नजरमा कैद भएका दृष्यहरु र ह्रदयमा मच्चिएका आभाहरु शब्दमा उतार्न कठिन लाग्छ । केही छुट्लान् भनेर । केहीको प्रशंसा कम होला भनेर । केही अलि बढी होला भनेर । अनि केही छायामा पर्छन् कि भनेर । ति रुमानी सम्झनाहरुलाई यहाँ चित्रित गर्ने कोशिस गरेको छु ।

लेखक ः मोहन राना
यदि लेख्दा व्याख्या कम हुन गएमा वा अनायास चोट लाग्न गएमा म क्षमा चाहन्छु । तिन दशक अधि देखि बिधीवत रुपमा राज्य व्यवस्थाले म्यानमार भनिएपनि मैले यहाँ बर्मा राखेको छु । मुलत बर्मा मेरो यो आलेखसँग सुन्दरता, आकर्षण र पठनियताको सम्बन्ध छ । सताब्दी लामो इतिहास बोकेको नागरिक तहको सम्बन्ध । बर्षौ अधि देखि नेपालबाट काम गर्न जाने र कोही त्यही बसेका नेपाली भाषीसँगको सम्बन्ध । दोस्रो विश्व युद्धमा आफ्नो बलिदान दिएका गोर्खालीसँगको सम्बन्ध । हामीले हाम्रो भ्रमणमा मुलत बर्माका तिनवटा शहरमा केन्द्रित थियो । याङ्गोन, माण्डली र बगान । याङ्गोनबाट विषयको उठान गरौ ।
बर्मा र बुद्धको सम्बन्ध दुई हजार पाँचसय बर्ष पुरानो छ । त्यसबेलाका दुई व्यापारी तपुस्सा र भल्लिकाले बुद्धले ज्ञान प्राप्त गरेपछि खाना, मह आदि खानकालागि अनुरोध गरेका थिए । जुन बुद्धले बुद्धत्व प्राप्त गरेपछि खाएको पहिलो आहार मानिन्छ । त्यसपछि बुद्धले उनीहरुलाई आठ ओटा कपालका रौहरु दिए । ति व्यापारी दाजुभाईले ति रौं लाई लगेर त्यसबेलाका अक्कलाका राजा अक्कलापतिसँग सल्लाह गरेर बोटाटुवाङ प्यागोडाको निर्माण गरे । दोस्रो विश्वयुद्धताका त्यो खण्डहर बन्यो । पछि खण्डहरलाई सफाई गर्नेबेलामा ति पुराना अवशेष फेरी फेला परेपछि पुर्नस्थापनाको काम भयो । आजपनि त्यो असाध्यै कलात्मक तरवले सजाईरको छ । सर्वसाधारणलाई हेर्नका लागि राम्रो व्यवस्था गरिएको छ । सर्वसाधारणले हेर्न जादा लामो सट र तल पाइन्ट लगाएर जानु पर्ने प्रावधान छ । जुत्ता र मोजा पनि खोलेर जानुपर्ने नियम छ । फोटो खिच्न प्रतिवन्ध गरिएको छ । छोटा लुगा, जागे वा हाफ पाइनटमा जान भने निषेध गरिएको छ ।
याङ्गोनमा अर्को महत्वपूर्ण प्यागोडा सिडागोन प्यागोडा हो । यो प्योगाडा याङ्गोनको सबैभन्दा अग्लो भागमा २६०० सय बर्ष पहिले निर्माण गरिएको छ । सम्भवत यो संसारको सबै भन्दा पुरानो प्यागोडा मानिन्छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओवामाले यो प्यागोडाको भ्रमण गरेपछि नयाँ पुस्ताहरुका लागि यसको चर्चा अझ चुलिन गएको हो । सिडागोन प्यागोडालाई करिव चार हजार किलो सुनको छानाले सिगारिएको छ । प्यागोडाको टुप्पोमा ७२ क्यारेटको मोती राखिएको छ । प्यागोडाको वरिपरि श्रद्धालुहरुलाई आफ्नो जन्मवारको आधारमा पानी चढाउने व्यवस्था छ । यहाँ पानी चढाएमा मनोकांक्षा पुरा हुने विश्वास रहेको छ । यो प्यागोडाको परिसरमा अन्य थुपै ससाना प्यागोडाहरु पनि छन् । यहाँ कासको सबै भण्दा ठुलो घण्टी छ जसको तौल करिब ४५ टन रहेको छ । यस प्यागोडाको परिसरमा विहारको गयाबाट बिउ लगेर उमारिएको पिपलको रुखपनि छ जसलाई मानिसहरु श्रद्धाले पुज्दछन् । यहाँ दैनिक कम्तिमा पचास हजार र बढीमा नब्बेहजार जति आन्तरिक तथा बाह्य मानिसहरु हेर्न, पुजा गर्न आउने गर्दछन् । बाह्य पर्यटकहरुकालागि भने प्रवेश शुल्क पाँच डलर तिर्नु पर्दछ ।
सन् १९५४ देखि १९५६ मा दुई बर्षसम्म याङ्गोनको “महापसना गुहा” वा “ठुलो गुफा” मा छैठौं संघायान भएको थियो । यो गुफा मानव निर्मित गुफा हो । जहाँ विभिन्न देशका २५ सय भिख्खुहरुले लगातार दुई बर्षसम्म बिभिन्न भाषामा लेखिएका त्रिपिटकलाई गहन ढंगले अध्ययन गरि छलफल गरेका थिए । यो संघायानको अन्तमा उनीहरुले तात्यिक भिन्नता वा अन्तर देखेनन् । जुन देशको भाषा वा लिपीमा भएपनि सार एउटै हुन गयो । अध्ययन अनुसन्धानका लागि यति ठुलो अवसर दिएर ज्ञान वा प्रज्ञालाई एउैे निचोडमा पु¥याउन राज्यले गरेको तदारुकता र लगानी अनुकरणिय छ । सामाजिक सम्पत्ति प्रति राज्यको चासो झल्काउछ । नागरिकको मनोभावना प्रति सरकारको सदाशयता देखाउछ । त्यसैले त बर्मा सम्पदा संरक्षणमा संसार भरिकालागि अनुकरणिय छन् । संसारको विरासत बनेको छ । साझा सम्पत्ति । आजपनि त्यस स्थान जस्ताको तस्तै सुरक्षित छ । पर्यटकका लागि हेर्ने स्थान बनेको छ । भिख्खुहरु बसेका काठका कुर्ची मक्किएका कारण त्यसलाई विस्थापित गरि अहिले प्लाष्टिकका कुर्चीहरु राखिएका छन् ।
अव याङ्योनबाट माण्डली तिर लागौ । माण्डली सन् १८८५ मा बृटिस सामराज्यको औपनिबेस हुनु भन्दा अगाडीको राजधानी हो । यो याङ्गोनबाट करिब सातसय किमि टाढा छ । माण्डलीे शहर एरावति नदिको किनारमा अवस्थित छ । यो बर्माको दोस्रो ठुलो शहर हो । सन् १८७१ मा यस ठाँउमा पाचौ संघायानकालागि त्यसबेलाका राजा मिन्डोनले अहम भूमिका खेलेका थिए । यो संघायानको मुख्य उद्देष्य गौतम बुद्धको शासनलाई वाचन गर्नु थियो । भविष्यमा यो लोप नहोस भनेर राजा मिन्डोनले ७२९ वटा स–साना प्यागोडा बनाएर त्यो भित्र त्यतिनै संख्यामा ढुङ्गाको मार्वलमा शिला लेखको रुपमा पाली भाषामा केही भिख्खुहरु र शिल्पकारहरुले त्रिपिटक उतारेका थिए । त्यसैले यसलाई संसारको सबैभन्दा ठुलो पुस्तक पनि मान्ने गरिन्छ । ति सवै प्यागोडाहरुको बाहिरी भागमा सेतो रंङ्गले पोतिएको छ । सन् २००३ मा यसलाई युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ ।
माण्डली पहाड उत्तिकै ऐतिहासिक छ । भारतको उत्तराखण्ड तथा हिमाचल प्रदेशमा एउटा प्रसिद्ध कहावत छ “पहाडका पानी और पहाडका जवानी कभी पहाड के काम नही आते” । नरेन्द्र मोदी भारतका प्रधानमन्त्री भएपछि सन् २०१४मा नेपालको संविधान सभामा उनले आफ्नो मन्तव्यमा पनि यस कहावतलाई जोडेर सभासद तथा सारा नेपालीहरुको मन जितेका थिए । माण्डली हिल प्यागोडा झण्डै एक हजार बर्ष पुरानो हो । यहाँ बुद्धको दात चीनबाट सन् १०२८ तिर ल्याएको विश्वास गरिन्छ । यो पहाडमा हिडेर जान चारै दिशाबाट बाटाहरु छन् भने हिजो आज सहजताका लागि गाडीजाने बाटो पनि बनाइएको छ । हिड्न नसक्नेहरुका लागि लिफ्टको पनि व्यवस्था गरिएको छ । यो पहाडबाट सुर्य अस्त हेर्न तथा प्यागोडाको दर्शनगरि आफ्नो मनोकांक्षा पुरा गर्न हजारौ यात्रीहरुको घुइचो लाग्छ । सन् १९४५ दोस्रो विश्व युद्धको बेला गोर्खा सैनिकले गरेको बहादुरीलाई पनि स्मरण गरि यस माण्डली हिल प्यागोडामा लेखिएको छ । माण्डली हिल प्यागोडाबाट एरावती नदी र यसको किनारमा अवस्थित माण्डली शहर राम्रोसँग देख्न सकिन्छ ।
महामुनी प्यागोडा माण्डली शहरको दक्षिणतिर अवस्थित छ । यो प्यागोडामा पनि सुनको बुद्धको विशाल मुर्ति छ । यो बुद्धको मुर्तिलाई हरेक दिन विहान ४ बजे देखि सिनियर भिख्खुबाट नयाँ बस्त्र लगाई दिने, मुख धोइ दिने, दात माझी दिने प्रचलन छ । श्रद्धालुहरुले पनि मुर्तिको चेहेरा पुछ्नकालागि सानो कपडा दिने चलन पनि छ र यो कपडालाई श्रद्धालुहरुले घरमा लगेर राख्ने चलन पनि छ । सबेरै उठेर गएमा ति बिद्यी तथा क्रियाकलापहरु प्रतक्ष्य रुपमा हेर्न पाईन्छ । डिजिटल बोर्डबाट पनि प्रतक्ष्य प्रसारण गरिएको छ । सुरक्षा व्यवस्थापनि राम्रो मिलाइएको छ । श्रद्धालुहरुले ल्याएको फूल प्रसाद चडाउने चलनपनि छ । प्यागोडाको परिसर भित्रनै जल र सुनौलो रंङ्गको प्रसाद जस्तो चप्किने स्वभावको एक डलरमा किन्न पाईन्छ जसलाई बर्मेली भाषामा सुथिङ्गन भनिन्छ र त्यसलाई बुद्धको मुर्तिमा टास्ने व्यवस्था श्रद्धालुहरुलाई पनि छ । यसरी टासीसकेपछि त्यहाँ भएका सुनका टुक्राहरु जम्छन् र सुरक्षित हुन्छन् भन्ने मान्यता छ । महामुनी प्यागोडाको परिसरमा श्रद्धालुहरु लाई शौचालयको व्यवस्था राम्रो गरिएको छ । यी शौचालयहरु अपांङ्गमैत्री छन् । महिला मैत्री छन् ।
अव माण्डलीबाट बगान तिर लागौ । बगान सभ्यताको बिकास ११ देखि १३ औ शताब्दीमा भएको मानिन्छ । यो बगान सभ्यता आजको बर्माको सांस्कृर्तिक आधारपनि हो । बगान सभ्यताको समयमा करिब दश हजार साना ठुला प्यागोडाहरु बनेको पाईन्छ । प्राचिन बगान करिब ४२ किमि क्षेत्रफलमा फैलिएको छ । इतिहासलाई हेर्दा बगान सभ्यता त्यसबेलाको निकै समृद्ध राज्य व्यवस्था देखिन्छ । त्यसबेलाका त्यहाँका राजा, मन्त्रीहरु, जनताहरु सबैले बुद्धप्रति सम्मान, लगाव र विश्वास देखिन्छ । त्यसको मुल आधार आज त्यहाँ भएका सयौ प्यागोडाहरु हुन् । सन् १९७५, सन् २०१६ मा भएको भूकम्पका कारण केही प्यागोडाहरु तहस नहस भएका छन् तर त्यसलाई संरक्षण गर्नकालागि बर्मा सरकार सहित युनेस्को र केही अन्तराष्ट्रिय संघ संस्थाहरु सक्रिय छन् । हरेक स्मारकहरुले राम्रोसँग त्यस समयको सामाजिक अवस्था, सांस्कृर्तिक विनिमय, भवनहरुको ढाँचागत व्याख्या देखाएको छ । बगानमा भएका सम्पदाहरु बगान बंशको अन्त्य भएपनि त्यस पछिका शासकहरुले राम्रो संरक्षण गरे । ब्रिटिस उपनिवेशको समयमा पनि यस बगान क्षेत्रको संरक्षण हुन पुगेको कारण हजारौ पर्यटकलाई आर्कषणको केन्द्र बनेको छ ।
बगानमा बगान पुरातत्विक संग्रहालय छ । यस संग्रहालयभित्र बगान सभ्यताको कला, संस्कृर्ति, समाज व्यवस्था, जीवनशैली एवम पुरातात्यिक महत्वका सामाग्रीहरु राखिएको छ । बर्मेली लिपिहरु कसरी बदलिएर गए भन्ने कुरा पनि भित्तामा लेखेर राखिएको छ । बगान सभ्यताको समयमा महिला र पुरुषले आफ्नो कपालको ढाँचा कस्तो बनाउथे भन्ने पनि संग्रहालयमा देखाइएको छ । मैले आजसम्म घुमेका संग्रहालयहरु मध्ये यो नौलो विषय थियो । आजको समाजमा सौदन्र्य कर्मीहरु, फेसन डिजाइनका विद्याथीहरु र यसमा अभिरुचि राख्नेहरुका लागि पनि यो संग्रहालय निकै रोचक र महत्वपूर्ण छ ।
बगानमा अर्को आर्कषण बुपाया प्यागोडा हो । यो एरावति नदिको किनारमा अवस्थित छ । यो करिब दशौ सताब्दी तिर निर्माण गरिएको विश्वास गरिन्छ । यो प्यागोडाको ढाँचा फर्सीको जस्तो आकारमा रहेको पनि भन्ने गरिन्छ । सन् १९७५ को भूकम्पले यसलाई ध्वस्त पारेको पुननिर्माण गरिएको हो । यहाँबाट सुर्यअस्त हेर्न हजारौ मानिसहरु आउने गर्दछन् । यस ठाँउबाट एरावति नदिमा जलयातायात, पर्यटकहरुलाई डुंङ्गामा खेल्न र रमाइलो गर्न राम्रो व्यवस्था गरिएको छ । बगानमा पर्यटककालागि घुम्न साईकल, मोटरसाईकलहरु भाडामा पाईन्छन् । प्राय यि साधनहरु ब्याट्रीबाट चल्छन् । सम्पदाको संरक्षणकालागि धुवारहित साधन उनीहरुले प्रयोगमा ल्याएका हुन् । बगानमा स्थानियहरुलाई सम्पदाको ऐतिहासिक कुराहरु सिकाएर पथप्रर्दशक बनाइएको छ जसले पर्यटकहरुलाई सजिलोसँग इतिहास, चित्र, प्यागोडासँग जोडिएका कथाहरु, वास्तुकला, मुर्तिको महिमा जस्ता सुन्न र सिक्न सजिलो भएको छ । सरकारी अधिकारीहरु पर्यटक प्रति जिम्मेवार छन् । सोधेको कुरा राम्रोसँग बताउन सक्ने खुबि छ । आजको पुस्तालेपनि हिजोको इतिहासको ब्याख्या आजसम्म गर्न सक्नु पुस्तान्तरणको महत्वपूर्ण आधार हो । हाम्रो देशमा इतिहाससँग सम्बन्धीत विद्यालयका पाठ्यक्रमहरु लोपोन्मुख अवस्थामा छन् । विश्वविद्यालय तहमा इतिहास, संस्कृर्ति, कला, भाषा जस्ता विषयमा विद्यार्थी भएका समाचारहरु हामीले पत्रपत्रिकामा पढि सकेका छौ । यो भावि दिनकालागि दुखद अवस्था हो । मित्र राष्ट्र भारतका राम्रा विश्वविद्यालयहरुमा प्राविधिक विषयमा पनि इतिहास सिकाइन्छ । प्राचिन र समकालिन कलाको भिन्नताको बारेमा पढाईन्छ । जसका कारण आजका विद्यार्थीहरु प्राचिन स्मारकहरु प्रति आफ्नो दृष्टीकोण उच्च राख्छन् र तिनका महिमा बढाउछन् ।
राज्यको धेय पुगेमा सम्पदाहरु कसरी बाच्दछन् र त्यो अन्तरसन्ततिय न्याय बन्छ भन्ने कुरा बर्माले बुद्धसँग सम्बन्धित सामाग्री, ग्रन्थ, कला, दस्तावेज, प्राचिन स्मारकहरु, पुरातत्विक महत्वका सामाग्रीहरु संग्रह र संरक्षण गरेको बाट प्रष्ट हुन्छ । आज त्यो राज्यको पर्यटनको माध्यमबाट देशको अर्थव्यवस्था बलियो बनाउन सहयोग पुगेको छ । हाम्रो देश नेपाल र बर्माको सम्बन्ध हजारौ बर्ष पुरानो छ । त्यसवेलाका घुमन्ते व्यापारीहरुले बुद्धको सेवा गरे र उनका अवशेषको रुपमा कपाल लिएर गए । बर्मेली जनताको अगाढ प्रेम, तपस्या र सदाशयताले आजपनि जीवन्त छ । नेपालीहरु जिविकोपार्जनकालागि यता बाट उता जाने चलनपनि थियो । सायद यसैले होला नेपाली समाजमा एउटा उखान छ “बर्मा गए कर्मसँगै, नेपाल आए कपालसँगै” । नागरिकहरु बीचमा हुने सम्बन्ध जहिलेपनि प्रगाढ हुन्छ । विश्वसनिय हुन्छ । अनि जीवन्त पनि । यस्तो सम्बन्धलाई कुनैपनि शासन व्यवस्थाले प्रभाव पादैन । सम्पदाको संरक्षणका लागि राज्यको सक्रियता, नागरिकको लागाव बर्माको भ्रमणले प्रष्टसँग सिकाएको छ । बर्मेलीहरु ह्रदयका धनी रहेछन् । वचनले पवित्र रहेछन् । उनीहरुले दान दिदा आँखा बन्द गरेर दिदा रहेछन् । हेरेर दिने दानले मनमा संकृर्णता गराउछ भनेर उनीहरु त्यसो गर्दा रहेछन् र त त्यहाँका प्यागोडाहरु सुनका छन् । विश्वमा दानदिने देशमा पहिलो छन् । विश्वलाई एक पटक आफ्नो देश हेर्न आउने बनाएका छन् । बुद्धको शासना संसारभर फैलाइ रहेका छन् । हामी बुद्ध जम्मेको देश भनेर गर्वमात्र गरिरहेका छौ । बुद्धलाई राम्रोसँग चिनेकै छैनौं । बुद्ध र उनका धम्म, शासना संरक्षण र संग्रह गरेर हामीपनि विश्वलाई नेपाल आउने वातावरण बनाउन सके जनताको रोजीरोटी र राज्यको अर्थव्यवस्था सुध्रने कुरामा दुई मत छैन । अन्तमा माधव घिमिरेको शब्द र नातीकाजीको संगितमा रहेको “नेपाली हामी रहौला कहाँ …..नेपालै नरहे” भन्ने गीतमा समर्पण ।