पूर्ण निःशूल्कमा ३२ जनाको घुँडा प्रत्यारोपण
लुम्बिनीखबर
सिद्धार्थनगर,१८ असोज । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा निःशूल्क घुँडा प्रत्यारोणका लागि आइतबार विरामीहरुलाई स्वागत गरी सोमबार र मंगलवार शल्यक्रिया सेवा कार्यक्रम गरेको हो ।
थाईल्याण्डको श्रीराज अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरुको टोली र सिद्धार्थनगर सिटी हस्पिटलका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरुको टोली द्वारा २८ जुलाई २०२३ मा लुम्बिनीको शान्ति दिप नजिकै रहेको पिस हार्मोनी सेन्टरमा करिव ८ सय जना विरामीहरुको हेल्थ स्क्रिनीङ्ग चेकजाँच क्याम्प संचालन गरिएको थियो ।
उक्त हेल्थ स्क्रिनीङ्ग क्याम्पबाट ३६ जना जटिल समस्या भएका विरामीहरु छनोट भएका थिए । जस मध्ये ३२ जना विरामीहरुलाई आइतबार सिद्धार्थनगर सिटी अस्पतालले स्वागत गरी सोमवार शल्यकिया सुरु गरेको अस्पताल स्रोतले जनाएको छ ।
निःशूल्क घुँडा तथा हिप प्रत्यारोपण शल्यक्रियामा सोमवार ३२ जनाको चेकजाँच गरी आइतवार १४ र सोमवार १८ जना गरी ३२ जनाको शल्यक्रिया गरेको अस्पताल स्रोतले जनाएको छ ।
लुम्बिनीस्थित थाइ राजकीय बिहारको पहल, थाइल्याण्ड सरकारको श्रीराज अस्पतालका विशेषज्ञ टिम र भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालको समन्वयमा विभिन्न जिल्लाका विपन्न परिवारका घुँडामा जटिल समस्या देखिएका विरामीहरुको सोमबार र मंगलबार सिटी अस्पतालमा निःशुल्क शल्यक्रिया गरेको सिटी अस्पतालका प्रवन्धक अर्जुन पौडेलले बताएका छन् ।
स्वदेशमा शल्यक्रियाका लागि निकै महंगो हुँदा उपचार गराउन नसकेका उनीहरु रोगका कारण खुट्टा सिधासमेत गर्न नसक्ने अवस्थामा थिए । अहिले विदेशी चिकित्सक नै आएर शल्यक्रिया गरेपछि खुशी भएका हुन् । दुई दिनसम्म भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा ३२ जनाको थाइल्याण्डबाट आएका चिकित्सकको टोलीले शल्यक्रिया गरेका हुन् । ३२ मध्ये १७ जना महिला र १५ जना पुरुष रहेको छन् । यीमध्ये पनि ३० जना जेष्ठ नागरिक रहेको प्रबन्धक पौडेलले बताएका छन् ।
शल्यक्रियाका लागि चिकित्सक र स्वास्थ्यकर्मी थाइल्याण्ड सरकारको सिरीराज अस्पतालले पठाएको हो । नेपालतर्फको आन्तरिक व्यवस्थापन भने सिटी अस्पतालले गरेको थियो । शल्यक्रियाका लागि थाइल्याण्डबाट १२ विशेषज्ञ चिकित्सक, १३ जना स्वास्थ्यकर्मी र ४५ जना दाता लगायत गरी ७० जनाको टिम आएको सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । ‘हामीले डाक्टरहरुलाई नेपालमा ल्याउन आवश्यक स्वीकृत लगायतको प्रबन्ध गर्यौं’, उनले भने, ‘लामो समयको तयारी पछि थाइल्याण्डको टिम यहाँ आएर शल्यक्रिया गरेका हुन् ।’
घुँडा तथा हिप प्रत्यारोपण सर्जरी सेवा प्रदान गर्नको लागि श्रीराज हस्पिटल थाईल्याणको हाडजोर्नी तथा नशा रोगका विभाग प्रमुख डा.किराती चेरेन्चोल्भन्चीको नेतृत्वमा विशेषज्ञ डाक्टरहरु, फिजियोथेरापिष्ट र नर्सिङ्ग कर्मचारी मेडिकल टिम र सिद्धार्थनगर सिटी अस्पतालका हाडजोर्नी तथा नशा रोग विभाग प्रमुख डा.जावेद अहमद खाँन लगायतले खटेर विरामीहरुको सेवा गरेका हुन्
अस्पतालका अनुसार शल्यक्रियामा सिटी अस्पतालका डाक्टरहरुका टीम पनि सहभागी थिए । थाइ चिकित्सकले यस क्षेत्रका धेरै अस्पतालहरुका अवलोकन गरेपछि सिटी अस्पताललाई उपयुक्त ठानेर विरामीको यही शल्यक्रिया गरेका हुन् । ‘पूर्वाधार, अस्पतालको वातावरण, विरामीको सहजता, प्रविधि सबै कुरा हेरेर बल्ल सिटी अस्पताल थाइ चिकित्सकको रोजाइमा परेको हो’, पौडेलले भने ।
थाइ सरकारको सिरीराज अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्रा.डा.किराती सी वानिचले बुद्ध भूमिमा आएर सेवा गर्न पाएकामा आफूहरु खुशी भएको जनाए । ‘हामीले पवित्र भूमिमा आएर सेवा गर्यौं, निकै खुशी छौं’, उनले भने, ‘समय र वातावरण मिल्यो भने आउँदा दिनमा पनि बुद्धभूमिबासीको सेवामा आउँछौं ।’ उनले छोटो समयमा धेरै विरामीको शल्यक्रिया गर्न सफल भएको सुनाए । सिटी अस्पतालमा प्रबन्ध निर्देशन पौडेलका अनुसार दुई दिनमै ३२ जना विरामीको शल्यक्रिया गरिएको नेपालका सन्दर्भमा पहिलो पटक भएको जनाए ।
गत जुलाईमा लुम्बिनीमा शिविर सम्पन्न गरे पछि गम्भीर समस्या देखिएकाहरुको निःशुल्क शल्यक्रिया गर्न लुम्बिनीमा रहेको थाइ बिहारले पहल गरेको थियो । सिद्धार्थ गौतम बुद्ध लुम्बिनीमा जन्मिए लगत्तै सात पाइला हिँडेकाले यस्तो पवित्र भूमिका बासिन्दालाई खुट्टाको रोग हुनु हुँदैन र उनीहरु निर्वाध हिँड्न पाउनु पर्छ भनेर शल्यक्रियाका लागि पहल गरिएको बिहारको भनाई छ । शल्यक्रियाका लागि थाइल्याण्डमा रहेका बौद्धमार्गीको दान सहयोगबाट औषधि लगायतका उपकरण लिएर चिकित्सको टिम भैरहवा आएका थिए ।
यसअघि थाइल्याण्डका ग्रामीण क्षेत्रमा यस्तो शल्यक्रिया शिविर सञ्चालन हुँदै आएकोमा पहिलो पटक देश बाहिर नेपालमा गरिएको हो । चिकित्सकका अनुसार नेपालमै घुँडाको शल्यक्रिया गर्नु परेमा कम्तिमा तीन–चार लाख लाग्छ । गरिब तथा विपन्नका लागि यो रकम जोहो गरेर उपचार गर्नै सकस पर्छ । ‘यो शिविरबाट गरिब तथा विपन्नले धेरै लाभ लिन पाए नै विशेषज्ञबाट उपचार पनि भयो’, पौडेलले भने ।
३२ जनालाई निःशूल्क रुपमा चाहिने औषधी तथा अन्य सामग्रीहरु वितरण गरी ४ देखि ५ घण्टा पछि हिलडुल गराउने कार्य समेत गरेको अस्पताल स्रोतले जनाएको छ ।
विरामीहरुका अनुसार हामीसंग आर्थिक रुपले औषधी उपचार गर्न सक्ने क्षमता नभएको हुँदा हामी निराश, कष्ट र पिडादायी रुपमा जीवन विताइरहेका थियौ तर श्रीराज अस्पताल र सिटी अस्पतालले गरेको निःशूल्क घुँडा प्रत्यारोपणबाट हामीले भोगिरहेका कष्टबाट हामी मुक्तभई नयाँ जीवन पाएको जस्तै अनुभुति भएको बताएका थिए । यो कार्यक्रम सिद्धार्थनगर सिटी अस्पतालमा सम्पूर्ण चिकित्सक, विरामी, अस्पतालका कर्मचारी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।