logo
  • १६ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    गुणस्तरीय शिक्षा दिने विद्यालयलाई पुरस्कृत गर्ने रोहिणीको नीति, १६ विद्यालयलाई सामग्री सहयोग


    १६ कार्तिक २०८३ , आइतबार

    गुणस्तरीय शिक्षा दिने विद्यालयलाई पुरस्कृत गर्ने रोहिणीको नीति, १६ विद्यालयलाई सामग्री सहयोग

    लुम्बिनीखबर
    भैरहवा, १५ कात्तिक । रुपन्देहीको रोहिणी गाउँपालिकाले सरकारी नीति, कानुनी व्यवस्था र निर्धारित शैक्षिक मापदण्डअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा पुरस्कृत गर्ने नीति अघि सारेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार र शैक्षिक सामग्री उपलब्ध गराउनेदेखि शिक्षण सिकाइको उपलब्धि मूल्याङ्कनसम्मका विषयलाई प्राथमिकतामा राखेको गाउँपालिकाले मापदण्ड पूरा गरी उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने विद्यालयलाई थप सहयोग र प्रोत्साहन गर्ने जनाएको छ । गाउँपालिकाले यसैक्रममा पालिकाभित्रका १६ वटै सामुदायिक विद्यालयलाई वाटर डिस्पेन्सर र खेलकुद सामग्री उपलब्ध गराएको छ । विद्यालयको आवश्यकता र मागका आधारमा डेस्क–बेन्चसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८३/८४ मा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विनियोजित बजेटबाट उक्त सामग्री खरिद गरिएको हो ।

    गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने र विद्यालयले पनि सरकारी नीति, नियम तथा शैक्षिक मापदण्ड पालना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । मापदण्डअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्दै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने विद्यालयलाई गाउँपालिकाले प्रोत्साहन र सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । शिक्षामा गरिएको लगानीको प्रतिफल विद्यार्थीको शैक्षिक उपलब्धि र विद्यालयको समग्र गुणस्तरमा देखिनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले विद्यालयमा आवश्यक पूर्वाधार, खानेपानी, फर्निचर तथा खेलकुद सामग्रीको व्यवस्था गर्दै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

    उहाँले विद्यालयको भौतिक सुविधा विस्तारसँगै शिक्षकको जिम्मेवारी, विद्यालय व्यवस्थापन र विद्यार्थीको सिकाइ उपलब्धिमा समेत सुधार आउनुपर्ने उल्लेख गर्नुभयो । सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन विद्यालय स्वयंले पनि गुणस्तर सुधारमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले गाउँपालिकाको नीति, कानुन तथा सरकारले निर्धारण गरेका शैक्षिक मापदण्डलाई प्राथमिकतामा राखेर काम गर्ने विद्यालयलाई प्रोत्साहन गरिने बताउनुभयो । विद्यालयको शैक्षिक वातावरण, व्यवस्थापन, शिक्षण सिकाइ र गुणस्तर सुधारमा देखिएको उपलब्धिका आधारमा उत्कृष्ट विद्यालयलाई गाउँपालिकाबाट पुरस्कृत गर्ने नीति अघि बढाइने उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले गाउँपालिकाबाट उपलब्ध गराइएका शैक्षिक तथा खेलकुद सामग्रीको उचित प्रयोग र संरक्षण गर्न विद्यालय प्रशासनलाई आग्रह गर्दै सरकारी लगानीको उपलब्धि विद्यार्थीको सिकाइमा देखिनुपर्ने बताउनुभयो । शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भट्टराईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारसँगै शिक्षण विधि, शिक्षकको सक्रियता, विद्यार्थीको नियमित उपस्थिति र सिकाइ उपलब्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । उपलब्ध शैक्षिक सामग्रीको सदुपयोग, विद्यालयको नियमित अनुगमन र शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउने विषयलाई सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।गाउँपालिकाले विद्यालयको आवश्यकता पहिचान गरी शैक्षिक सामग्री तथा पूर्वाधारमा सहयोग गर्ने र गुणस्तरीय शिक्षाका लागि निर्धारित मापदण्डअनुसार काम गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.