लुम्बिनीखबर
भैरहवा, २६ असोज । रुपन्देहीको तिलोत्तमामा स्थानीय उत्पादनको बजारीकरण, औद्योगिक विकास तथा व्यापार, कृषि, प्रविधि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघले आगामी मंसिर ३ देखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका–४, मणिग्रामस्थित अस्थायी प्रदर्शनीस्थलमा मेला सञ्चालन गर्न लागेको हो । मेलाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा संघले पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको जनाएको छ ।
संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले मेलामा ३५० भन्दा बढी स्टल रहने जानकारी दिनुभयो । औद्योगिक उत्पादन, व्यावसायिक सामग्री, कृषि उपज, सूचना प्रविधि, पर्यटन तथा अन्य सेवासम्बन्धी प्रदर्शनी मेलाका प्रमुख आकर्षण रहने उहाँले बताउनुभयो । होटल व्यवसायका लागि २० वटा स्टल छुट्याइने र अटोमोबाइल तथा सूचना प्रविधिसम्बन्धी स्टलको व्यवस्थापन मागअनुसार गरिने उहाँको भनाइ छ । मेलामा व्यापारिक प्रदर्शनीसँगै बाल उद्यान, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिनेछ । प्रवेशद्वारमा लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथका संरचनाको झल्को दिने सजावट गरिने आयोजकले जनाएको छ । यसबाट नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई मेलामार्फत प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।
जलवायु परिवर्तनसम्बन्धी जनचेतनामूलक सामग्री, तिलोत्तमाभित्रका पर्यटकीय तथा धार्मिक स्थलको जानकारी र नैतिक शिक्षासम्बन्धी प्रदर्शनीलाई समेत मेलामा समावेश गरिने अध्यक्ष कार्कीले बताउनुभयो । उहाँका अनुसार मेलालाई व्यापारिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक चेतना अभिवृद्धि, स्थानीय उद्यमशीलताको विकास र साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गर्ने अवसरका रूपमा अघि बढाइनेछ । कृषि, उद्योग, व्यापार, प्रविधि र पर्यटन क्षेत्रलाई एउटै स्थलमा जोडेर स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउने तथा रोजगारीका अवसर विस्तार गर्ने मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ । यसबाट तिलोत्तमाको आर्थिक गतिविधि विस्तार हुनुका साथै उद्योगी, व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
मेलामा प्रवेशका लागि सर्वसाधारणलाई रु १५० र विशेष कार्यक्रम तथा कन्सर्टका लागि रु ४०० देखि रु ५०० सम्मको टिकट निर्धारण गरिएको छ । ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिका तथा परिचयपत्रका आधारमा अपाङ्गता भएका व्यक्तिले पनि निःशुल्क प्रवेश पाउनेछन् । नगरपालिकाको सिफारिसमा आउने २५ जनासम्मको समूहलाई निःशुल्क प्रवेश दिइने र विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा ५० प्रतिशत छुट उपलब्ध गराइने आयोजकले जनाएको छ ।
मेलालाई व्यवस्थित, सुरक्षित र वातावरणमैत्री बनाउन सम्बन्धित सरकारी निकाय, वित्तीय संस्था, शैक्षिक संस्था, सामाजिक संघसंस्था तथा निजी क्षेत्रसँग सहकार्य गरिने संघले जनाएको छ । आयोजकले उद्योगी, व्यवसायी र सर्वसाधारणलाई मेलाको सफलताका लागि सहयोग गर्न आग्रह गरेको छ । मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन् । साथै, स्वदेशी उत्पादनको प्रदर्शनी तथा बजारीकरणलाई प्राथमिकता दिइने संघले जनाएको छ ।