भैरहवा, फागुन २२ । रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ ले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीलाई ‘ह्विल लक’ हस्तान्तरण गरेको छ।
बिहीबार ट्राफिक प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मोहम्मद रफिक खाँनले ट्राफिक व्यवस्थापनका लागि १० थान ‘ह्विल लक’ जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी. लाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा प्रहरी निरीक्षक के.सी. ले मायादेवी गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्दै ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षाका लागि स्थानीय तहसँग निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। उहाँले अव्यवस्थित पार्किङ हटाउने, ट्राफिक नियम कडाइका साथ लागू गर्ने र सवारी अनुशासन सुधार्न प्रहरी अझ सक्रिय रहेको उल्लेख गर्नुभयो।
वडा अध्यक्ष खाँनले आफ्नो वडा सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। उहाँले ट्राफिक व्यवस्थापन सुधार तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैलाउने कार्यक्रम समेत सञ्चालन गरिने बताउनुभयो।
हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रहरी अधिकृतहरू, जवानहरू तथा मायादेवी गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बढ्दो ट्राफिक समस्या समाधानका लागि समन्वयात्मक पहल आवश्यक रहेको विषयमा छलफल समेत गरिएको थियो।
स्थानीय तह र ट्राफिक प्रहरीबीचको सहकार्यले रूपन्देहीमा ट्राफिक व्यवस्थापन सुधार हुने अपेक्षा गरिएको छ।