उद्योग व्यवसाय न फस्टाएसम्म दिर्घकालिन विकास सहितको समृद्ध सम्भव हुदैन । यसैले हामीले उद्योग व्यवसायको प्रवर्धन हुनेगरी व्यवसायीसंग छ प्रश्न स्तम्भ सुरुवात गरेका छौ । यस अंकमा हामीले युनिभर्सल इलेक्ट्रो टेक्निकल ईनिस्च्यिुटका प्रवन्ध निर्देशक सौरभ कुवरलाई छ प्रश्न सोधेका छौ । प्रस्तुत छ व्यवसायी कुवरसँग लुम्बिनीखबरले गरेको कुराकानी :

सौरभ कुवर, प्रबन्ध निर्देशक- युनिभर्सल इलेक्ट्रो टेक्निकल ईनिस्च्यिुट
१. व्यवसाय कस्तो चल्दै छ ?
सबभन्दा पहिलो कुरा त महामारीका कारण सबै भन्दा प्रभावित भएको शैक्षिक क्षेत्र नै हो । त्यसमा पनि हामी प्राविधिक प्रशिक्षण गराउने तालिम केन्द्रहरु धेरै नै प्रभावित भयौ । किनभने हाम्रो प्राविधिक क्षेत्रमा भौतिक उपस्थित बिना प्रशिक्षण सम्भव हुदैन जसले गर्दा कोभिड महामारीको क्रममा झन्डै १ वर्ष हामीले गुमायौ ।
हाल अवस्था केहि सामान्य भएपनि सुरक्षा मापदण्डका हिसाबले सिमित संख्यामा तालिम कक्षाहरु सञ्चालन गरिरहेका छौ । जसमा हाल इलेक्ट्रिकल र रेफ्रिजेरेसन तथा ए सी मेकानिक तालिम संचालन गरिरहेका छौ साथै हामि विभिन्न सरकारी निकायसंग समन्वय गरि छोटो अवधिका सिपमुलक तालिमहरु संचालन पनि गर्ने हुनाले आगामी आ.वा. का लागि तयारि गरिरहेका छौ ।
२. कति जनालाई रोजगारी दिनुभएको छ ?
अहिले प्रत्यक्ष रुपमा ६ जना कर्मचारी कार्यरत हुनु हुन्छ र यो हाम्रो कामको सिजन पनि होइन जब छोटो अवधिका निःशुल्क तालिमहरु सञ्चालन गर्दछौ तब कामको प्रकृति अनुसार छोटो अवधिका लागि करार गरि वार्षिक ३०÷३२ जना सम्मलाई विभिन्न पेसामा प्रशिक्षणका लागि रोजगारी प्रदान गर्ने गरेका छौ ।
३. व्यवसायिक विकासको लागि नयाँ योजना के छ ?
स्थापनाकालदेखि नै हाम्रो उद्धयेश्य विद्यालयबाट बाहिरिएका एवम् न्युनतम सुविधाबाट वञ्चित समुदायका युवाहरुका लागि सिप विकास गर्ने काममा सहयोग गर्ने दक्ष र आत्मविश्वासी जनशक्ति उत्पादन एवम् आपूर्ति समेत गरिरहेका छौ । आगामी दिनहरुमा सहुलियत पुर्ण प्याकेजहरुका साथ शैक्षिक कार्यक्रम÷तालिमहरु ल्याउने योजना छ ।
४. तपाईको योजना सहितको व्यावसायिक विकासको लागि कहाँबाट कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ?
हालसम्मको मेरो व्यक्तिगत अनुभवमा हाम्रो तालिम केन्द्रमा तालिम सिक्न आउने प्रशिक्षार्थीहरु हालसम्मको रेकर्डमा कोहि पनि सम्पन्न धनाट्य परिवारदेखि आएको मैले पाएको छैन, जो विद्यालय शिक्षा समेत पुरा गर्न नसक्ने, अलिक पिछडिएका क्षेत्र एवम् न्यून आयस्तर भएका परिवारका युवाहरु आउने गर्दछन् । उनीहरुका लागि हाम्रो शशुल्क तालिम समेत महँगो पर्ने गर्दछ, जसले गर्दा उनीहरु एड्भान्स प्रकृतिका तालिमहरु अफोर्ड गर्न असक्षम हुन्छन् ।
त्यसकारण सरकारी तवरबाट हालसम्म जतिपनि सिपमुलक तालिमहरु निशुल्क प्रदान गरिएको छ । तिनीहरु छोटो अवधिमा मात्रै सिमित नभईकन संख्यात्मक भन्दा गुणात्मक एड्भान्स तालिम जसले तालिम पश्चात् उत्पादन दिन सकोस् त्यस्ता प्रकृतिका प्याकेजहरु ल्याउनु पर्ने देखिन्छ । जसले महँगो शुल्क वहन गरेर सिप सिक्न सक्दैनन् उनिहरुलाई लक्षित गरि कार्यक्रमहरु ल्याउनु पर्दछ जस्तो लाग्छ ।
५. तपाईले अरु क्षेत्रमा हात नहालेर यो व्यवसायमा नै किन हात हाल्नु भयो ?
यस क्षेत्रमा प्राविधिक क्षेत्रमा गुणस्तरीय तालिम प्रदान गर्ने इन्स्टिच्युट, तालिम केन्द्रहरु नभएको र भैरहवा आसपासका युवाहरु समेत सिपमुलक तालिमहरुको खोजीमा बुटवलतिर आकर्षित भएको पाए त्यसकारण यस क्षेत्रमा एउटा गुणस्तरीय प्राविधिक इन्स्टिच्युटको आवश्यकता देखेर नै यस व्यवसायमा लागेको हु ।
६. तपाईले यो व्यवसायमा हात हाल्नुको जस कस्लाई दिनुहुन्छ ?
अहिलेको युग विज्ञान र प्रविधिको युग हो । प्रविधिको विकासले आजको मानिसमा विभिन्न अवसरहरु एवं चुनौतीहरु प्रदान गरिरहेको छ जसले गर्दा आज म पनि प्राविधिक क्षेत्रसंग प्रत्यक्ष जोडिएको छु । त्यसकारण मैले यस व्यवसायमा हात हाल्नुको जस प्रविधिलाई नै दिन्छु ।