logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कोटहिमाईका दुई पाल (गडेरीया) संघर्षका साथ आफ्नो पहिचान जोगाउँदै


    १९ मंसिर २०८२ , शुक्रबार

    कोटहिमाईका दुई पाल (गडेरीया) संघर्षका साथ आफ्नो पहिचान जोगाउँदै

    झब्बर यादव । असलम खाँन

    मर्चवार । तराईको समथर फाँट रुपन्देही जिल्लाको कोटहिमाई गाउँपालिका वडा नं. ५ मा पर्ने देवनबक्सापुर गाउँमा बिहानको किरणसँगै भेडाको घण्टीको मधुरो ध्वनि गुञ्जिन्छ । त्यही ध्वनिसँगै उठ्छन् नारायण पाल र रामायण पाल । दुवै दाजुभाइ । दुवैको उमेर पचास नाघिसकेको छ । दुवैको जीवनको केन्द्रबिन्दु एउटै छ – भेडा पालन ।

    “हाम्रो थर नै पाल (गडेरिया) हो, हामी भेडा नपाले कसले पाल्ने ?” नारायण मुस्कुराउँदै भन्छन्, “यो हाम्रो थरको काम हो, हाम्रो पहिचान हो ।”

    पाल समुदाय तराईका आदिवासी मध्ये एक हो । उनीहरूको परम्परागत पेसा भेडा–बाख्रा पालन र चराउनु हो । बाजा बजाएर, लठ्ठी लिएर भेडाको बथान हाँक्दै हिँड्ने यो समुदायको छवि तराईका गाउँहरूमा अझै जीवित छ । तर समय बदलियो । खेतीयोग्य जमिन घट्यो, चरण क्षेत्र मासियो, बजारमा विदेशी ऊन र मासुको बिगबिगी बढ्यो । धेरै पालहरू शहर पसे, विदेश गए । तर नारायण र रामायन अडिग छन् ।

    बिहान ५ बज्न नपाउँदै नारायणको गोठ खुल्छ । १ सय ५० वटा भेडा एकैचोटि बाहिर निस्कन्छन् । सेता, काला, खैरा – सबै जातका भेडा छन् । कोही मोटा घाँटी भएका ‘लख्खा’, कोही लाम्चा कान भएका ‘डुम्वा’ । नारायणले सबैको नाम राखेका छैनन् तर हरेकको बानी थाहा छ । कुन भेडा कुन बेला बिरामी पर्छ, कुनले कति ऊन दिन्छ, कुन बच्चा कुन आमाको हो – सबै हिसाब दिमागमै छ ।

    रामायन अलि ढिलो उठ्छन् । उनीसँग १ सय २५ वटा भेडा छन् । दुवै दाजुभाइले आ–आफ्नै गोठ बनाएका छन् तर चराउन सँगै जान्छन् । बिहानको खाना खाएर ७ बजेतिर दुवै चौरतर्फ लाग्छन् । कहिले जंगल, खेतबारी, नदीको किनारा, कहिले भैरहवातर्फको खोलाको किनार, कहिले लुम्बिनीको वन क्षेत्र । दिनभरि १०–१५ किलोमिटर हिँड्छन् ।

    “पहिला त हाम्रो पुर्खाले तराईदेखि पहाडसम्म भेडा लिएर जान्थे,” रामायण सम्झन्छन्, अहिले त जंगल पनि घट्यो, चरण क्षेत्र पनि खोसियो ।”

    उनीहरूका बाउबाजेले भेडा पालेरै छोराछोरी हुर्काए, छोरीको बिहे गरे, छोरालाई पढाए । तर अहिलेको पुस्ता भेडा पालनतर्फ खासै आकर्षित छैन । नारायणका दुई छोरा छन् । 

    “हामीले धेरै सम्झायौं,” नारायण भक्कानिएर भन्छन्, “तर उनीहरूलाई यो काम गाह्रो लाग्छ । दिनभरि घाममा हिँड्नुपर्छ, वर्षातमा भिज्नुपर्छ, चोरको डर, महामारीको डर ।”

    भेडा चोरी, महामारी अहिले पनि ठूलो समस्या छ । दुई वर्षअघि नारायणका महामारीका कारण धेरै भेडा मरे । त्यसयता उनीहरू नियमित चेकजाँच गरेर बस्छन् ।

    भेडाको ऊन र मासुले उनीहरूको घर चल्छ । एउटा भेडाको ऊनले वर्षमा २–३ हजार आम्दानी हुन्छ । मासु बेच्दा १५–२० हजार । तर खर्च पनि उत्तिकै छ । दाना, औषधि, गोठ मर्मत । त्यसमाथि बिरामी प¥यो भने त झनै ठूलो घाटा ।

    “पहिला त हामीले दशैंमा ५०–६० वटा भेडा बेच्थ्यौं,” नारायण भन्छन्, “अहिले त १५–२० वटा पनि बेच्न गाह्रो छ । बजारमा बाहिरबाट र भारतबाट मासु आउँछ, सस्तो पर्छ ।”

    तर पनि उनीहरूले भेडा पालन छोडेका छैनन् । किनभने यो उनीहरूको लागि जीविका मात्र होइन, पहिचान पनि हो । गाउँमा कसैले ‘पाल’ भन्यो भने भेडा चराउने भनेर बुझिन्छ । 

    “हाम्रो सन्तानले नगरे पनि हामी त मर्दासम्म यही गर्छौं,” रामायण दृढतापूर्वक भन्छन्, “यो हाम्रो रगतमा छ ।”

    दिउँसो ३ बजेतिर भेडा लिएर फर्कन्छन् । गोठमा पानी हालिदिन्छन्, दाना हालिदिन्छन् । भेडाको पालनबाट आवश्यकता पुरा गर्न धौधौ परेको छ । राति ९ बजेतिर सुत्छन् । फेरि बिहान ५ बजे उठ्नुपर्छ । यो दिनचर्या वर्षौंदेखि चलिरहेको बताउँछन् ।

    सरकारले पाल समुदायलाई ‘अति सीमान्तकृत’ मा राखेको छ । तर उनीहरूलाई खासै सुविधा पुगेको छैन । न त चरण क्षेत्रको व्यवस्था, न त भेडा बीमा, न त उनीहरूलाई ऋण । कहिलेकाहीं गाउँपालिकाबाट केही घाँसको बीउ आउँछ, त्यति हो ।

    “हामीले त आफैं लडेर बाँच्यौं,” नारायण भन्छन्, “हाम्रा छोराछोरीलाई त शहरको सजिलो जीवन मन पर्छ । तर हामीलाई त यो गाह्रो भएको छ, यो भेडाको बथान नै स्वर्ग जस्तो लाग्छ ।”

    साँझको घाम ढल्कंदै गर्दा दुवै दाजुभाइ गोठको छेउमा बसेर चिया पिउँछन् । भेडाहरू आरामले सुस्ताइरहेका हुन्छन् । गोठबाट आएको आवाज उनीहरुका लागि घण्टीका हो । यो आवाज उनीहरूको जीवनको संगीत पनि हो ।

    “जबसम्म हातखुट्टा चल्छ, तबसम्म भेडा चराउँछौं,” रामायण मुस्कुराउँदै भन्छन्, “मरेपछि पनि हाम्रो अन्तिम यात्रामा भेडाकै घण्टी बजोस् ।”

    देवनबक्सापुरको त्यो सानो गोठमा दुई दाजुभाइले आफ्नो पुर्खाको पेसा मात्र जोगाइरहेका छैनन्, एउटा सम्पूर्ण संस्कृति र पहिचानलाई जीवित राखिरहेका छन् । बदलिँदो समयमा पनि उनीहरूको लठ्ठी लिएर तराईको फाँटमा भेडासंग हुन्छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.