कलाकै माध्यमबाट विभिन्न कुराहरु सम्भव भएका छन् । विगतमा भएका कुराहरुलाई शब्द, चित्र, पेन्टिङ्ग, स्केच आदिका माध्यमबाट जिवन्त प्रदान गरिएको हुन्छ । भनिन्छ एउटै चित्रबाट हजारौं शब्द बोलिरहेको हुन्छ । कैयौं वर्ष पुरानो विषयवस्तुमा रहेर कलाकारहरुले आफ्नो कलालाई प्रस्तुत गरेका हुन्छन् । जुन भविष्यमा अनुसन्धानका लागि प्रमाणकारुपमा प्रयोग गरिएको हुन्छ । त्यस्तै आफ्नो सोँच, विचार र कल्पनामा आधारित भएर बनाइएका पेन्टिङ्गले धेरै कुराहरु बोलिरहेका हुन्छन् ।
उज्ज्वलकुमार दे कायस्थ, एटुजेड आर्ट, भैरहवाका सञ्चालक हुन् । विगत ३४ वर्षदेखि भैरहवाको नारायणपथमा आर्ट पेशा गर्दै आइरहेका छन् । लामो समय यो पेशामा आवद्ध भइरहँदा उनले धेरैलाई यो कला सिकाइ सकेका छन् । करीब १७/१८ जना आर्टिष्टहरु उनैको प्रेरणा र सिकाइले देशमा विभिन्न स्थानमा व्यवसाय गरेर बसेको बताउँदछन् । विभिन्न स्कूलहरुमा आर्ट टिचरकोरुपमा काम गरेको अनुभव र पेन्टिङ्ग जजकोरुपमा पनि काम गरेको अनुभव वहासँग छ ।
हाल रुपन्देहीमा छरिएर रहेका व्यवसायीहरुलाई एकिकृत गर्ने उदेश्यले नेपाल कमर्शियल आर्टिष्ट संघ, रुपन्देहीको स्थापना गरिएको छ । प्रस्तुत छ, यसै संघका रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका उनै उज्ज्वल कुमार दे कायस्थसँग बिशन गुरुङ्गले गर्नुभएकोे कुराकानीको अंशः
आर्टिष्ट भनेको के हो ?
कला सिर्जनाको अभिन्न अंग हो । बाल्यकालदेखि नै बच्चाहरुको लेख्ने प्रतिको चासो र प्रेरणाबाट भविष्यमा कुनै चित्र, स्केच, लेखाई लगायतका काम गर्नु नै आर्टिष्ट हो । अझ भन्नुपर्दा कुनै पनि चिज वस्तुको काल्पनिक अथवा कपी गर्न सक्नु नै आर्टिष्ट हो । जसमा पेन, पेन्सिल, पेन्टिङ्ग ब्रस लगायतका माध्यमबाट गरिन्छ । विगतमा हातले विभिन्न कलाहरु प्र्रस्तुत गरिन्थ्यो भने पछिल्लो समयमा कम्प्युटरको माध्यमबाट पनि विभिन्न कलाहरु प्रस्तुत गरिएको हुन्छ ।
आर्टिष्ट संघ स्थापना गर्नुको उदेश्य के हो ?
रुपन्देही जिल्लामा छरिएर रहेका व्यवसायिक आष्र्टिष्ट व्यवसायीहरुलाई एकिकृत गर्नु नै प्रमुख उदेश्य हो । संस्था स्थापना गरिसके पछि यसबाट व्यवसायी साथीहरुले आफ्ना गुनासो राख्ने ठाउँहरु पाएका छन् त्यस्तै भाइचारको विकास पनि भइरहेको छ । आफ्ना सिपहरुलाई प्रचारमा ल्याउन पाएका छन् । हामीले पनि सामूहिकरुपमा यसको प्रचार प्रसार र क्षमता विकास गर्नका लागि नै संघको स्थापना गरेका हाैं ।
भविष्यमा संघले के गर्ने छ ?
व्यवसायीको हकहितका लागि एकरुपता ल्याउनका लागि यो संस्थाको स्थापना भएकोले व्यवसायीको हकहितका लागि विभिन्न कामहरु ग्र्ने योजना रहेको छ । जसका लागि बिमा, सञ्चयकोष लगायतका कामहरु गर्ने योजना रहेको छ । यसबाट संघमा आबद्ध साथीहरुलाई आपत विपद्मा पर्दा सहयोग पुग्ने विश्वास लिएको छु । यो योजना छिट्टै सुरु गर्दै छाैं । यसैक्रममा हामीले विभिन्न सामाजिक कार्यहरु पनि गरेको छौं र गरिरहने छाैं ।
आर्ट व्यवसायमा कस्ता खालका सम्भावना र चुनौतिहरु छन् ?
सम्भावना र चुनौती दबै छन् । यो पेसा सबैले सिक्न सक्दैनन्, सिकेकाहरुमा पनि धैर्यता छैन भने आर्थिकरुपमा बलियो हुन सकिदैन । विगतमा हातबाटै आर्टका कामहरु गरिन्थ्यो भने पछिल्लो समय कम्प्यूटरका माध्यमबाट कामहरु गरिन्छ । हातबाट गरेका कामहरु धेरै रोचक, गम्भीर र गुणस्तरयुक्त हुने गरेका छन् । हातबाट गरेका पेन्टिङ्ग, फोटो, आर्टहरुको मूल्य पनि बढी हुन्छ । कला भनेको यस्तो हो की कुनै व्याक्ति वा समूहले बनाएका चित्रहरुले विश्वमा नै चर्चा पाउने गरेका छन् । यसले संसारमा आफ्नो र देशको नाम राख्न सक्छ । यसका प्रसस्त उदाहरणहरु रहेका छन् । सरकारले नै यो व्यवसायलाई प्रोत्साहन गर्न सक्यो भने नेपालमा रहेका आर्टिष्टहरुले देशको नाम विश्वमा राख्न सक्ने क्षमता राख्छन् । त्यसैले सरकारी तवरबाट नै यसको संरक्षण गर्नुपर्ने देखिन्छ ।
सरकारी तवरबाट अपेक्षा के हो ?
सरकारले नीति नै ल्याएर आधुनिक भन्दा पनि पुरानै हातको कलालाई नै प्रोत्साहन गर्नु पर्दछ किनकी बास्तविक कला भनेको हातकै कला हो । हातबाटै बनाइएका कलाहरुमा वास्तविक कला लुकेको हुन्छ । पेन्टिङ्गमा विशेष गरी स्वदेशमै उत्पादन भएका सामाग्रीहरु प्रयोग हुन्छन् । आधुनिकरुपमा प्रिन्ट गर्दा धेरै सामाग्रीहरु विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । जसले गर्दा धेरै रकम विदेश गइरहेको छ । सरकारले कम्तिमा पनि सरकारी कार्यालयहरुमा आवश्यक पर्ने बोर्ड, भित्ते लेखन लगायतका कामहरु पेन्टिङ्गकै माध्यमबाट गराउने नीति ल्याओस् भन्ने अपेक्षा गरेको छु ।
अन्तमा, यो क्षेत्रमा लाग्ने लाग्न चाहानेहरुका लागि के भन्न चाहानु हुन्छ ?
सिक्ने कुरा आफूले सक्दासम्म सिक्नु पर्दछ । यो कला हरेक मान्छेले सिक्नु पर्दछ । वास्तविक कला आफ्नो शरिर यो धर्ती छोडे पछि पनि जिवन्त रही रहन्छ । उदाहरणका लागि, पृथ्वीनारायण शाहलाई हामीले नदेखे पनि कुनै आष्र्टिष्टले बनाएको चित्रलाई हामीले चिनिरहेका छांै । त्यस्तै भगवान्, देविदेवताकारुपहरु हामीले चिन्दै आइरहेका छौं । यो नै आर्टिस्टहरूले दिएको अमूल्य योगदान हो । भनिन्छ, हजारौं शब्दको व्याख्या एउटा चित्रले गर्न सक्छ । हो, यसकारण पनि आर्टिष्टहरुको महत्व छ । यो व्यवसाय र यो कलाको महत्व छ । कला सदैव जिवन्त रहिरहन्छ भन्ने भनाई नै छ ।
अन्तमा, यस क्षेत्रमा लागेका र लाग्न इच्छा हुनेहरुका लागि निरन्तरताका साथ लगनशिल भएर लाग्नुहोस् । कुनै दिन आफ्नो काम र पेसाको महत्व, आफ्नो कलाको महत्व सदैव रहनेछ । पेन्टिङ्ग र चित्रको माध्यमबाट नै धेरै वर्ष पहिलाको कुराहरु थाहा पाउन सकिन्छ । अहिले पनि विभिन्न अध्ययन अनुसन्धान भएका छन् ति सबै विगतका कुनै न कुनै कला (पेन्टिङ्ग, चित्र, स्केच, कुनै वस्तु निमार्ण) कै प्रमाणका कारण भइरहेका छन् ।