उत्सवलाई अझ सांस्कृतिक र समावेशी बनाउँदै स्थानीय कलाकारहरूसँग होली पर्वको उल्लास साझा गरेको छ।
होलीको अवसरमा रेडियो स्टेशनमै भोजपुरी लोककलाका झंकारहरू गुन्जिए। स्थानिय चर्चित भोजपुरी कलाकार हरिलाल यादवको नेतृत्वमा रेडियो स्टूडियो रङ्गीन मात्र बनेन, साङ्गीतिक उत्सवको थलो पनि बन्यो। यादवले ‘उलारा’ शीर्षकको गीत प्रस्तुत गर्दै श्रोतामाझ होलीको शुभकामना पोख्नुभयोः
‘‘सवही के साथी रेडियो परासी, देला यी सूचना खबरिया,
जनताके साथे हरदम बाटे सवका हवे संगरिया ।
गीत संङ्गित मनोरन्जन देला विकासके लावे लहरिया,
जिल्लाके पहिला रेडियो स्टेशन खुलल परासी बजरिया ।।’’
यादवको मधुर स्वर र सारगर्भित शब्दले रेडियो परासीको भूमिकालाई पनि उजागर ग¥यो—सूचना र मनोरञ्जनको माध्यम मात्र नभई जनताको भावनाको साझा थलो।
होली पर्व परम्परागतरूपमा पहाडमा आज, तर तराई–मधेशमा भोलि अर्थात् शुक्रबार मनाइन्छ। यद्यपि नाममा फरक देखिए पनि ‘फागु’ र ‘होली’ एउटै उत्सवका दुई पहिचान हुन् । भौगोलिक र सांस्कृतिक विविधताको सुन्दर झल्को। त्यही उत्सवको विविधता कलाकार बजरंगीलाल यादवको गीतमा पनि झल्कियो। उनले लोकलयमा गुँथिएको मौसमी गीत प्रस्तुत गर्दै होलीको महत्वलाई सांगीतिक ढंगमा व्याख्या गरेः
“गोदनामे गादाला सहरिया गोरी, पेटेपर पोखरा परासी गोदावा,
बाँहेमे बुटवल नगरिया, गोदनामे गोदाला सहरिया गोरी ।
गालेके उपर गौर गोदावा, गर्दन पे गुल्मी नगरीया गोरी,
भवह के उपर भैरहवा गोदावा, काठमाडाैं कण्ठ मझरीया गोरी ।।”
गीतमा समावेश गरिएको स्थानहरू, भौगोलिक पहिचान र लोकशैलीले होली पर्वलाई एक सांस्कृतिक यात्राजस्तै बनायो।
त्यसैगरी, हरिलाल यादवले बाह्रै महिनाको ब्रमासा गीत मार्फत नेपाली ग्रामीण जीवनको भावबोध समेत प्रस्तुत गरेः
‘‘केही पर चुनरी रङ्गाउ रेवाली पिया परदेशवामे छाए,
चैतमास सित नाही ठेकाना तन बैशााख जनाई ।
जेष्ठ हेट तन तपती अगीनिया टिकुलि देख जिया जायी ।’’
पर्व मनाउने तरिका, शैली र नाम ठाउँअनुसार फरक–फरक हुन्छ। तर होलीको असली अर्थ भने सबै ठाउँमा एउटै हो । रङ्ग, खुशी र आपसको मेलमिलाप । यो पर्वमा मानिसहरू एक–अर्कासँग रङ्ग खेल्दै खुसी साटासाट गर्छन्।
परम्पराअनुसार, होलीभन्दा अघिल्लो रात “सम्मत दहन’’ गरिन्छ, जसले खराब कुरामाथि राम्रो कुराको जित भएको सन्देश दिन्छ। त्यसपछि अर्को दिन होली मनाइन्छ, जहाँ सबैले रङ्ग दल्दै एक–अर्कालाई शुभकामना दिन्छन् र आपसी प्रेम बढाउँछन्।
सामुदायिक रेडियो परासीको यो सांस्कृतिक कार्यक्रमले होलीको सामाजिक पक्षलाई उजागर ग¥यो, जहाँ रङ्ग मात्र होइन, आवाज, संगीत र भावनाहरू पनि साझा गरिन्छन्।