भैरहवा, फागुन २३ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ “ग्लोबल मनी विक (Global Money Week-GMW), 2025” मनाउने तयारी गरेको छ।
सन् २०१२ देखि Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष विश्वभर मनाइँदै आएको यस अभियानको यो १३औं शृङ्खला २०२५ मार्च १७ देखि २३ (२०८१ चैत ४ देखि १०) सम्म चल्नेछ। यस वर्षको नाराकारूपमा “Think before you follow, wise money tomorrow” तय गरिएको छ। हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवा यस अभियानबाट लाभान्वित भइसकेका छन्। नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा नेपालभर विविध कार्यक्रम आयोजना गरिनेछ।
यस अवसरमा सिद्धार्थनगर कार्यालयले विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। चैत ४ गते नारासहितको ब्यानर बनाई प्रभातफेरी कार्यक्रम सञ्चालन गरिनेछ, जसमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सक्रिय सहभागिता रहनेछ। वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धिका लागि यही चैत ४ देखि ११ गतेसम्म कार्यालयको अवलोकन, वित्तीय शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। यस कार्यक्रम नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयको सभाहलमा हुनेछ।
यसबाहेक, चैत ८ गते रुपन्देही जिल्लास्थित स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ। यस प्रतियोगिताले विद्यार्थीहरुलाई वित्तीय साक्षरताको महत्त्वबारे जानकारी गराउने विश्वास गरिएको छ।
नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्यका अनुसार, यस अभियानले युवाहरुमा वित्तीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। वित्तीय ज्ञान, सीप तथा व्यवहारको विकास गरी उनीहरुलाई आर्थिकरूपमा सशक्त बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले देशभरि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।