भैरहवा, फागुन २२ । रुपन्देहीको सदरमुकाम भैरहवा तथा आसपासका क्षेत्रमा अनियन्त्रित रूपमा सञ्चालन भइरहेका अटो तथा ई–रिक्साहरूलाई व्यवस्थित गर्न स्थानीय प्रशासनले कडा नियमन लागू गर्ने निर्णय गरेको छ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको अन्तरपालिका समन्वय बैठकले यसअघि भएका निर्णयहरूको कार्यान्वयन गर्दै अटो तथा ई–रिक्सा सञ्चालनलाई थप अनुशासित बनाउने निर्णय गरेको हो। बैठकमा सिद्धार्थनगर नगरपालिका, ओमसतिया, मायादेवी, सियारी गाउँपालिका तथा जिल्ला सुरक्षा समितिका प्रतिनिधिहरूको उपस्थिति थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार, तीनपाङ्ग्रे सवारी साधनहरूको दर्ता अझै पूरा नगरेका कतिपय गाउँपालिकाहरूले २०८१ चैत्र १० भित्र सम्पूर्ण कानूनी प्रक्रिया पूरा गर्नुपर्नेछ। यसअघि २०८१ माघ १३ मा बसेको बैठकले यातायात व्यवस्थापनबारे ठोस निर्णय गरिसकेको भए पनि कतिपय स्थानीय तहहरूले कार्यान्वयन नगरेको जनाइएको छ।
त्यस्तै, २०८१ चैत्र ११ देखि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी तथा पालिका प्रहरीहरूले अटो तथा ई–रिक्साहरूको कागजात नियमित रूपमा जाँच गर्नेछन्। यस क्रममा अवैधरूपमा सञ्चालनमा रहेका सवारीसाधनहरूलाई नियन्त्रणमा लिई सम्बन्धित पालिकाको कानूनी प्रावधानअनुसार कारबाही गरिनेछ।
नगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका अटो तथा ई–रिक्साहरूले ट्राफिक व्यवस्थापनमा अवरोध पु¥याएको भन्दै कडा नियमन आवश्यक रहेको जनाएको छ। अनियन्त्रित सवारी व्यवस्थापनले दुर्घटना तथा ट्राफिक जाम बढ्दै गएकाले अब नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिने चेतावनी समेत दिइएको छ।
सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आगामी दिनमा थप कडाइका साथ नियम लागू गर्ने स्पष्ट संकेत दिएको छ।