logo
  • १६ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    पत्रकार पक्राउ परेका होइनन्, छलफलका लागि साइबर ब्युरोमा बोलाइएको प्रहरीको स्पष्टोक्ति


    १६ कार्तिक २०८३ , आइतबार

    पत्रकार पक्राउ परेका होइनन्, छलफलका लागि साइबर ब्युरोमा बोलाइएको प्रहरीको स्पष्टोक्ति

    लुम्बिनीखबर
    काठमाडौं,१५ कार्तिक । नेपाल प्रहरीले केही सञ्चारकर्मीलाई पक्राउ नगरेर पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रहरीविरुद्ध प्रकाशित र प्रसारित भइरहेका समाचार तथा सन्देशका विषयमा छलफल र जानकारी लिन कार्यालयमा बोलाइएको स्पष्ट पारेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले उनीहरूलाई पक्राउ नगरिएको जनाएको हो । प्रहरीले उक्त कार्यलाई अनुसन्धानका क्रममा तथ्य, सत्यता र कानुनी आधारबारे सामान्य जानकारी लिने उद्देश्यले गरिएको छलफलका रूपमा व्याख्या गरेको छ ।

    नेपाल प्रहरीका अनुसार पछिल्ला दिनमा प्रहरीविरुद्ध गलत समाचार तथा सन्देश सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निरन्तर प्रचार भइरहेको सन्दर्भमा त्यसबाट प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी सङ्गठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा पर्न सक्ने प्रभावबारे प्रधानमन्त्री कार्यालयबाट समेत चासो व्यक्त भएको थियो । सोही चासोलाई सम्बोधन गर्दै साइबर ब्युरोले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीको सत्यता, तथ्यपरकता र कानुनी आधारका विषयमा जानकारी लिने उद्देश्यले केही पत्रकारलाई कार्यालयमा बोलाएको प्रहरीको भनाइ छ ।

    प्रहरीले सञ्चारमाध्यममा आएका कतिपय समाचार तथा सन्देशले जनमानसमा नकारात्मक धारणा सिर्जना गर्ने र अनुसन्धान प्रक्रियामा समेत प्रभाव पार्न सक्ने अवस्था रहेकाले यस विषयमा राज्यको चौथो अङ्गका प्रतिनिधिसँग छलफल गरिएको जनाएको छ । प्रहरीका अनुसार सञ्चारमाध्यममा आएका सबै समाचारलाई पुष्टि नभई सत्य मान्न नसकिने र तथ्यहीन तथा कपोलकल्पित सामग्रीको प्रचारले प्रहरी सङ्गठनप्रतिको जनविश्वासमा असर पर्न सक्ने भएकाले त्यसको वास्तविकता बुझ्नु आवश्यक रहेको छ ।

    नेपाल प्रहरीले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति आफ्नो सङ्गठन सदैव सकारात्मक र प्रतिबद्ध रहेको उल्लेख गर्दै पत्रकारसँगको छलफललाई पक्राउ वा नियन्त्रणको घटनाका रूपमा नबुझ्न आग्रह गरेको छ । सुरक्षित समाज निर्माणका लागि प्रहरी र सञ्चारमाध्यमबीच आपसी विश्वास, सहकार्य र जिम्मेवार सञ्चार आवश्यक रहेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.