लुम्बिनीखबर
भैरहवा, १५ कात्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी चाडपर्वमा प्लास्टिकजन्य कृत्रिम फूलमाला प्रयोग नगर्न र स्वदेशी प्राकृतिक फूलमाला प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । नगर प्रमुख इश्तियाक अहमद खाँले शुक्रबार सूचना जारी गर्दै दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ का अवसरमा प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्नुभएको हो । चाडपर्वका बेला घर, कार्यालय तथा पूजाआजामा प्रयोग गरिने प्लास्टिकका फूलमालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा नकारात्मक असर पार्ने भएकाले त्यस्ता सामग्रीको प्रयोग निरुत्साहित गर्न आवश्यक रहेको सूचनामा उल्लेख छ ।
नगरपालिकाले स्वच्छ, हरित तथा वातावरणमैत्री नगर निर्माण अभियानलाई सहयोग पुर्याउन स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गरेको छ । यसबाट वातावरण संरक्षणसँगै स्थानीय उत्पादनको प्रवर्द्धन र कृषक तथा उद्यमीको आयआर्जनमा सहयोग पुग्ने नगर प्रमुख खाँले विश्वास व्यक्त गर्नुभएको छ । यद्यपि नगरपालिकाले हरेक वर्ष यस्तो अपिल गर्दै आए पनि बजारमा प्लास्टिकजन्य कृत्रिम फूलमालाको बिक्री तथा प्रयोग घट्न सकेको छैन । सीमावर्ती नगरपालिका भएकाले भारतबाट बर्सेनि ठूलो परिमाणमा प्लास्टिकका माला भित्रिने गरेका छन् । यसले स्थानीय फूल कृषकले उत्पादन गरेका प्राकृतिक फूलले अपेक्षित बजार पाउन नसकेको व्यवसायीको भनाइ छ ।
स्थानीय फूल कृषकले नगरपालिकाको अपिल कार्यान्वयन गर्न प्लास्टिकजन्य कृत्रिम फूलमालाको बिक्री नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । उनीहरूले बजार अनुगमन गरी त्यस्ता माला बिक्री वितरणमा प्रतिबन्ध लगाउन तथा अटेर गर्ने व्यवसायीका सामग्री जफत गर्नुपर्ने बताएका छन् । नगरपालिकाले अपिल जारी गर्ने मात्र नभई प्रभावकारी अनुगमन र नियमनसमेत गर्न सके स्थानीय उत्पादनले बजार पाउने र कृषकको आयआर्जनमा सहयोग पुग्ने उनीहरूको अपेक्षा छ ।