लुम्बिनीखबर
लुम्बिनी, २० जेठ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ केवटलिया टोलमा भइरहेको सडक तथा नाली निर्माण कार्य अहिले ठूलो विवादमा फसेको छ।
स्थानीय पीडितहरूले वडा अध्यक्ष इनामुल्लाह फकिर लगायत सम्बन्धित पक्षले पदको दुरुपयोग गर्दै निजी जग्गा अतिक्रमण गरेको, कमसल सामग्री प्रयोग गरेको र विरोध गर्नेलाई दबाउने प्रयास गरेको आरोप लगाएका छन्।
पीडितहरूका अनुसार ठूलो केवटलियाको उत्तरतर्फ अलगु यादवको नम्बरी जग्गा र दक्षिणतर्फ बर्खु यादव, सर्वजित कोहार, चनरजित कोहार, शिवप्रसाद कोहार, तपेसरी कोहारको जग्गाको बीचमा नै ५८ फिट चौडाइको पर्याप्त सार्वजनिक बाटो रहेको छ। तर पनि निर्माण पक्षले बिना सहमति निजी जग्गामा डोजर चलाएर अतिक्रमण गरेको छ।
“हाम्रो जग्गा छ, बोटबिरुवा छन्, तर उनीहरूले जथाभावी डोजर चलाए। विरोध गर्दा नगर प्रहरी बोलाएर हातपात नै गरे,” पीडितहरूले गुनासो पोखे।
स्थानीयहरूको भनाइ छ – सानो केवटलियादेखि ठूलो केवटलियासम्म अन्यत्र ३२ फिटमै सडक बनाइएको छ, तर यहाँ मात्र ३६ फिटसम्म बनाउने प्रयास भइरहेको छ, जसले स्पष्ट रूपमा व्यक्तिगत स्वार्थ र पक्षपात देखिन्छ।
सडक निर्माणको गुणस्तरमाथि पनि गम्भीर प्रश्न उठेको छ। पीडितहरू भन्छन् सडकको सोलिङदेखि माथिल्लो तहसम्म कमसल गिट्टी, बालुवा र न्यून सिमेन्टको प्रयोग भइरहेको छ। कतिपय ठाउँमा मापदण्ड विपरीत ठूला ढुङ्गाहरू राखिएको छ। नाली निर्माण पनि कमजोर देखिन्छ। “यो सडक दुई वर्ष पनि टिक्दैन। पैसा भने करोडौंको भुक्तानी हुन्छ,” स्थानीयहरूको आक्रोश छ।
पीडित पक्षले स्पष्ट भनेका छन् – हामी विकास विरोधी होइनौं। विकास हुनुपर्छ, तर विकासको नाममा निजी सम्पत्तिमाथि अतिक्रमण, बल प्रयोग र कमसल काम गर्न पाइँदैन।
उनीहरूले वडा अध्यक्ष इनमुल्लाह फकिर, प्राविधिक र ठेकेदारबीच मिलेमतो रहेको आशंका समेत व्यक्त गरेका छन्। पटक-पटक ध्यानाकर्षण गर्दा पनि “इस्टीमेटअनुसार काम भइरहेको छ” भन्ने जवाफ मात्र दिइएको उनीहरूको गुनासो छ।
निर्माणस्थलका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्। तर अहिलेसम्म सम्बन्धित निकायले कुनै प्रभावकारी अनुगमन वा छानबिन गरेको देखिएको छैन।
तत्काल निष्पक्ष छानबिन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने, कमसल सामग्री प्रयोग भएमा ठेकेदार र प्राविधिकलाई कारबाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने पीडितहरूले माग गरेका छन् ।
यो घटनाले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र न्याय को कति ठूलो अभाव छ भन्ने देखाएको छ। अब लुम्बिनी सांस्कृतिक नगरपालिकाले पीडितहरूको आवाज सुनेर निष्पक्ष रूपमा समस्या समाधान गर्छ कि पदाधिकारीको बचाउमा लाग्छ ? स्थानीयवासीहरूले चासोका साथ हेरिरहेका छन्। पीडितले भन्छन् “हामीलाई विकास चाहिन्छ, तर अन्याय सहन सक्दैनौं।”